होलीमा लोला हान्ने, रङ दल्ने काम नर्गन गृहको आग्रह

  फागुन २५, २०७६

काठमाडौँ, फागुन २४ : गृह मन्त्रालयले फागुपूर्णिमा तथा होली पर्वको अवसरमा विगतका वर्षहरूमा जस्तै यो वर्ष भेला हुने, भीडभाड गर्ने, लोलापानी हान्ने, शरीरमा रंङ र अबिर दल्ने कार्य बन्द गर्न अनुरोध गरेको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन उच्च सतर्कता अपनाउनु पर्ने भएकाले बढी भीडभाड हुने प्रकृतिको कुनै पनि सभा, सम्मेलन, भेला तथा भीडभाड बढ्ने कार्यक्रमहरू नगर्न र सहभागी नहुन अनुरोध गरेको हो ।

गृह प्रवक्ता केदारनाथ शर्माले संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन आमनागरिकले ब्यक्तिगत स्वास्थ्य सतर्कता अपनाउन अनिवार्य भएकाले होली पर्वमा भिडभाड, पानी खेल्ने र रङ छयाप्ने कार्य नगर्न अनुरोध गर्नुभयो ।

आम नागरिकबीचको आपसी समन्वय, सहयोग र सतर्कताले कोभिड–१९ को संक्रमणलाई नेपाल भित्रिन नदिन सहयोग पुग्ने छ । सरकार पनि संक्रमण भित्रिन नदिन हरेक उपाय अवलम्वन गर्न प्रतिवद्ध रहेको मन्त्रालयद्धारा शनिवार जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ संक्रमणका सम्वन्धमा अनावश्यक हल्ला र भ्रम फैलाइ उपभोग्य बस्तुको खरिद र भण्डारणमा कुनै किसिमको हतार नगर्न, कालोवजारी, मूल्यवृद्धि र कृतिम अभाव गरेको पाइएमा सम्वन्धित निकायमा सम्पर्क गरी गलत कार्यलाई निरुत्साहित गर्न अपिल गरेको छ ।

त्यस्तैं, सार्वजनिक सञ्चार माध्याम र सञ्चारकर्मीहरुलाई पनि सत्य र तथ्यपरक सूचना प्रवाह गरी आम जनमानसमा त्रासदिपूर्ण अवस्था सिर्जना हुन नदिने किसिमको जिम्मेवारी वहन गर्न गृह प्रवक्ता शर्माले आग्रह गर्नुभयो ।

हाल, नेपालमा कोभिड–१९ को संक्रमण भएका ब्यक्तिहरू पत्ता लागेको छैन । तरपनि यस सम्वन्धमा उत्पन्न गरिएका हल्ला र प्रचारवाजीका पछाडि नलागी कोभिड–१९ रोगको लक्षण र सर्ने अवस्था र बच्ने उपायका वारेमा जानकारी लिन आह्वान गरिएको छ ।

विशेष गरी ज्वरो, सुख्खा खोकी, स्वासप्रस्वासमा समस्या आउनु कोभिड–१९ को लक्षण रहेका छन् । मन्त्रालयका अनुसार, रोगको छिटो पहिचान, संक्रमित ब्यक्तिले समयमा नै उपचार गराएका संक्रमणको जोखिमबाट मुक्त हुने सम्भावना रहेको छ ।

त्यस्तैं, घरपरिवार, ब्यक्ति र समुदायले सावधानीका उपायहरू अवलम्वन गरेमा यस्को संक्रमण रोक्न सकिन्छ । सरकारले पनि देशको सीमा नाका, अन्तराष्ट्रिय आवात जावत केन्द्रहरूमा प्रभावकारी स्वास्थ्य परीक्षण, रोगको निगरानीकक्ष, अस्पतालहरूमा पूर्वतयारी लगायत रोकथामका विविध गतिविधि सञ्चालन गर्दै आएको छ ।

गृह प्रवक्ता शर्माले हर्षोउल्लासका मनाइने फागु पर्व आफ्नै घर आगन तथा घर परिवारका सदस्यहरूबीच आपसी सद्भाव, भाइचारा अभिबृद्धि गरी मनाउन आग्रह गर्नुभयो । होलीका नाममा लोलापानी, अविर दल्ने र पानी फाल्ने कार्यले कोभिड–१९ को संक्रमण हुन सक्ने तर्फ सतर्क रहन अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया