काठमाडौँ, फागुन २९ : हुलाकी राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्ला जोड्ने वाग्मती नदीमा पुल निर्माण शुरु भएको छ वर्ष बित्दा पनि अझै सम्पन्न भएको छैन । पुल निर्माणमा लामो समय लगाएको र कमसल सामग्रीको प्रयोग गरिएको भन्दै स्थानीयवासीले विरोध गरेका थिए ।
सो पुलको विवादसम्बन्धी मुद्दा अहिले अदालतमा विचाराधीन रहेकाले निर्माण अवरुद्ध छ । सोही राजमार्गको नारायणी नदीमा पुल निर्माण पनि अहिले अलपत्र छ । पप्पु कन्स्ट्रक्शनले संयुक्त लगानी (जेभी)मा सात वर्ष पहिले पुल निर्माणको जिम्मेवारी लिए पनि निर्माण अघि बढाएको थिएन । निर्देशनालयले सार्वजनिक खरिद ऐनका आधारमा गत असारमा ठेक्का तोड्ने निर्णय गरेको थियो तर अहिले त्यो विषय मुद्दामा गएकाले नयाँ ठेक्कामा जान नसकिएको आयोजनाले जनाएको छ ।
पर्साको तिलावे पुलको निर्माण ठेक्का पनि पप्पु कन्स्ट्रक्शनले जेभीमै लिएको थियो । अहिले सो पुलमा अर्काे कम्पनीलाई काम गराउने तयारी भइरहेको छ । वारिपारिको सडक सञ्चालनमा आउँदा पनि पुल नबन्दा स्थानीयवासी खोला वारपार गर्न सकिरहेका छैनन् ।
हुलाकी राजमार्गमा निर्माणाधीन यी पुल उदाहरण मात्रै हुन् । राष्ट्रिय गौरवको आयोजनामा पर्ने सो राजमार्गमा धेरै पुल यसरी नै अलपत्र अवस्थामा छन् । अहिले ७० पुल निर्माणाधीन रहेकामा एक दर्जन पुलमा विभिन्न किसिमका समस्या पाइएको छ । कतिपय स्थानमा सडक निर्माण भइसक्दासमेत पुल निर्माण अघि बढ्न सकेको छैन । पुल नभएकै कारण त्यहाँका सडक पूर्णरूपले प्रयोगमा आउन नसकेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ ।
पहिले हुलाकी पुल आयोजनाका रूपमा रहेकामा सरकारले पछि पूर्वदेखि पश्चिमसम्म तराईका जिल्ला जोड्ने गरी राष्ट्रिय राजमार्ग निर्माणको योजना बनाएको थियो । पुल आयोजनाले झण्डै एक दशक वा त्यस पहिले ठेक्का सम्झौता गरेकोसमेत कतिपय पुल अझै सम्पन्न भइनसकेको निर्देशनालयका प्रमुख रोहितकुमार बिसुरालले बताउनुभयो । पुल निर्माणमा ढिलाइ हुँदा आयोजनाले निर्माण कम्पनीसँग ठेक्का तोड्ने गरेको छ । निर्माण व्यवसायी मुद्दामा गएपछि योजना नै अलपत्र पर्ने उहाँको भनाइ छ ।
“व्यवसायी मुद्दामा गएपछि हामी तत्काल नयाँ ठेक्कामा जान मिल्दैन”, उहाँले भन्नुभयो, “त्यसैले हामी सकेसम्म त्यही कम्पनीलाई काम गराउन प्रयास गछौँ ।” निर्माण अघि नबढ्नुका कारणमध्ये सबैभन्दा बढीमा निर्माण व्यवसायीकै कारण देखिएको छ । त्यसबाहेक कुनैकुनै पुलमा डिजाइनमा समस्या र केहीमा निर्माणस्थलमा समस्या पनि पाइएको छ । कतिपय स्थानमा डिजाइनमा कम लम्बाइ उल्लेख भए पनि निर्माणस्थलमा काम गर्दा लामो पुल चाहिने पाइएको प्रमुख बिसुरालले बताउनुभयो ।
कतिपय स्थानका पुलमा डिजाइनभन्दा अग्लो वा होचो पुल निर्माण गर्नुपर्ने हुँदा पनि त्यसलाई सच्याउनुपर्दा ढिलाइ भएको पाइन्छ । उहाँले भन्नुभयो, “कतिपयमा काम शुरु हुँदा जग कमजोर भयो भन्ने कुरा पनि आउने गरेको छ ।”
राजमार्गमा अधिकांश सडक पहिले सञ्चालनमा रहेकामा त्यसको स्तरोन्नतिको काम भइरहेको हो । कतिपय पुल आयोजना बन्नु पहिले नै सञ्चालनमा रहेको भए पनि चौडाइ कम रहेकामा त्यसको विस्तारको समेत काम भइरहेको छ । पहिले डिभिजन सडक कार्यालयले एक लेनको मात्रै पुल बनाएकामा अहिले त्यसलाई दुई लेन बनाउन लागिएको हो ।
सो राजमार्गको भौतिक प्रगति अहिलेसम्म ४८ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजनाअन्तर्गत हालसम्म झण्डै ३८५ किलोमिटर सडक कालोपत्र भएको छ । राजमार्गको लम्बाइ ९७५ किमी रहेकामा अहिलेसम्म ३३८ किमी सडक ग्राभेल तथा ९२ पुल सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । चालू आर्थिक वर्षमा ९७ किमी कालोपत्र, ४२ किमी ग्राभेल र पाँच पुल सम्पन्न भएको छ ।
पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा समेत यस राजमार्गलाई हेरिएको छ । तराईका भित्री बस्ती र कतिपय भारत नजिकका बस्तीका बासिन्दालाई समेत सहज यातायातको सुविधा राजमार्गले दिनेछ । सडकको चौडाइ केन्द्रबाट १५/१५ मिटर हुनेछ । सरकारले आव २०७९/८० सम्ममा सडक निर्माण गरिसक्ने लक्ष्य लिएको छ । आयोजनाको संशोधित बजेट रु ६१ अर्ब रहेको छ ।
राणा शासनमा चिठ्ठी आदानप्रदान गर्ने हुलाकी सडकको अवधारणा विकास भएको थियो । सो आयोजनाले तराई–मधेशमा रहेका जनतालाई यातायात सर्वसुलभ र सहज बनाउनेसँगै यस क्षेत्रका शिक्षा, स्वास्थ्य, कृषि, व्यापारलगायतको विकास गर्ने अपेक्षा गरिएको छ ।