संक्रमित युवतीसँगै फ्रान्सबाट आएका बाँकेका चारजनाको खोजी जारी

  चैत १२, २०७६

नेपालगञ्ज, चैत १२ : कोरोनाको संक्रमण देखिएको फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरी चढेको जहाजमा बाँके जिल्लाका समेत चारजनाले यात्रा गरेको खुलासा भएको छ ।

गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै आएको कतार एअरवेजको जहाजमा रहेकी ती किशोरीलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेपछि यात्रुहरुको सूचि केलाउँदा बाँकेका चारजना पनि सोही जहाजमा यात्रा गरिरहेको खुलेको हो ।

त्यही जहाजमा बाँकेका चारजना समेत रहेको र उनीहरुलाई खोजेर क्वारेन्टाइनमा राख्न केन्द्रबाट बाँकेमा पत्र आइपुगेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चारै जनाको नाम र नागरिकता नम्बर खुलाएर पठाइए पनि ठेगाना खुलाइएको छैन । ठेगाना नखुल्दा अब नागरिकता नम्बरको आधारमा उनीहरुको खोजतलास गर्ने कार्य शुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी शिवबहादुर सिंहले उनीहरुलाई खोजेर १४ दिन क्वारेन्टाइनमा राख्न निर्देशन आए बमोजिम प्रहरी त्यसतर्फ अघि बढेको बताउनुभयो ।
उहाँले सो बारेमा केन्द्रबाट पत्र आएको पुष्टि गर्दै उनीहरुको खोजी गरी केही दिन सुरक्षित ठाउँमा राखिने तैयारी भएको बताउनुभयो ।

चैत ४ गते दोहाबाट आएका १५८ जना यात्रु लिएर आएको हवाई जहाजमा १२५ जना नेपाली रहेको जनाइएको छ । देशका विभिन्न क्षेत्रका उनीहरुको खोजी गरी स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा राख्ने तैयारी भइरहेको बताइएको छ ।

यसैगरी, गतसाता मात्रै मलेसिया र दुबईबाट नेपालगञ्ज आएका दुईजना पनि क्वारेन्टाइनमा नबसेर जहाँ पाए त्यही घुमफिर गरिरहेको पाईएको छ । नेपालगञ्ज–३ एकलैनी बजारका अन्सारी र हलुवाई थर भएका दुईजना वैदेशिक रोजगारीका लागि मलेसिया र दुबई गएकोमा गतसाता मात्र नेपालगञ्ज फर्किएका थिए ।

तर, उनीहरुले सेल्फ क्वारेनटाइनमा बस्नुको सट्टा जता पाए उतै गैरहेको छिमेकीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया