काठमाडौँ, चैत ५ : व्यापार घाटाको आकार फराकिलो बन्दै गएपछि निर्यातकर्तालाई प्रोत्साहनस्वरूप सरकारले उपलब्ध गराउँदै आएको नगद अनुदान साढे दुई अर्ब रुपियाँ नाघेको छ । उत्पादनको मूल्य अभिवृद्धि अनुसार कुल मूल्यवृद्धिको तीनदेखि पाँच प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराउने व्यवस्था छ ।
आर्थिक वर्ष २०६८-६९ देखि कार्यान्वयनमा आएको यस्तो व्यवस्था अनुसार निर्यातकर्लाले दुई अर्ब ५४ करोड रुपियाँ नगद अनुदान प्राप्त गरिसकेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । केन्द्रीय बैङ्कले सार्वजनिक गरेको नेपालको वैदेशिक व्यापार प्रवृत्तिसम्बन्धी प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको गोरखापत्र अनलाइनले जननाएको छ ।
सरकारले आर्थिक वर्ष २०६७÷६८ को बजेट वक्तव्यमार्फत निर्यातमा नगद अनुदान उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त घोषणा अनुरूप निर्यातमा नगद अनुदानसम्बन्धी कार्यविधि, २०६८ लागू गर्दै आव २०६८-६९ देखि यस्तो व्यवस्था कार्यान्वयनमा आएको थियो । २०७५ मा पहिलोपटक संशोधन भएको कार्यविधि अनुसार विभिन्न ११ प्रकारका वस्तुमा ५० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि भएमा कुल अभिवृद्धिको पाँच प्रतिशत र सो भन्दा कम भएमा तीन प्रतिशत नगद अनुदान दिने व्यवस्था छ ।
यस्ता वस्तुमा प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला र छालाजन्य उत्पादन, हाते कागज, प्रशोधित जडीबुटी, तरकारी पुष्प, प्रशोधित मह, प्रशोधित अलैँची र प्रशोधित अदुवा छन् । यस्ता वस्तुको कुल नगद अनुदानमा विगत पाँच वर्षमा औसत १२ प्रतिशत मात्रै हिस्सा छ । विगत पाँच वर्षमा यस्ता वस्तुको निर्यात ५९ अर्ब ७८ करोड रुपियाँ पुगेको राष्ट्र बैङ्कको तथ्याङ्क छ ।
त्यस्तै नगद अनुदानसम्बन्धी कार्यविधिले तीन प्रतिशत मात्र अनुदानको व्यवस्था गरेका वस्तुको हिस्सा विगत पाँच वर्षमा करिब ३७ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ । यस्ता वस्तुमा स्वदेशमा उत्पादित कपडा, तयारी पोसाक, गलैँचा र ऊनीका सामान, च्याङ्ग्रा पश्मिनाबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट र यसका सामान, सुनचाँदीका गरगहना, स्वदेशी अर्धप्रशोधित छाला, आयुर्वेदिक औषधि, फेल्टका वस्तु, पोलिस्टर तथा फाइबर यार्न छन् । विगत पाँँच वर्षमा यस्ता वस्तुको निर्यात ८५ अर्ब ३५ करोड रुपियाँ नाघेको छ । विगत पाँच आर्थिक वर्षमा नेपालबाट एक खर्ब ८२ अर्ब ७३ करोड रुपियाँका यस्ता वस्तु निर्यात भएका छन् ।
विगत पाँच वर्षमा नेपालको कुल निर्यातको औसत वृद्धिदर केवल दुई प्रतिशत मात्र रहेको राष्ट्र बैङ्कको प्रतिवेदनले उल्लेख गरेको छ । नेपालको प्रमुख निर्यात बजारका रूपमा भारत र चीन रहेका छन् । पछिल्लो पाँच वर्षमा अलैँची, जुट, धागो, लत्ताकपडा, जस्तापाता जस्ता वस्तु नेपालबाट निर्यात हुने प्रमुख वस्तुका रूपमा रहेका छन् । यद्यपि वैदेशिक व्यापारको आकारमा भएको वृद्धि अनुसार नेपालको निर्यात बढ्न नसकेको राष्ट्र बैङ्कले जनाएको छ । कुल गार्हस्थ्य उत्पादनमा नेपालको निर्यातको हिस्सा घट्दै गएको पनि प्रतिवेदनमा उल्लेख छ ।
नगद अनुदान व्यवस्था कार्यान्वयनमा आएपछि भने जडीबुटी, अलैँची, चिया, ऊनी गलैँचा, पश्मिना, जुट, तयारी पोसाकजस्ता वस्तुले निर्यातमा सकारात्मक योगदान पु¥याएको देखिएको छ । राष्ट्र बैङ्कले नेपालको बढ्दो व्यापार घाटा कम गर्न संरचनात्मक सुधारको खाँचो रहेको निष्कर्ष निकालेको छ ।