काठमाडौं, चैत ८ : विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको त्रास नेपालीमा पनि बढ्दै गएको छ । लक्षण मिल्ने भएकाले धेरै व्यक्तिलाई मौसमी रूघाखोकी र कोरोना संक्रमणबीचको फरक छुट्याउन मुस्किल पर्न सक्छ । संक्रमणको आशंका भएका वा विदेशबाट आएका व्यक्ति कसरी क्वारेन्टाइनमा बस्ने भन्ने पनि जान्नु आवश्यक छ ।
कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन नेपालले पनि केही तयारी गरेको छ । सरकारी तहमा गरिएका केही महत्त्वपूर्ण निर्णय र आग्रह आमनागरिकले पालना गरे कोरोनाको प्रकोपबाट धेरै हदसम्म जोगिन सकिन्छ ।
यस संक्रमणलाई ‘आयातित संक्रमण’ का रूपमा पनि हेरिएको छ । नेपालमा पनि चीनबाटै फर्किएका एक युवकलाई यसको संक्रमण देखिएर निको भएको थियो । तसर्थ स्वदेशमा रहेका भन्दा विदेशबाट आएका स्वदेशी तथा विदेशी नागरिक अलिकति सतर्क भएमा संक्रमणको जोखिम कम गर्न सकिन्छ । सबैभन्दा पहिलो कुरा त विदेशबाट नेपाल आएकाहरूले होम वा सेल्फ क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्छ ।
सरकारी संयन्त्रले अनुगमन गरेको छैन वा थाहा पाउँदैन भनेर क्वारेन्टाइनमा नबस्नु भनेको सबैभन्दा पहिले आफू र आफ्नो परिवारलाई संकटमा पार्नु हो । यात्रा गर्दा कोरोनाबाट संक्रमित भए पनि त्यसको लक्षण नदेखिन सक्छ । त्यसैले, क्वारेन्टाइनमा बस्नु सबैका लागि हितकर हुन्छ किनभने सुरुमा संक्रमणको लक्षण नदेखिए पनि १४ दिन वा त्यसभन्दा पछिसम्म संक्रमण देखिन सक्छ । त्यस अवधिमा अरूमा भाइरस सर्न सक्छ ।
सेल्फ क्वारेन्टाइन भनेको के हो र कसरी बस्ने ?
- हावा प्रशस्त चल्ने कोठामा एक्लै बस्ने ।
- आफूले प्रयोग गरेको र गर्ने सामग्री अरूलाई छुन र प्रयोग गर्न नदिने ।
- घरका अरू मानिसबाट कम्तीमा एक मिटर टाढा बस्ने ।
- कसैको सहायता चाहिए एक जना स्वस्थ सदस्यसँग मात्रै सम्पर्क गर्ने र त्यस्ता व्यक्तिले पनि अरू सदस्यसँग सम्पर्क नगर्ने ।
- यतिबेला घरमा अरू मानिसलाई आउन सकेसम्म नदिने । फोन वा सामाजिक सञ्जालमार्फत् मात्र भेटघाट गर्ने ।
- घरमा एउटा मात्र शौचालय छ भने आफूले प्रयोग गरिसकेपछि त्यसमा राम्रोसँग ‘डिसइफेक्टेन्ट’ (बजारमा उपलब्ध घरमा प्रयोग गरिने निर्मलीकरण सामग्री) ले सफा गर्ने । त्यसपछि मात्रै अरूले प्रयोग गर्ने ।
- घरमा बस्दा मास्क लगाउने र लगाइसकेका मास्कलाई पोको पारेर राख्ने । जथाभाबी नफाल्ने ।
- क्वारेन्टाइनमा बस्दा रुघाखोकी लागे र ज्वरो आए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने । काठमाडौंमा भएको खण्डमा टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमाजाँदा राम्रो ।
रुघाखोकी लाग्दैमा वा ज्वरो आउँदैमा कोरोना संक्रमण भएको ठान्नु हुँदैन । हालसम्म नेपालमा कोरोना संक्रमित नदेखिएकाले विदेशबाट आएका व्यक्तिसँग सम्पर्क छैन भने रुघाखोकी वा ज्वरो आउँदैमा डराइहाल्नु पर्दैन तर आफूलाई लागेको रुघाखोकी अरूलाई नसरोस् भन्नका लागि घरबाहिर ननिस्किनु राम्रो ।
सामान्य रुघाखोकी र कोभिड–१९ मा के फरक ?
- सामान्यतः सामान्य रुघाखोकी र कोरोनाका लक्षणमा धेरै अन्तर छैन तर कोरोना संक्रमण भएका मानिसलाई रुघाभन्दा बढी सुक्खा खोकी लाग्छ । १०२ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउँछ र सास फेर्न समस्या हुन्छ ।
- सामान्य रुघाखोकी पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ तर रुघाखोकी सर्ने दर कोरोनाको सर्ने दरभन्दा निकै कम छ ।
- रुघाखोकीले बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा पहिल्यैदेखि स्वास्थ्य समस्या भोगरिहेकालाई बढी असर गर्छ । यसले हालसम्म बालबालिका तथा गर्भवतीलाई धेरै असर गरेको देखिँदैन ।त्यसैले आफू वा आफ्ना परिवारका सदस्यले संक्रमण देखिएका देशबाट फर्किएका मानिस वा तिनका परिवारका मान्छेसँग घुलमिल गरेका छैनन् भने आत्तिनु पर्दैन ।
- ज्वरो आएको छ, सुक्खा खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने चाहिँ स्वास्थ्य संस्थामा गएर जचाउनु उचित हुन्छ ।
- आफूलाई कोरोनाकै संक्रमण भए जस्तो लाग्छ भने १११५ नम्बरमा फोन गर्नुहोस् । त्यहाँबाट सल्लाह पाइन्छ ।
- धेरै समस्या भएको छ र काठमाडौंमा हुनुहुन्छ भने टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल जानुहोस् । त्यहाँ जान नसकिने भएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।
कोभिड–१९ बाट जोगिन के गर्ने, के नगर्ने ?
- सबैभन्दा पहिला, आफूलाई कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि हाललाई अत्यावश्यक काम पर्दाबाहेक घरबाट बाहिर ननिस्किनु नै राम्रो ।
- घरबाट बाहिर ननिस्किई नहुने भएमा भीडभाडमा सकेसम्म नजाने, भेट्ने मानिससँग हात नमिलाउने र उसबाट कम्तीमा पनि एक मिटर टाढा बस्ने ।
- बाहिरबाट घर फर्किएपछि वा सम्भव भएसम्म समय समयमा साबुन पानीले मिचीमिची हात धुने । हात धुन सम्भव नभए
- ७० प्रतिशतभन्दा बढी एल्कोहल भएको सेनिटाइजर हातमा राम्रोसँग दल्ने ।
- बजारमा मास्कको हाहाकार भएकाले आफूलाई रुघाखोकी र ज्वरो आएको छैन भने मास्क नलगाउने ।
- सामान्य रुघाखोकी लागेको पुष्टि भएका बिरामीबाट पनि टाढै बस्ने ।
- ६० वर्ष पुगेका वा श्वासप्रश्वास, मुटुरोग, मधुमेह (चिनी रोग), उच्च रक्तचाप भएका मानिस सबैभन्दा बढी होसियार हुनु जरुरी छ ।
(विश्व स्वास्थ्य संगठन तथा विभिन्न मेडिकल जर्नलमा प्रकाशित यो आलेख कान्तिपुर अनलाइनबाट साभार गरिएको हो ।)