मेलबोर्न, फागुन २५ : अस्ट्रेलियामा जारी टी–२० महिला विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारतबीच मेलबोर्न क्रिकेट मैदान (एमसिजी)मा आइतबार भइरहेको फाइनल खेलमा अस्ट्रेलियाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १८४ रन बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि बेथ मूनीले व्यक्तिगत ७८ र अलिसा हिलीले ७५ रन बनाउनु भएको थियो । महिला क्रिकेट विश्वकपको फाइनलमा भारत पहिलो पटक पुगेको हो । एमसिजीमा ८० हजारभन्दा बढी दर्शकका सामुन्ने खेल्नुपर्ने चुनौती भारतसमक्ष छ ।
अर्कोतर्फ, अस्ट्रेलियाले महिला विश्वकप उपाधि चार पटक जितिसकेको छ । हरेक पटक खेलिएका विश्वकपमा अस्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको छ । भारतीय टोलीमा शफाली बर्मा, स्मृति मन्धना, तनिया भाटिया, जमिमाह रोड्रिगेज, हर्मनप्रित कौर (कप्तान), वेदा कृष्णमुर्ती, दिप्ती शर्मा, शिखा पाण्डे, राधा यादव, पूनम यादव र राजेश्वरी गायकवाड रहनुभएको छ ।
अस्ट्रेलियाली टोलीमा एलिजा हिली, बेथ मूनी, मेग ल्यानिङ, जेस जोनासन, अस्ले गार्डनर, राचेल हेनिस, निकाला केरी, सोफी मोलिनक्स, जर्जिया वेयरह्याम, डेलिसा किमिन्स र मेगान सूट रहनु भएको छ ।