काठमाडौँ, फागुन २५ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आज नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उनको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई हिँडडुल गराउन र सन्तुलित आहार दिन थालिएको उल्लेख गर्नुभएको छ । उनको भाइटल तथा ल्याब सामान्य रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान दिने उनीकी भाञ्जी समीक्षा संग्रौलाको स्वास्थ्यावस्था पनि राम्रो हुँदै गएको अस्पतालले जनाएको छ ।