नयाँ बसपार्कमा चालक, यात्रु र कर्मचारीलाई माक्स वितरण

  चैत ०८, २०७६

काठमाडौं, चैत ८ : कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर गोँगबुस्थित नयाँबसपार्कमा माक्स वितरण गरिएको छ । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको संयुक्त आयोजनामा आज चालक, सहचालक, बसपार्कभित्र कार्यरत कर्मचारी र यात्रुलाई माक्स वितरण गरिएको हो ।

नेपाल प्रहरीले विभिन्न कालोबजारी गरेका व्यापारीबाट जफत गरेर ल्याएको माक्स यातायात व्यवस्था विभागले खरिद गरेर वितरण गरेको जनाइएको छ । विभागका प्रवक्ता तीर्थराज खनाल एक लाख माक्स खरिद गरेर ल्याएको र आजमात्र नयाँ बसपार्कबाट पाँच हजार थान माक्स वितरण गरेको जानकारी दिनुभयो ।

महासंघका महासचिव सरोज सिटौला चालक, सहचालक र यात्रुलाई कोरोना संक्रमणबाट जोगिनका लागि थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले माक्स वितरण गरिएको जानकारी दिनुभयो । “यातायात मजदूर र यातायात व्यवसायीको सक्रियतामा सरकारसँग सहकार्य गरी ल्याएको माक्स कर्मचारी, चालक, सहचालक र यात्रुमा वितरण गरेका हौँ”, उहाँ भन्नुभयो ।

महासचिव सिटौला सबै प्रदेशमा सरकारसँगको सहकार्यमा चालक र सहचालकलाई माक्स वितरण गर्नेबारे यातायात व्यवसायी छलफलमा रहेको जानकारी दिनुभयो । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक शंकर श्रेष्ठले माक्स नलाउने चालक, सहचालक र यात्रुलाई माक्स वितरण गरिएको जानकारी दिनुभयो । यसअघि शुक्रबार नयाँबसपार्कमा कोरोना परीक्षणका लागि सहायता कक्ष ‘हेल्थ डेक्स’ स्थापना गरिएको थियो ।

तपाईको प्रतिक्रिया