‘अजिब दास्तां हे ये
कहाँ सुरु कहाँ खतम
ये मञ्जिलें हे कौन सी
न वो समझ सके ना हम’
आमा किशोरी सिंहले गाएका यस्तै हिन्दी गीतहरु सुनेर हुर्किएकी हुन् उनी । आमा को हुन् ? आमा मिहिनेत र सीपका खानी हुन् । आमा प्रेम र सौन्दर्यकी मुहान हुन् । आमा दया र क्षमाशीलताका फोहोरा हुन् । आमा सन्तानको पहिलो प्रेम हुन् । आमा पहिलो शिक्षिका पनि हुन् ।
तिनै आमालाई पछ्याउँदै उनले पनि गीत गाउन सिकिन् । आमाको स्वर असाध्यै मीठो, सुनिरहूँ लाग्ने । उनकी आमाले सङ्गीत क्षेत्रमा केही गर्ने मौका पाइनन्, त्यो छुट्टै कुरा हो तर त्यही गुण उनले जन्मजात आमाबाट पाइन् । त्यसैले त गीत सुन्नेबित्तिकै दिमागमा बसिहाल्थ्यो । सुत्ने बेला कुनै गीत सुने बिहान उठ्दा कण्ठस्तै हुन्थे ।
विद्यालयबाट सुरु भएको उनको सङ्गीत यात्राले उनलाई नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सघाएको छ– नेपालको पहिलो महिला रक गायिकाको रूपमा । उनी नेपाली ‘म्युजिक सीन’मा तत्कालका लागि सक्रिय छैनन् तर इतिहास कसैगरी बदल्न सकिन्न । हो, उनले इतिहास रचेकी छिन् । पहिलो महिला रक गायिकाको ताज उनीबाट कसैले खोस्न सक्दैन ।
तर अहिले उनको पहिचान फेरिएको छ । कुनै बेला कपाल छोडेर ‘हेड ब्याङ्ग’ गर्दै स्टेजमा प्रस्तुति दिने उनी अहिले बिरामीको ‘भगवान’ बनेकी छिन् । भविष्यमा डाक्टर बन्ने इच्छा राख्नेहरुका लागि एनाटोमीकी प्राध्यापक भएकी छिन् ।
सन् २००७ मा नेपाली सेनामा आबद्ध भएकी अहिले उनको पहिचान हो, प्रा. सेनानी डाक्टर पुनम सिंह । सरल भाषामा भन्ने हो भने उनी नेपाली सेनाकी मेजर डाक्टर तथा सहप्राध्यापक हुन् ।
सायद उनलाई थाहा थिएन, सानो हुँदा आमाले धेरैजसो गाइरहने ‘अजिब दासतां…’ बोलको गीत भविष्यमा आफ्नै जीवनसँग मेल खानेछ ।
उनै पुनम सिंहलाई रातोपाटीले करिब तीन महिनाको प्रयासपछि भेट्ने मौका पायो । मूलपानीस्थित आफ्नै निवासमा उनले रातोपाटीसँग अहिलेसम्मको जीवनयात्राबारे मनमा उठेका आनन्दको भावनालाई शब्दको धागोमा उनेर सबिस्तार बताइन् ।
भाइले पिट्दा समेत थापेर बस्ने बानीः
२०३८ साल असोज २ गते । घरकी जेठी छोरीको रूपमा पुनमको जन्म भयो । मूल घर सुदूर पश्चिम भए पनि उनका आमाबुवा पछि हेटौँडा बस्न थाले । हेटौँडा बस्ने भएपछि आमा किनमेलका लागि रक्सोल जाने गर्थिन् । ९ महिनाको गर्भवती हुँदासमेत रक्सोल गएका बेला उनकी आमालाई प्रसव पीडा भयो । तसर्थ वीरगञ्जको अस्पतालमा पुनमको जन्म भएको हो । उनको जन्म खास रह्यो । नवजात शिशुलाई पुरानै टालाटुलीमा बेरबार पारिदिने नेपाली चलन उनीमा लागू भएन । आमाहरु सपिङ जो गएका थिए, नयाँ सामान, नयाँ लुगा, उनलाई नयाँ कपडामा नै गुटुमुटु पारियो ।
उनी सरल छिन् । लजालु पनि । हाँसेर बोल्ने मृदुभाषी । यो स्वभाव उनको बाल्यकालदेखिकै हो । बाल्यकालमा असाध्यै ज्ञानी पनि थिइन् रे । यतिसम्म ज्ञानी कि भाइले पिट्दासमेत चुप लागेर थापेर बसिरहन्थिन् । ‘म अहिले पनि कम नै बोल्छु है ड्याडी,’ सँगै बसेका ससुरा दामोदर फुयाँललाई हेरेर उनले प्रश्न गरिन् । ससुराले जवाफ फर्काइहाले, ‘धेरै बोल्ने फुर्सद पनि कहाँ छ र ?’
तर कम बोले पनि उनी मौन भने छैनन् । आवश्यक पर्दा अवस्था हेरेर बोल्न उनलाई राम्रोसँग आउँछ, त्यसमा उनी रत्तिभर पनि हिच्किचाउँदिनन् ।