तनहुँ, चैत ४ : यहाँका व्यावसायिक अदुवा कृषक उचित मूल्य नपाएपछि चिन्तित भएका छन् । अदुवा लगाएर घरखर्च चलाउने सपना बोकेका यहाँका कृषकले सोचेअनुरुप अदुवाको उचित मूल्य पाएका छैनन् ।
आवश्यक मूल्य नपाएपछि घरपरिवार चलाउनसमेत समस्या भएको अदुवा कृषक ऋषिङ गाउँपालिका–३ रिजालडीका टेकबहादुर आलेले बताए । ‘अदुवाको मूल्य सस्तो भएकाले घरव्यवहार चलाउन समस्या भएको छ’, उनले भने, ‘अदुवा बिक्री गरेर घर खर्च चलाउने, चामल तरकारी किन्ने गरे पनि अहिले बजार मूल्य नपाएपछि समस्या भएको छ ।’
अदुवाले मूल्य नपाएपछि केही कृषकले सुठोसमेत बनाउने गरेका छन् । आलेको यस वर्ष दुई सय धार्नी अदुवा उत्पादन भएको छ । अदुवाको बिक्री गाउँमै भए पनि निकै संस्तो मूल्यमा बेच्नुपरेको उनको भनाइ छ । बजारमा ग्राहकलाई व्यापारीसँग करीब चार सय धार्नीमा अदुवा किन्नुपर्ने बाध्यता रहे पनि कृषकले भने एक धार्नीलाई एक सय ३० मा बिक्री गर्नुपरेको कृषक आलेले बताए । जिल्लाका ऋषिङ, भिमाद, घिरिङ, देवघाट गाउँपालिकालगायत एक दर्जन पालिका अदुवा खेतीका लागि मुख्य क्षेत्र मानिएको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।