काठमाडौं, फागुन ३० : नोवल कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिकित्सकले संक्रमण फैलन नदिन हात मिलाउनुको साटो नमस्कार गर्ने बानी बसाल्न सुझाव दिएका छन् ।
सरकारले समेत कोरोना भाइरसको संक्रमण रोक्न सभा सम्मेलन तथा भीडभाड नगर्न सुझाएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले नेपालभित्रै हुने भोज भतेर तथा सभाका कार्यक्रम समेत गर्न नहुने बताए ।
चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका एक सय २५ भन्दा बढी मुलुकमा फैलिइसकेको छ । दुई ठूला छिमेकी मुलुक चीन र भारतमा पनि संक्रमण फैलिएसँगै नेपाल पनि उच्च जोखिममा रहेको छ । विश्व स्वास्थ्य संगठनले पनि कोरोना संक्रमणबाट सजग रहन आग्रह गरिसकेको छ ।
‘देशभित्रै पनि भोज भतेर तथा सभा सम्मेलन गर्न उपयुक्त समय छैन,’ मन्त्री ढकालले भने, ‘मान्छेहरु भेट्दा अंगालो हाल्ने, चुम्बन गर्ने भन्दा पनि टाढैबाट नमस्ते गर्ने शैलीहरु अपनायौं भने रोग नियन्त्रणमा सहयोग पुयाउने छ ।’
त्यसो त हात मिलाउन नमिल्ने भएपछि चीनमा खुट्टा जोडेर अभिवादन गरेको भिडियोसमेत सामाजिक सञ्चाजमा भाइरल बनेको थियो । चिनेजानेका आफन्त, साथीभाइ, सहकर्मीलाई भेट्दा अभिवादन गर्ने प्रचलन भएकाले हात मिलाउनुको साटो नमस्कार गरेर अभिवादन गर्नु राम्रो हुने चिकित्सकको भनाइ छ ।
स्वास्थ्य व्यवस्थापन महाशाखा काठमाडौंका निर्देशक भोजराज डोटेल पनि कोरोना भाइरसबाट बच्न नमस्कार गर्ने बानी विकास गर्न सुझाव दिन्छन् । साबुन पानीले मिचिमिची ३० सेकेन्डसम्म हात धुने, बाहिर हिँड्दा नाक, मुख छोप्ने, मास्क लगाउने, भीडभाडमा नजाने, विदेशबाट फर्केर आएका मानिसबाट सावधान रहने, पशुपक्षीबाट टाढा रहन उनले सुझाए ।
त्यसो त नमस्कार गर्नुको वैज्ञानिक कारण पनि छन् । दुवै हात जोड्दा औंलामाथि जोड पर्छ र एक प्रकारको एक्युप्रेसर हुन्छ । यसले हाम्रो दिमाग, कान र आँखा सक्रिय बनाउँछ । आफू सामुन्ने आएका व्यक्तिलाई लामो समयसम्म याद गर्न सकिन्छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमणबारे विशेष सूचना जारी गरेको छ । मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथाममा विश्वविद्यालय, शिक्षण संस्था, विद्यार्थी, शिक्षक, तथा अभिभावकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विशेष ध्यान दिन अनुरोध गरेको छ ।
यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कोरोना भाइरसको संक्रमण रोकथाम सम्बन्धमा विद्यालय र शिक्षण संस्था, विद्यार्थी, शिक्षक, तथा अभिभावकमा अनुरोध गरेको छ ।
१. विद्यालय र शिक्षण संस्थाले संक्रमण फैलने तरिका र त्यसबाट बच्ने सम्बन्धमा देहायका कार्यगरी सचेतना जगाउने कार्यक्रम गर्ने ः
–विद्यार्थीहरुलाई हरेक दिन संक्रमणबाट बच्ने उपायहरुबारे बताउने,
–कक्षा शिक्षकले विद्यार्थीहरुलाई हरेक दिन कोरोना भाइरसबारे सूचना तथा जानकारी उपलब्ध गराउने,
–संक्रमणबाट बच्ने उपायहरु सूचना पाटीमा टाँस गर्ने, छलफल गराउने, यसबारे पढ्न र छलफल गर्न विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने,
–कोरोना भाइरस सम्बन्धी आधिकारिक सूचना दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका वेबसाइटहरुको ठेगानाबारे जानकारी दिएर सबै विद्यार्थीहरुलाई सूचित हुने अवस्था सिर्जना गर्ने,
–स्थानीय स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुसँग समन्वय गरी सचेतना कार्यक्रम सञ्चालन गर्ने ।
२. स्वास्थ्यका दृष्टिले सुरक्षित हुन देहायका बानी र व्यवहारहरु अवलम्बन गर्न सुझाव दिने ः
–भीडभाड भएको ठाउँमा सकभर नजाने,
–राम्ररी नपकाइएको माछा, मासु, सागसब्जी एवं खानेकुराहरु नखाने,
–साबुन पानीले पटक पटक राम्ररी हात धुने,
–खाना खाजा खानुपूर्व अनिवार्य रुपमा साबुन पानीले हात धुने,
–हात नमिलाउने, अङ्कमाल नगर्ने, टाढैबाट नमस्कार गर्ने ।
३. कुनै विद्यार्थीलाई ज्वरो रुघाखोकी देखिएमा ः
–विद्यालय र शिक्षण संस्थामा तत्काल अन्य विद्यार्थीहरुबाट अलग्गै राख्ने,
–शिघ्र अभिभावकलाई सम्पर्क गरी सुरक्षित तरीकाले जिम्मा लगाउने,
–नजिकको स्वास्थ चौकी, अस्पताल वा चिकित्सकसँग सम्पर्क गरी उनीहरुको सल्लाहअनुसार उपचार गर्ने गराउने,
– ज्वरो र रुघाखोकी लागेका विद्यार्थी र तीनका परिवारका अन्य व्यक्तिहरुलाई घरमा सुरक्षित तवरले अलग्गै ठाँउ (ष्कयबितष्यल)मा राख्ने ।
४. स्थिति सहज नभएसम्म अभिभावक भेला, वार्षिकोत्सव, साँस्कृतिक कार्यक्रमजस्ता सभा समारोह आयोजना नगर्ने ।
५. सामूहिक पिकनिक वा शैक्षिक भ्रमणजस्ता कार्यक्रम स्थगन गर्ने ।
६. शिक्षण संस्थाहरुबीच सूचनाको नेटवर्क सञ्चालन गर्ने ।
–आधिकारिक सूचना एकै ठाउँबाट प्रवाह गर्ने व्यवस्था गर्न विद्यालय र शिक्षण संस्थामा फोकल पोईन्ट तोक्ने,
–अनावश्यक हल्लाले विद्यार्थीहरुलाइ त्रसित बनाउन सक्नेतर्फ सचेत तुल्याउने,
–संक्रमण भएमा स्वास्थ्य सेवा लिने तरिका एवं एकान्तर अलग्गै राख्ने र फैलन नदिने विधिबारे जानकारी दिने,
–सरकारी आधिकारिक निकायबाट आउने सूचना सवैमा प्रवाह गर्ने व्यवस्था प्रभावकारी पार्ने,
थप जानकारीका लागि शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्डका वेबसाइट हेर्ने, ति निकायहरुमा रहेको सम्पर्क डेस्कहरुबाट थप सूचना वा जानकारी लिने र सोही बमोजिम सूचना एवं जानकारीहरु सम्प्रेषण गर्ने गराउने व्यवस्था मिलाउने ।