बुटवल – बिदामा होस् वा साँझ–बिहान, आफ्ना बालबालिका मोबाइल र ट्याब धेरै चलाएर बिग्रिने हुन् कि भनी चिन्ता लिने अभिभावक धेरै छन्। कतिपय अभिभावकले बालबालिकाबाट ट्याब, मोबाइल लुकाएर राख्ने गरेका पनि छन्। बालबालिकाकै कारण अभिभावकले ट्याब र स्मार्ट मोबाइल प्रयोग गर्न छोडेर सामान्य मोबाइल बोकेका उदाहरण पनि भेटिन्छन्। छोराछोरीको परीक्षाको मुखमा घरको नेट कनेक्सन हटाउने अभिभावक पनि कम छैनन्। तर बुटवलको एउटा विद्यालयका स्कुले बालबालिकाहरू भने घरमा मात्रै होइन स्कुल पनि ट्याब नै बोकेर जान्छन्। कक्षामा विषय शिक्षक प्रवेश गर्नासाथ झोलाबाट कापी–कलमसँगै ट्याब झिक्छन्। त्यसपछि बल्ल उनीहरूको पढाइ सुरु हुन्छ।
यसरी प्रविधिको प्रयोगबाट बालबालिकालाई स्मार्ट शिक्षा प्रदान गर्न सुरु गरेको हो, बुटवलको सहिद स्मारक बोर्डिङ स्कुलले। सो स्कुलले विगत दुई वर्षदेखि डिजिटलाइज्ड शिक्षण पद्दति अपनाउँदै आएको छ। कक्षा ६ देखि १० लाई बुकलेस (किताबरहित) बनाई डिजिटल माध्यमबाट पढाउँदै आएको विद्यालयका निर्देशक गणेश ज्ञवालीले बताए। प्रविधि प्रयोगमा दक्ष बनाई विश्वबजारमै प्रतिस्पर्धी र सक्षम शैक्षिक जनशक्ति उर्न डिजिटलाइज्ड अध्यापन सुरु गरेको उनले बताए।
सहिद स्मारक बोर्डिङ स्कुलको कक्षाकोठामा टच–बोर्ड छ। कम्प्युटरको किबोर्डले टाइप गरेपछि बोर्डमा लेखिन्छ। टाइप ढिलो गर्ने शिक्षकले टच–पेनको प्रयोग गर्न सक्छन्। अबको समय शिक्षक मार्कर र बोर्डमा सीमित हुन भएन भन्ने सन्देश विद्यालयले दिइरहेको छ।
नयाँ र उत्कृष्ट पाठ्य–सामग्री खोज्न र अध्ययन गर्न सहज भएकाले डिजिटलाइज्ड अध्यापन प्रणाली उपयुक्त भएको विद्यार्थीहरू बताउँछन्। एसइईको अन्तिम तयारीमा रहेकी कक्षा १० कि छात्रा सरिष्मा पोख्रेलले प्रविधिको प्रयोगले आफूलाई चाहिने पाठ्य–सामग्री खोज तथा अध्ययन गर्न निकै सहज भएको अनुभव सुनाइन्। विद्यालयकी अर्की छात्रा आरती जैसवालले पनि भिजुअल र अडियोबाट पढ्दा घोकन्ते बानी हटेको बताइन्। ‘सुनेको भन्दा देखेका कुरा छिटो बुझिन्छ। लामो समयसम्म मेमोरीमा पनि रहन्छ,’ जैसवालले भनिन। कक्षामा शिक्षक नभए पनि आफैंले खेजेर पढ्ने, लेख्ने र नबुझेका कुरा दृश्यमा हेरेरै बुझन सहज हुने आरतीको भनाइ छ।
स्कुलले प्रविधि अध्ययन, खोज–अनुसन्धानलाई सहज बनाउने महत्वपूर्ण साधन हो भन्ने कुरा बेलैमा बुझाएर आफूहरूको आँखा खोलिदिएको विद्यार्थी रोजन सेढाइँले बताए। स्कुलमै प्रविधिको महत्व र प्रयोग सिकेकाले उच्चशिक्षाका क्रममा त्यसको प्रयोगबाट बिग्रने वा बरालिने मौका नहुने उनको भनाइ छ। ‘प्रविधिको महत्व घोकाएर होइन, प्रयोग गरेरै बुझ्ने मौका पायौं। प्रविधि प्रयोगको महत्व बुझिसकेकाले भविष्यमा यसले हामीलाई समयअनुकूल र अझ स्मार्ट बन्न सघाउनेछ,’ रोजनले भने।
छात्रा सुस्मिता श्रेष्ठलाई सुरुसुरुमा हातमा ट्याब पर्दा गेम खेल्न र कार्टुन हेर्न मन लाग्थ्यो। तर विद्यालयमा शिक्षकले प्रविधिको प्रयोगको महत्व र उपयोगीता सिकाउँदै पढ्न र पाठ्य सामग्रीहरू खोजी गर्न सिकाएपछि प्रविधिलाई ज्ञान आर्जन गर्ने माध्यमको रूपमा लिएको बताइन्।
बालबालिकालाई किताबको भारीले थिच्दैमा उपलब्धि निस्कन्छ भन्ने मान्यतालाई चुनौती दिँदै विद्यालयले आफ्ना छोराछोरीलाई प्रविधिको सदुपयोग गर्न सिकाएकोमा अभिभावकहरू खुसी छन्। ‘बालबालिकालाई प्रविधिबाट वञ्चित गरेर होइन, समयमै त्यसको सदुपयोग गर्न सिकाउनुपर्दो रहेछ भन्ने हामीले पनि बुझ्यौं,’ अभिभावक पवित्रा गौतमले भनिन्। प्रविधिको प्रयोगले किताब खर्चमा लाग्ने लागत पनि घटेको उनले बताइन्।
विद्यालयका निर्देशक ज्ञवालीका अनुसार कक्षा ६ देखि १० सम्म किताबमा मात्रै ७५ हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ। तर यो पद्दतिमा एउटा विद्यार्थीले २० हजार पर्ने ट्याबबाट चार वर्षको अध्ययन पूरा गर्न सक्छ। कसैले दुईवटा नै किन्नुपरे पनि किताबको मात्रै ३५ हजार बचत हुन्छ।
बुकलेस पद्दति अवलम्बन गर्दै डिजिटलाइज्ड अध्यापनका लागि विद्यालयले चार लाखका दरले हरेक कक्षाकोठामा १४ वटा प्रविधियुक्त उपकरण जोडेको छ। बालबालिकाका लागि एउटा ट्याब पनि निःशुल्क उपलब्ध गराइन्छ। हरेक शिक्षकलाई पहिले नै तालिम दिएर मात्रै पढाउन पठाइने विद्यालयका प्रधानाध्यापक लीलाधर गौतमले बताए। सुरुवाती दिनमा अभिभावकलाई बुझाउन र शिक्षकलाई सिकाउन समस्या भए पनि अहिले विद्यार्थी अभिभावक, शिक्षक सबै सन्तुष्ट रहेको प्रिन्सिपल गौतमको भनाइ छ। अभिभावक र विद्यार्थीकै मागअनुरुप आगामी शैक्षिक सत्रदेखि नर्सरीदेखि नै बुकलेस बनाएर श्रव्य–दृश्य माध्मबाट अध्यापन गराउने तयारी भइरहेको निर्देशक ज्ञवालीले बताए।
हाल विद्यालयमा अध्ययनरत चार सय ५० विद्यार्थीमध्ये ६ कक्षामाथिका एक सय ३९ विद्यार्थीको हातमा ट्याब छ। विद्यार्थी, अभिभावक र शिक्षकको मोबाइल र ट्याबमा सहिद स्मारक बोर्डिङ स्कुल नामक एप्लिकेसन राखिएको छ। कक्षा हाजिरी, गृहकार्य, पाठ्यक्रम, परीक्षाको तालिका, नतिजालगायत सम्पूर्ण काम एप्लिकेसनमार्फत गरिन्छ। शिक्षकले दिएको गृहकार्य अभिभावकले समेत आफ्नै मोबाइलमा हेर्न सक्छन्। विद्यार्थीले पनि त्यसबाटै गृहकार्य गर्ने प्राविधिक शिक्षक शालिकराम भुसालले बताए। शिक्षकले सोही एप्लिकेसनबाट अध्यापन गर्छन्। शिक्षकले अघिल्लो दिनै भोलिको योजना भिजुअल, अडियो माध्यमबाट तयार गर्छन्।
कक्षाकोठामा टच–बोर्ड छ। कम्प्युटरको किबोर्डले टाइप गरेपछि बोर्डमा लेखिन्छ। टाइप ढिलो गर्ने शिक्षकले टच–पेनको प्रयोग गर्न सक्छन्। तर विद्यालयले सकेसम्म पेनको प्रयोग घटाउँदै लगेको छ। अबको समय शिक्षक मार्कर र बोर्डमा सीमित हुन भएन भन्ने सन्देश विद्यालयले दिइरहेको शिक्षक रामबहादुर पचभइयाले बताए।
बेलाबेलामा शिक्षक र अभिभावकबाटै ट्याब चेकिङ हुने भएकाले त्यसमा विद्यार्थीले अनावश्यक सामग्री राख्न पाउँदैनन्। अध्ययन–सामग्रीसँगै सिसिटिभीबाट अभिभावकले कक्षाको गतिविधि हेर्न मिल्ने र बिदा भएपछि स्कुल बस कहाँ आइपुग्यो भनेर हेर्न मिल्नेगरी प्रविधि जडानको तयारी भइरहेको छ। यसरी डिजिटलाइज्ड पद्दतिबाट देशमै पहिलो पटक विद्यालयले अध्यापन थालेको दाबी विद्यालयको छ। निर्देशक ज्ञवालीका अनुसार विद्यालयले गरिरहेको यो अभ्यासलाई हेर्न र बुझ्न धरान, नेपालगन्ज, पोखरा चितवनलगायत स्थानबाट शैक्षिक व्यक्ति तथा संस्थाहरू आएको र प्रशंसा गर्ने गरेका छन्। नागरिक दैनिकबाट साभार