भारत सरकारले गएको साता मात्रै पारासिटामोलसहित २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले प्रतिबन्ध लगाएका २६ प्रकारका औषधिमा ११ वटा औषधि उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ छन् भने बाँकी १५ वटा औषधिका फर्मुलेसन रहेका छन् । पछिल्लोपटक कोरोना भाइरसको सङ्क्रमण भारतमै देखिन थालेपछि भारत सरकारले अन्य देशमा निर्यात गर्दै आएका औषधि र कच्चा पदार्थ निर्यातमा तत्कालका लागि प्रतिबन्ध लगाएको हो ।
नेपाल सरकारको कूटनीतिक तथा वाणिज्य दूतमार्फत गरिएको अनुरोधपछि भारत सरकारले नेपालमा आउने औषधिमा कुनै प्रकारको रोक नलगाएको बताउँदै आएको छ तर औषधि व्यवसायीहरू भने पछिल्लोपटक भारतबाट औषधि नआएको बताउँदै आएका छन् । नेपालमा वार्षिक रूपमा ३६ अर्ब रुपियाँ बराबरको औषधि खपत हुने गरेको छ । औषधि व्यवस्था विदेशमा आयातीत र स्वदेशमा उत्पादित औषधि समावेश रहेको छ । स्वदेशी विदेशी औषधि, औषधिको कच्चा पदार्थ, सर्जिकललगायतको मूल्य जोड्ने हो भने करिब ७० अर्ब रुपियाँ बराबरको औषधि बजारमा भएको बताइन्छ ।
नेपालमा हाल एलोपेथिक औषधिका ६२ उद्योग सञ्चालनमा छन् भने ४२ अन्य नयाँ उद्योग निर्माणाधीन छन् । प्रस्तुत छ, अति आवश्यकीय वस्तुमा पर्ने औषधिजस्तो संवेदनशील वस्तुमा भारतले रोक लगाएपछि उत्पन्न परिस्थिति, नेपालमा औषधि उत्पादन र मौज्दातको अवस्थालगायतका औषधिका समसामयिक विषयमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालसँग गोरखापत्रका सीता शर्माले गरेको कुराकानीको सम्पादित अंश :
नेपालमा औषधिको अभाव भएकै हो कि हल्ला मात्र बढी भएको हो ?
हल्ला बढी नै भएको छ । तत्कालका लागि नेपालमा औषधिको अभाव छैन । भारतबाट आउँदै आएन भने पनि पाँच-छ महिनालाई धान्ने औषधि र त्यसको कच्चा पदार्थ मौज्दात छ, डराउनुपर्ने अवस्था छैन । भारतले पनि नेपाललाई औषधि पठाउन रोक नलगाउने पनि प्रस्ट्याएको छ । अब औषधि निर्बाध रूपमा आउनेमा हामी ढुक्क छौँ । बरु अहिले अभाव भनेको मास्क र स्यानिटाइजरको हो । मास्क र स्यानिटाइजर विभागको सोझो नियन्त्रणमा छैन । यी वस्तु अनुमति प्राप्त व्यवसायीमार्फत नै आउने गर्छन् । हामीले त बजारमा यी वस्तुको अभाव र कालोबजारी भएको खण्डमा मात्रै अनुगमन गर्ने नियमन गरेर त्यस्ता व्यापारीलाई कारबाही गर्छौं । जुन अहिले गरिरहेका पनि छौँ ।
त्यसो भए मास्क र स्यानिटाइजरको कालोबजारी भएकै हो त ? कतिलाई कारबाही गर्नुभयो नि अहिलेसम्म ?
मास्कमा कालोबजारी भएको सत्य हो । हामीले अनुगमन गर्दा पनि त्यस्तो पाएका छौँ । आठ-दसवटालाई जरिवानासहित कारबाही पनि गरेका छौँ । बजारमा अहिले जति मास्कको माग छ त्यो आवश्यकता पर्ने अवस्था नै आएकै छैन । किन यो अवस्था सिर्जना भएको छ बुझ्न सकेका छैनौँ । मास्कको विषयमा मिडियाले पनि अतिरञ्जित नै गरेकोजस्तो लाग्छ । मास्कको अभाव हुनुको मुख्य कारण एक्कासि माग बढ्नु र नेपालका केही खुद्रा व्यापारी सङ्गठित भएर चीनमा निर्यात गरेको र ठूला व्यापारीसँग रहेका मास्क उपभोक्ताले नै चाहिनेभन्दा बढी खरिद गरेर होल्ड गरेकाले पनि अहिले अभावको समस्या आएको बुझिएको छ । यसको समाधानका लागि सबै पक्षसँग छलफल भइरहेको छ । छिट्टै यसको समाधान हुन्छ ।
नेपाल औषधिमा कति प्रतिशत आत्मनिर्भर छ ? भन्न सकिने अवस्था कि छैन ?
औषधि आत्मनिर्भर भयौँ कि छैनौँ भन्न सजिलो छैन । व्यवसायीले भनेजस्तो हामीले यति प्रतिशत आत्मनिर्भर छौँ भन्न मिल्दैन । यस विषयमा अहिलेसम्म अध्ययन नै भएको छैन । उत्पादित औषधिको फर्मुलेसन गरेर धेरै औषधि बनाउनसक्ने क्षमता छ । उत्पादन मात्रै गर्दैमा आत्मनिर्भर भन्न मिल्दैन । त्यसमा प्रयोग हुने प्रायः कच्चा पदार्थ आयात नै गर्नुपर्छ । त्यसैले यो गम्भीर र संवेदनशील विषय भएकाले यति नै भन्न सकिने अवस्था छैन । औषधि बनाउने फर्मुलेसनमा ६५ प्रतिशतसम्म प्राविधिक जनशक्ति आत्मनिर्भर छन् ।
औषधिको कच्चा पदार्थको आयात कुन कुन देशबाट हुन्छ ?
नेपालमा औषधि वा औषधिका कच्चा पदार्थ भारतमार्फत नै आउने हो । औषधिका विशेष उत्पादन भारतबाहेक चीन, डेनमार्क, बेल्जियम, फ्रान्स, जर्मनीबाट औषधि र औषधिका कच्चा पदार्थ आउने गरेका छन् । नेपालमा धेरै औषधि भारतबाट नै आउने गरेको छ । हामी सस्तो र सहज हेरेर पनि धेरै औषधि भारतबाट ल्याउने गरेका हौँ ।
नेपालमा उत्पादित औषधिको गुणस्तरमा समस्या छ कि छैन ?
औषधिको गुणस्तर एउटै हुन्छ । गुणस्तरमा समस्या छैन । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै औषधि उत्पादन गर्नुपर्छ । गुणस्तरमा कुनै सम्झौता हुँदैन । औषधिमा विश्वमै आईपी मापदण्ड हुनैपर्छ । नेपालमा उत्पादन हुने होस् वा भारत वा तेस्रो मुलुकबाट आउने होस्, त्यो एउटै मापदण्डको हुनुपर्छ ।
औषधिको अनुगमनमा पनि समस्या रहेको गुनासो आउने गरेको छ नि ? यसको जिम्मा कसको हो ?
औषधिको अनुगमन गर्ने जिम्मा हामै्र हो र निरन्तर गरिरहेका पनि छौँ । हरेक औषधिको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) हुन्छ । त्योभन्दा बाहिर गएर बिक्री गरेको खण्डमा कारबाही गर्छौं । एमआरपीमा तोकेभन्दा बढी मूल्यमा औषधि बिक्री गरेको खण्डमा कालोबजारी ऐनअन्तर्गत पनि कारबाही र जरिवाना गर्न सकिन्छ । औषधिको पक्षबाट औषधि ऐनअनुसार कारबाही हुन्छ भने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट जाँदा उपभोक्ता ऐनअनुसार कारबाही र जरिवाना हुने गरेको छ ।
सरकारी अस्पतालभित्र र अस्पतालबाहिरका औषधि पसलमा किन धेरै मूल्य अन्तर हुन्छ ?
त्यो स्वाभाविक हो । अस्पतालभित्र फार्मेसीले मूल्यमा विशेष सहुलियत पाएका हुन्छन् । अस्पतालभित्रका फार्मेसीले धेरै कम्पनीका ठूलो परिणाममा औषधि लिने भएकाले उनीहरूले मूल्यमा इन्सेटिभ पाउँछन् । बाहिर फार्मेसीले भाडा चर्को तिर्नुपर्ने र मुनाफा पनि धेरै लिनुपर्ने भएकाले एमआरपीमा घटाएर बिक्री गर्न सक्दैनन् । अस्पतालको फार्मेसीले सकेसम्म सस्तो मूल्यमा दिनुपर्छ तर बाहिरको फार्मेसीले त्यस्तो अनिवार्य छैन र सक्दैन । सरकारी अस्पतालभित्रका फार्मेसीले बाहिरको निजी फार्मेसीमार्फत औषधि बिक्री गरेर कमिसन खाने गरेको भन्ने सुनिन्छ नि । यसको चाहिँ अनुगमन भएको छ कि छैन ?
यो कुरा हामीले पनि धेरै पहिलेदेखि सुन्दै आएका छौँ । सरकारी अस्पतालमा विशेष छुटमा आएको औषधि निजीमा लगेर महँगो बिक्री गर्ने गरेको भन्ने गरिन्छ तर उजुरी नपरेकाले त्यसको अनुगमन पनि भएको छैन । यदि त्यो हो भने धेरै संवेदनशील विषय हो । यस विषयमा गम्भीर भएर हेर्न सकिन्छ । अब यसैमा केन्द्रित भएर अनुगमन पनि गर्छौं ।
लाइफ सेभिङ औषधिको चाहिँ मौज्दात कस्तो छ ?
यो औषधि विशेष गम्भीर अवस्था वा मृत्युको दोसाँधमा रहेको व्यक्तिलाई प्रयोग हुने औषधि हो । शल्यक्रियाका लागि चाहिने र सर्जरीपछि प्रयोग गरिने धेरै औषधि यसभित्र पर्छन् । त्यसबाहेक त्यो औषधि नभए जिउज्यान खतरामा हुन्छ, त्यस्तो खालको औषधि पनि यही वर्गमा पर्छ । खासगरी सुईको प्रयोगबाट दिइने औषधि प्रायः यस वर्गमा पर्छन् । यस्ता औषधिको अभाव हुनसक्छ ।
यी औषधि मूल्य कम, छोटो प्रयोग मिति भएको र सप्लायरलाई पनि थोरै मात्रै फाइदा हुने खालका हुन्छन् । यो औषधि विशेष अप्ठ्यारो अवस्थामा मात्रै प्रयोग हुने गर्छ । बिरामीको सङ्ख्या पनि निश्चित हुन्छ । ल्याएको औषधि म्याद गुज्रिएर पनि जान सक्छ । पर्याप्त मौज्दात नराख्दा कहिलेकाहिँ अभाव पनि हुन सक्छ । एकैपटक धेरै माग भयो भने अभाव हुनसक्ने वर्गमा पर्ने औषधि हो । अहिले नै मौज्दात राख्नुपर्ने अवस्था आएको छैन । पर्याप्त मौज्दात पनि छैन । त्यसो भन्दैमा औषधि नभएको भन्ने होइन, सरकारी होस् वा निजी अस्पतालमा यस प्रकारका औषधि राखिएको छन् ।
अहिलेको अवस्थामा उपभोक्ताले गर्नुपर्ने कुरा के हुन्छ ?
उपभोक्ता र व्यवसायी दुवैमा मेरो अनुरोध छ, राष्ट्रको समस्या सबै मिलेर समाधान गर्नुपर्छ । यस्तो अवस्थामा व्यवसायीले लुकाउने, सामानको अभाव देखाएर मूल्य बढाउनेजस्ता काम नगरी स्वच्छ व्यवसायी व्यवहार प्रदर्शन गर्न आग्रह गर्छु ।
अर्को उपभोक्तालाई पनि औषधि नै नभएर मरिन्छ कि भनेर चाहिनेभन्दा बढी आवश्यकतै नभएका औषधि खरिद गरेर सञ्चय नगर्न आग्रह गर्छु । यसले गर्दा चाहिनेले औषधि नपाएर मृत्यु हुनुपर्ने अवस्था आउन सक्छ भने नचाहिनेकोमा गएर औषधि बस्छ । त्यसले फाइदा कसैलाई हुँदैन, यसमा सचेत हुन आमउपभोक्तालाई आग्रह छ । यस विषयमा ख्याल गरेको खण्डमा खास बिरामीले औषधि नपाउने अवस्था आउँदैन ।
सरकार गम्भीर र संवेदनशील छ । अहिले समस्या होल्डिङ गर्ने र अनावश्यक त्रास फैलाउने महँगो बनाउने बीचमा छ । मनोबल कमजोर भएका व्यक्तिले औषधि किनेर होल्ड गरेर राख्ने र गलत प्रवृत्ति भएका औषधि व्यवसायीले सामान लुकाउने, बढी मूल्य तिर्नेलाई दिने गलत मनोवृत्ति मात्रै समस्या हो । अहिले औषधि अभाव हुनुपर्ने कारण नै छैन ।