काठमाडौँ, चैत ८ : कोभिड १९ को प्रकोप हुन नदिन नेपालका बैङ्कहरूले नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबार प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था सङ्घले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै कार्ड तथा विद्युतीय कारोबारका लागि अग्राह गरेका हुन् ।
उनीहरूले अत्यावश्यक अवस्थामा बाहेक बैङ्कका शाखाहरूमा नजान सर्वसाधारणलाई आग्रह गरेका छन् । बैङ्कहरूमा हुने भीडभाड कम गर्नका लागि बैङ्कहरूले इन्टरनेट, मोबाइललगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा शुल्क नलाग्ने बताएका छन् । त्यस्तै कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको कार्ड नेपालभित्र अन्य कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा पनि कुनै शुल्क नलाग्ने पनि बैङ्कर्स सङ्घको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आईपीएस पनि निःशुल्क हुने जनाइएको छ । वित्तीय संस्थाका प्रतिनिधि संस्थाहरूले अर्को सूचना प्रकाशित नभएसम्मका लागि यस्तो सुविधा उपलब्ध हुने स्पष्ट पारेका छन् ।
यसैबीच नेपाल क्लियरिङ हाउसले पनि एक विज्ञप्ति जारी गर्दै कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवामा लाग्ने कारोबार शुल्क यही चैत मसान्तसम्मका लागि मिनाहा गर्ने जानकारी गराएको छ ।
क्लियरिङ हाउसले मोबाइल एप्स, वेब, सदस्य बैङ्कको इन्टरनेट÷मोबाइल बैङ्किङ च्यानल तथा अन्य अप्रत्यक्ष-प्राविधिक सदस्यको च्यानललगायतबाट कनेक्ट आईपीएस ई–पेमेन्टमार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने पनि स्पष्ट पारेको छ ।
बैङ्क वित्तीय संस्थामा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तीय कारोबार पनि सहज ढङ्गले सञ्चालन गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी सो व्यवस्था लागू गरिएको कम्पनीले जनाएको छ । यस्तो व्यवस्थाले सर्वसाधारणले अनलाइन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने जनाएको छ ।
कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा एक वा सोभन्दा बढी बैङ्क खाता लिङ्क गरी फन्ड ट्रान्सफरलगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । यसको वेबबाट रु. १० लाख र मोबाइल एप्सबाट एक लाख रुपियाँसम्मको प्रतिकारोबार रियल टाइममा गर्न सकिन्छ ।
नोट कारोबार गर्दा कोरोनालगायत विभिन्न किसिमका कीटाणु सर्नसक्ने सम्भावना रहेकाले बैङ्कहरूले नोटको प्रयोगलाई निरुत्साही गर्न यस्तो योजना ल्याएका हुन् । पछिल्लो एक अध्ययनले नोट अत्यधिक फोहोर हुने र यसमा सयौँ कीटाणु रहने देखाएको छ ।