भद्रपुर, चैत ७ : प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुदूरपूर्वी नाका काँकडभिट्टामा कोभिड–१९को सङ्क्रमणको जोखिम हुन नदिन भइरहेको कामको बिहीबार अनुगमन गर्नुभएको छ ।
उहाँले जाँच प्रक्रिया, सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मी परिचालनको निरीक्षण गर्दै कोरोना सङ्क्रमण रोकथामका लागि नाकामा भीडभाड हुन नदिन, स्थानीय खुला हाटबजार बन्द गराउन र अनावश्यक रूपमा भारततर्फ सर्वसाधारणलाई आवतजावत गर्न जान नदिन प्रमुख जिल्ला अधिकारी र प्रहरीका स्थानीय प्रमुखहरूलाई निर्देशन दिनुभयो । मन्त्री कार्कीले सो भाइरसको जोखिम र जाँचमा खटिएकाको अवस्थाबारेमा कार्यस्थलमा परिचालित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग सोधपुछ गर्नुभएको थियो ।
दैनिक नौदेखि १२ हजारसम्म मानिस भारतबाट आउने गरेको काँकडभिट्टा नाकामा न्यून साधन र स्रोतका कारण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्वास्थ्यकर्मी परिचालन, आधुनिक उपकरणको उपयोग र दूरी कायम गरेर जाँच गर्न नसकिएको बताइएको छ ।
सो अवसरमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सु, प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला र इलाका प्रहरी काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले नाकामा कोरोना रोकथामका लागि भइरहेको जाँचमा सुरक्षित एप्रोन, माक्स र जनशक्तिको अभाव भएको जानकारी मन्त्री कार्कीलाई गराउनुभएको थियो ।
मन्त्री कार्कीले सुरक्षित एप्रोन, माक्स, जनशक्तिलगायतका सबै विषयमा पर्याप्त सहयोग गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिनुभयो । प्रशासन र सुरक्षा निकायका प्रमुखको टोलीले मेचीनगर–७ सतिघट्टास्थित क्वारेन्टाइनको निरीक्षण गरेको थियो । क्वारेन्टाइनका लागि सम्पूर्ण बन्दोबस्ती र जनशक्ति सहयोग गरिदिन मन्त्री कार्कीमार्फत प्रदेश सरकारलाई आग्रह गरिएको मेचीनगरकी उपप्रमुख उप्रेतीले बताउनुभयो ।
जाँचमा खटिने सरकारी कर्मचारी कार्यालय समय अवधिभर मात्र खट्ने हुँदा समस्या रहेको स्थानीयवासीले जानकारी दिएका छन् ।