बाक्सिला र सोल्मा स्पोर्टस् क्लब फाइनलमा

  फागुन २४, २०७६

खोटाङ, फागुन २४ : केपिलासगढी गाउँपालिकास्थित बाक्सिलाबजारमा जारी ‘बाक्सिला गोल्डकप’को ११औँ संस्करणमा आयोजक बाक्सिला फुटबल क्लब र सोल्मा स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेको छ ।

शनिबार दिउँसो भएको सेमिफाइनल खेलमा साविक विजेता खारम्बु स्पोर्टस क्लबलाई शून्यका विरुद्ध दुई गोल गर्दै आयोजक बाक्सिला फुटबल क्लब तथा हलेसी तुवाचुङ स्पोर्टस क्लबलाई दुईका विरुद्ध तीन गोल गर्दै सोल्मा स्पोर्टस क्लब फाइनल प्रवेश गरेको हो ।

जिल्लाकै सर्वाधिक ठूलो राशिको गोल्डकपको फाइनल खेल भोलि (आइतबार) हुने बाक्सिला फुटबल क्लबका अध्यक्ष शिवकुमार राईले बताउनुभयो । अध्यक्ष राईका अनुसार गोल्डकपको ११औँ संस्करणका विजेता टोलीले नगद रु दुई लाख ११ सहित गोल्डकप, मेडल र प्रमाणपत्र हात पार्ने जनाइएको छ ।

प्रतियोगिताका उपविजेताले नगद रु ९९ हजार ९११ सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा सेमिफाईनलिस्ट दुई टोलीले जनही नगद रु २० हजार ११ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । फुटबल खेलको व्यावसायिक विकासको लक्ष्य लिएर विसं २०६२ देखि सञ्चालन हुँदै आएको प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही रु ११ हजार १११, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार ११ प्रदान गरिने बताइएको छ ।

प्रतियोगितामा खारम्बु स्पोर्टस क्लब, बाक्सिला फुटबल क्लब, सोल्मा स्पोर्टस क्लब, नेर्पा स्पोर्टस क्लब, हलेसी तुवाचुङ स्पोर्टस क्लब, जन्तेढुंगा स्पोर्टस क्लब, खोटाङ भगवती स्पोर्टस क्लब र हलेसी खेलकूद विकास समितिको सहभागिता थियो । गोल्डकपका लागि केपिलासगढी गाउँपालिकाले रु पाँच लाख आर्थिक सहयोग गरेपछि क्लबले प्रतियोगिताको नाम ‘११ औँ केपिलासगढी बाक्सिला रनिङ गोल्डकप’ राखेको छ ।

जिल्लामा फुटबल खेलको व्यावसायिक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रवद्र्धन गर्न ‘बाक्सिला गोल्डकप’लाई निरन्तरता दिइएको क्लबका सचिव पवन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई प्रोत्साहनस्वरुप जनही रु २०÷२० हजार उपलब्ध गराइएको जनाइएको छ ।

मोफसलमा फुटबलको व्यावसायिक विकासका लागि विगत १५ वर्षअघि शुरु गरिएको ११औँ संस्करणको प्रतियोगिता फागुन २२ गते प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विशाल भट्टराईले उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा उहाँले भन्नुभयो, “फुटबल खेल अधिकांश दर्शकको रोजाइमा पर्दछ । जिल्लाकै एक मात्र यो गोल्डकपलाई आगामी दिनमा पनि निरन्तरता दिन आफ्नो क्षेत्रबाट सकेको सहयोग हुनेछ ।”

खेलमैदान अभावमा स्थानीय पृथ्वी माविको खेलमैदानमा सञ्चालन हुँदै आएको बाक्सिला गोल्डकप तथा विभिन्न प्रतियोगिता सञ्चालन गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेलमैदान निर्माणको काम थालिएको गाउँपालिकाले जनाएको छ । खेलमैदानका लागि स्थानीय छ जना दाताले ३३ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि बहुउद्देश्यीय खेलमैदान निर्माणको शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

पाँच वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण शुरु गरिएको खेलमैदानका लागि संघ तथा प्रदेश सरकारबाट रु एक करोड ३० लाख बजेट उपलब्ध भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । खेलमैदान निर्माण सम्पन्न गर्न रु ९२ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

तपाईको प्रतिक्रिया