बलेवा, चैत ४ : बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका सूचकहरू पूरा गर्दै गलकोट नगरपालिका बालमैत्री नगर घोषणाको चरणमा प्रवेश गरेको छ । चालू आवमा बालमैत्री नगर घोषणा कार्यक्रमलाई प्राथमिकतामा राखेको नगरपालिकाले चैत महिनाभित्रै गलकोटलाई पहिलो बालमैत्री नगर घोषणा गर्दैछ ।
‘तोकिएका सूचकहरू पूरा गर्न गरिएको मेहेनत सफल हुँदैछ’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘उपयुक्त समय तोकेर बालमैत्री नगर घोषणा हुन्छ ।’ भौतिक विकासका काममा मात्रै ध्यान दिने परिपाटीको अन्त्य गर्दै मानवीय विकासका सूचकहरू पूरा गर्न नगरपालिका लागिरहेको उनले बताए ।
‘बालबालिकाका हकअधिकारको संरक्षण गर्दै सभ्य नागरिक बनाउन नगर प्रतिबद्ध छ’ उनले भने, ‘मानव तथा सामाजिक विकासमा जिल्लाकै नमूना भएर देखाउने धुनमा छौँ ।’ बालमैत्री नगर बनाउन बालबालिकाका अधिकारका अलवा सामाजिक समस्या र तिनको समाधानमा समेत नगरले कार्ययोजना बनाएर काम गरिरहेको उनले जानकारी दिए ।
बालमैत्री नगर घोषणाले सामाजिक विकृतिको न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा नगरपालिकाले राखेको छ । ‘हामीले तयार गरेको सामाजिक विकासको योजनाले हरेक क्षेत्रलाई सुधार गर्छ’, प्रमुख प्रसाशकीय अधिकृत शिशिर पौडेलले भने, ‘कयौँ चुनौतीका बाबजुद हामी सफलताको विन्दुमा छौँ ।’, नगरपालिकाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गर्ने जनाएको छ ।
अहिले प्रत्येक वडामा अध्यक्षको नेतृत्वमा समिति गठन गरेर रणनीतिमा व्यवस्था भएका सूचकको अवस्थाबारे जानकारी सङ्कलन गर्ने काम सकिएको छ । वडा तहबाट आएको प्रतिवेदनका आधारमा पूरा नभएका सूचक पूरा गर्न नगरपालिका लागिरहेको योजना शाखाका अधिकृत राजन कँडेलले जानकारी दिए ।
बालबालिकाको शिक्षा, स्वास्थ्य, पूर्णखोप, स्तनपान, पोषण, सामाजिक क्रियाकलापमा सहभागिता, बालश्रमको अन्त्यलगायत सूचकहरू अनिवार्य पूरा गर्नुपर्ने व्यवस्था छ । गलकोट नगरपालिकाले नगरप्रमुख शिशु तथा मातृ स्वास्थ्य तथा पोषण कार्यक्रम, बाल विकास केन्द्रको स्थापनालगायत बालबालिकासम्बन्धी विभिन्न कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरी सञ्चालन गरिरहेको उनले बताए ।
बालमैत्री नगर घोषणाका लागि सबै जनप्रतिनिधि, कर्मचारी, शैक्षिक संस्था, प्रहरी, बालक्लब, नागरिक समाज, सञ्चारकर्मीलगायतका प्रतिनिधिले सामूहिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । बालमैत्री नगर घोषणा र दिगोपनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता जनाउँदै बालबालिकालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धतामा उल्लेख छ ।
विद्यालय र विद्यार्थीलाई सम्मान गर्दै गाउँपालिका
बागलुङको बडिगाड गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । गाउँ कार्यपालिकाको ६०औँ बैठकले विद्यार्थी र विद्यालय सम्मानको कार्यक्रम ल्याएको हो ।
माध्यमिक तहमा पठनपाठन गराइरहेका विद्यालय र विद्यार्थीलाई समेत स्थानीय सरकारको अनुभूति गराउनका लागि पुरस्कार तथा सम्मानको कार्यक्रम तय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले बताए ।
चालू आर्थिक वर्षबाट लागू हुने गरी यो कार्यक्रम कार्यान्वयनमा आउने छ । पुरस्कार तथा सम्मानका लागि कार्यविधि बनाई कार्यान्वयनमा लगिने सुवेदीले जानकारी दिए । कार्यपालिकाले उत्कृष्ट विद्यालयलाई एक लाख नगदसहित सम्मान गर्ने निर्णय गरिसकेको छ । गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक तथा शिक्षासेवीलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए ।
गाउँपालिकाभित्र शिक्षक सेवा पुरस्कारको लागि शिक्षासेवीको छनोट गर्न कार्यपालिकाको बैठकले छनोट समितिको गठन गरेको छ । बडिगाड–३ का अध्यक्ष तथा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास समितिका संयोजक खड्क पुन संयोजक रहेको पाँच सदस्यीय छनोट समिति गठन भएको हो । नयाँ शैक्षिकसत्रबाट कम विद्यार्थी र धेरै दरबन्दी भएका विद्यालयको मिलान गर्ने विषयमा समेत बडिगाडमा छलफल शुरु भएको छ । सरोकारवालासँगको छलफलपछि विद्यालयको अवस्था र मिलानको आवश्यकताका विषय निर्णयमा पुगिने गाउँपालिकाले जनाएको छ ।