कोरोना भाइरस संक्रमणका कारण रोकियो टोकियो ओलम्पिक

  चैत ११, २०७६

टोकियो, चैत ११ : सन् २०२० को टोकियो ओलम्पिक कोरोना भाइरसको महामारीका कारण मंगलबार स्थगित गरिएको छ । अब प्रतियोगिता अर्को वर्ष हुनेछ । प्रतियोगिता जुलाइ २४ बाट सुरु हुने कार्यक्रम थियो । अन्तर्राष्ट्रिय ओलम्पिक्स कमिटी (आईओसी) ले पनि सन् २०२१ भन्दा अगाडि प्रतियोगिता आयोजना सम्भव नभएको जनाएको छ।

जापानी प्रधानमन्त्री शिन्जो आबले भनेका छन्, ‘मैले आईओसी अध्यक्ष थोमस बाखसामु प्रतियोगिता सार्ने प्रस्ताव राखेको थिएँ र उनी त्यसमा सतप्रतिशत सहमत भए। अब यो निर्णयपछि खेलाडीले पनि प्रतियोगिताको तयारीका लागि पर्याप्त समय पाउने छन् । यस्तै यो निर्णयले प्रतियोगिता र दर्शक सबैका लागि स्थिति सुरक्षित हुनेछ।’

प्रतियोगिता सार्न चर्को दबाबबीच प्रधानमन्त्ती सिन्जो आबे र बाखबीच मंगलबार बिहान लामो कुराकानी भएको थियो। आधुनिक ओलम्पिकको १ सय २४ वर्षको इतिहासमा प्रतियोगिता सार्न लागेको यो पहिलो पल्ट हो। यसअघि जापानी सरकार र आईओसीले एक महिनाको अन्तरमा प्रतियोगिताबारे निर्णय गर्ने बताएको थियो।

तर पछिल्लो समय दुवै पक्षमाथि प्रतियोगिता सार्नेबारे चर्को दबाब परेको थियो। महामारीको प्रकोपका कारण अधिकांश अन्तर्राष्ट्रिय उदान भइरहेका छैनन् भने लगभग सबै सामाजिक र व्यापारिक क्रियाकलापमा पनि प्रतिबन्धको जस्तै स्थिति छ। यस्तोमा खेलाडीले टोकियो ओलम्पिकका लागि भनेर तयारी गर्न पनि पाएका थिएनन्।

क्यानडा र अस्ट्रेलियाले निर्धारित समयमा टोकियो ओलम्पिक्सको आयोजना भए आफ्नो देशले भाग नलिने बताइसकेको छ। बेलायत र अमेरिकाले पनि आफ्ना खेलाडी र खेल पदाधिकारीसँग छललफ गरेर प्रतियोगितामा सहभागी हुने अथवा नहुनेबारे निर्णय गर्ने बताएको थियो। सेन्‍केइ पत्रिकाले जापानी नागरिकबीच गरेको मत सर्वेक्षणमा पनि ७० प्रतिशतले प्रतियोगिता सार्नु पर्ने बताएका थिए।

आधुनिक ओलम्पिक्सको इतिहासमा अहिलेसम्म प्रतियोगिता घोषित मितिमै भएका थिए। दुई विश्व युद्धका कारण भने सन् १९१६, १९४० र १९४४ मा हुने पर्ने ओलम्पिक्स भने हुन सकेको थिएन। चर्को शीतयुद्धबीच सन् १९८० र १९८२ को ओलम्पिक्सलाई भने केही देशले बहिष्कार गरेका थिए।

तपाईको प्रतिक्रिया