काठमाडौं, चैत ७ : नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा ‘दीप प्रज्वलन’ गरिएको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले स्व कोइरालाको दशौँ स्मृति दिवस तथा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएकाको सम्झनामा आज साँझ माइतीघर मण्डलामा ‘दीप प्रज्वलन’ गरेको हो ।
कार्यक्रममा नेविसंघका अध्यक्ष राजीव ढुंगानाले द्वन्द्वग्रस्त मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । “स्व कोइराला नेपाली काँग्रेसको मात्र नेता नभएर मुलुककै नेता हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।
नेविसंघका महामन्त्री दीपक भट्टराईले लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष कोइरालाले सहमति, सहकार्य र एकताबाट मुलुकलाई अगाडि बढाएको बताउँदै वर्तमान सरकार र राजनीति दलले कोइरालाबाट पाठ सिक्नुपर्ने बताउनुभयो । मुलुकमा अहिले गिरिजाबाबुजस्ता राजनेताको अभाव खड्किएको उहाँको भनाइ थियो ।
दीप प्रज्वलन कार्यक्रममा सरकारले तोकेको २५ भन्दा कम व्यक्तिको सहभागिता रहेको थियो । विसं १९८१ असार १८ गते भारतको विहारमा जन्मनुभएका कोइरालाको २०६६ चैत ७ गते काठमाडौंमा निधन भएको थियो ।