कोरोना भाइरसबाट नेपालमा रहेको चुनौती र सामनाबारेमा केन्द्रित भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको नेपालमा कोरोनाको अवस्था र अपनाउनु पर्ने सावधानीका विषयमा गोरखापत्र अनलाइनसँग गरेको कुराकानीको सम्पादित अंश:
- चीनमा कोरोनाको सङ्क्रमण देखिँदासाथ, नेपालमा नदेखिँदैदेखि हामीले रोकथामको तयारी गरेका छौँ । विश्व स्वास्थ्य सङ्गठनले भनिरहेकै थियो, यो फैलिन्छ भनेर । त्यसैले प्रधानमन्त्री केपी ओलीले सुरुमै बैठक बोलाउनुभयो, हामी पटक–पटक बैठकमा गयौँ । मन्त्रालयमा विभिन्न कमिटी बनाएर सरकारको तर्फबाट काम भइरहेको बेला एकजनामा पोजिटिभ रिपोर्ट देखिएपछि हामी बढी केन्द्रित भएर काम ग¥यौँ । पोजेटिभ केसको निदान यहीँ सम्भव भयो, नेगेटिभ बनायौँ । यो घटनाले सन्देश दियो– यो भाइरस नेपाल आउन सक्छ । त्यहीँबाट रोकथामको तयारी यात्रा सरु ग¥यौँ । त्यसदेखि नै महामारी फैलियो भने के गर्ने भनी योजना बनाएर समन्वयात्मक ढङ्गले काम गरिरहेका छौँ । यो रोग आउनै नदिनेतर्फ हाम्रो तयारी छ । अहिलेसम्म सङ्क्रमण देखिएको छैन, यो हाम्रा लागि खुसीको कुरा हो ।
- क्वारेन्टाइनको व्यवस्थापन, लजिस्टिकको व्यवस्थापन कसरी गर्ने भनेर नै उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको छ । मुख्य सचिवको संयोजकत्वमा एक्सन कमिटी छ ।
त्यसबाहेक अन्य कमिटीहरू पनि छन् । सबै समितिले सक्रियतापूर्वक काम गरिरहेका छन । अस्पतालको तयारीका बारेमा काम भइरहेको छ । अहिले कोरोना विश्वव्यापी भएको छ । त्यसैले हामीले पनि अत्यधिक होसियारी अपनाउनुपर्नेछ । चीनमा सुरुमा देखियो तर अहिले त्यहाँ बन्द भयो, अरू मुलुकमा फैलिएको छ । - युरोप अमेरिकतिर डर बढेको छ, मृत्यदर बढेको छ । हाम्रो छिमेकी मुलुक भारतमा पनि देखिइसकेको छ । हाम्रो सिमाना खुला छ, त्यसैले जोखिम अझ बढी भयो । अब हाम्रो रणनीति प्रवेशको नाका रोक्नेदेखि समुदायमा नफैलियोस् भनेर क्वारेन्टाइन र आइसोलेसनमा केन्द्रित हुनुपर्नेछ ।
- नेपालमा कोरोना भित्रिएको छैन, सुरक्षित छौँ भन्नु गलत हुन्छ । विश्वव्यापी भएको अहिले नै हो, उपयुक्त समय होसियारी गर्ने । जे गर्ने हो आजै गर्ने हो । त्यसैले सरकारबाट झन्झन् कडा निर्णय भइरहेका छन् । पूर्ण ‘लक डाउन’ पनि हुन सक्छ । किनभने हामीलाई बढी चुनौती अब भारततिरबाट भयो । यसबाट मृत्यदर कम छ भनेर हुँदैन, फैलावट बढी छ ।
- कुनै व्यक्ति सङ्क्रमित देशबाट आयो भने त्यो सम्भावित सङ्क्रमित हो । त्यसैले १४ दिन आइसोलेसनमा बसिदिनुपर्छ । यहाँ आइसोलेसन, क्वारेन्टाइन भनेको नबुझ्दा पनि समस्या भएको छ ।
- आइसोलेसन भनेको छुट्टै बस्ने हो । क्वारेन्टाइन भनेको सम्भावित सङ्क्रमित व्यक्तिबाट अरूलाई नसरोस् भनेर अलग बस्ने स्थिति हो । लाखौँ व्यक्ति बाहिरबाट आए ती सबैलाई राज्यले क्वारेन्टाइनमा राख्न सक्दैन । नागरिकले आफैँ त्यो गर्न सक्नुपर्छ । झन् नेपालभन्दा अपेक्षाकृत विकसित देशमा गएका नागरिकमा चेतनास्तर पनि केही बढी हुने अपेक्षा गर्दा उनीहरूले सरकारलाई सहयोग गर्नुपर्छ ।
- म सम्भावित सङ्क्रमित हो, म १४ दिन आइसोलेसन बसेमा सङ्क्रमित हो वा होइन पत्ता लाग्छ, मैले मेरो परिवारलाई रोग सार्न हुँदैन, त्यसैले अलग बस्छु भन्ने सोच्नुपर्छ । अलिकति टाढै बस्दा पनि धेरै फरक हुन्छ अवस्था । सबै जिम्मेवार नागरिकको बन्नुप¥यो– चौध दिन अलग बस्दा आफैँ, आफ्नो परिवार, समुदाय र देश बचाउँछु भन्नुप¥यो । यस्तो जिम्मेवारी महुशस गर्नुप-यो ।
- कोरोनाले आर्थिक, सामाजिक, औद्योगिक सबै क्षेत्रमा असर गरिरहेको छ, त्यसलाई नियन्त्रण गर्नमा राज्यसँगै नागरिक पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ । एक सयजनामा ८७ जनामा उच्च ज्वरो र ६८ जनामा श्वासप्रश्वासमा समस्या भएको देखिएको छ । त्यसैले यस्ता लक्षण देखिए सङ्क्रमण भएको हुन सक्छ ।
- हरेक अस्पतालमा फिभर (ज्वरो) क्लिनिक सञ्चालन गर्नुपर्छ । त्यसबाट सङ्क्रमितको पहिचान हुन्छ र त्यहीबेला आइसोलेसनमा राख्न पनि सघाउ पुग्छ । सङ्क्रमित लक्षण देखिएको बिरामीलाई टेकुमात्र नपठाऊँ, हरेक अस्पतालले त्यस्ता बिरामीलाई आइसोलेसनमा राख्नुपर्छ र नमुना परीक्षणका लागि पठाउनुपर्छ । जिम्मेवारी निर्वाह गर्नुपर्छ । अहिले एक दिनमै रिपोर्ट आउँछ । जाँच गर्ने सबै व्यवस्था अहिले स्वदेशमै छ ।
- कतिपय हल्ला हुने गरेको छ– कुनै क्लिनिक, अस्पतालले कोभिड–१९ लागेको भनेर टेकु अस्पतालमा पठाइएको तर त्यसले जाँचेन भनेर । त्यसो भए, ती क्लिनिक, अस्पतालले सङ्क्रमितलाई बजारमा त्यसरी खुला रूपमा हिँडाएर टेकुमा पठाउन मिल्छ ? त्यसैले कुनै अस्पतालले सङ्क्रमित देख्नुहुन्छ भने आ–आफैँ आइसोलेसनमा राख्नूस् र नमुना पठाउनुहोस् ।
- बाहिरबाट सङ्क्रमित आइसकेपछि ‘होम क्वारेन्टाइन’मा पनि बस्नुपर्ने हुन सक्छ । यसमा सबै पक्षको जिम्मेवारी हुन्छ । यो महामारीको पूर्वसन्ध्याको समय हो, दुई साता घरभित्रै बस्नु नै उत्तम उपाय हो । म सङ्क्रमित हुन सक्छु तर तपाईंलाई जोगाउनु छ भनेर सबैजना घरमा बसिदिएमा नेपालमा कोरोना सङ्क्रमण फैलिनै पाउँदैन ।
- अहिले खाद्यसामग्री घरमा थुपारेर केही हुँदैन बरु तपाईंका कारण अरूलाई अभाव हुन्छ । सङ्क्रमित भइहाल्नुभयो भने त्यो सामान खाएर बाँच्न सक्नुहुन्छ त ? सङ्क्रमित भएपछि औषधि खान त धौ–धौ हुन्छ, खाद्यान्न कसरी खानुहोला ? त्यसैले सङ्क्रमण नहुँदासम्म सबै समान छौँ । सङ्क्रमित भएपछि त्यो खाद्यान्नले त बचाउँदैन नि ।
- कागतीपानीमा बेसार राखेर खानु अनावश्यक त हैन । रुघाखोकीलाई ठिकै होला । तर, कोरोनासँग त्यसलाई नजोडौँ ।
- अस्पतालमा अनावश्यक परीक्षण र सर्जरी नगरौँ भनेका छौँ । रेगुलर फलोअपमा रहेका बिरामी पनि अब केही समय आफूलाई रोक्नूस । चिकित्सकले गम्भीर बिरामीबाहेक नियमित अवस्थाका बिरामीको फलोअप रोक्नूस् भनेका छौँ । फलोअपमा आउने बिरामीलाई अझ कोरोनाको बढी सङ्क्रमित हुने डर हुन्छ । रोगसँग लड्ने क्षमता नभएका बिरामी घरमै उपचार गर्नुस् ।
- होलबडी चेकअफ, अरू चेकअप दुई महिनापछि गरे पनि हुन्छ । सरकारसँग भएको उपकरणका विषयमा कुरा गर्दा चुनौती त छ तर हामीसँग पर्याप्त छ । बजारमा भएका सबै लिन्छौँ । छापा मारेर पनि लिइरहेका छौँ । भाइचारा, सहयोगको भावना सबैमा हुनुपर्छ यस्तो बेलामा ।
- हवाईजहाजबाट आएकालाई क्वारेन्टाइनमा राख्ने हाम्रो बाध्यता हो । जनतालाई जोगाउन त्यस्तो गर्नुपरेको हो । लापरबाही गरेका विमान कम्पनीलाई सजायको कुरा पनि आएको छ । जेलभित्र रहेका, वृद्धाश्रममा रहेकाहरूको कुरा गर्दा उहाँहरूलाई भेट्न नदिने निर्णय भएकै छ । खाने, बस्ने सुविधा छँदै छ, बाहिरबाट गएर नभेटौँ । मन्दिरमा पनि गएर पूजाआजा नगरौँ । भगवान् जहाँ पनि छन्, घरमै पूजा गर्दा हुन्छ । क्लिनिकमा भीडभाडको कुरा पनि गम्भीर विषय छ । भीड लगाएरमात्र हुँदैन, त्यसले आफैँलाई नै जोखिम बढाउँछ । त्यसको व्यवस्थापनको कुरा भएको छ । यो दुई हप्तासम्म सबैले आफ्नो घरभित्र बसौँ ।
- स्वास्थ्यकर्मीहरूको पनि ज्यानको थ्रेट हुन सक्छ, त्यसैले सबै तयारी गरेर उपचारमा जानुपर्छ । अपनाउने सबै सतर्कता अपनाउने व्यवस्था सरकारले गर्छ । चिकित्सकहरूलाई विनाहतियार लडाइँमा जा भन्दैनौँ, केही न केही सुरक्षित हुने उपकरण उपलब्ध गराउँछौँ । आफू बचौँ र अरूलाई पनि बचाऊँ भन्नेतिर सबैले ध्यान दिऊँ ।