मंगलबारे, फागुन २४ : इलाममा जारी छैटौँ माईभ्याली गोल्डकपको उपाधि मच्छिन्द्र क्लब काठमाडौँले हात पारेको छ । आयोजक माईभ्याली क्लब इलामलाई १–० गोलअन्तरले हराउँदै सो मच्छिन्दले उपाधिमाथि कब्जा जमाएको हो । मच्छिन्द्रको जितमा विदेशी खेलाडी निया एन्ड्रेसले गोल गरेका हुन् । उपाधिसँगै मच्छिन्द्रले नगद रु आठ लाख र उपविजेता बनेको माईभ्यालीले रु पाँच लाख प्राप्त गरेको छ ।
वर्षाले बिथोलिएको खेलमा खेलको दोस्रो हाफपछिको इन्जुरी समयको सदुपयोग गर्दै मच्छिन्द्रलाई उपाधि दिलाएका हुन् । हाफपछिको समयमा खेलाडीले भारी बर्षाका बीच खेल खेल्नुपरेको थियो । खेलको १२औँ माईभ्यालीका छिरिङ गुरुङले गोलको राम्रो अवसर गुमाए । २२औँ मिनेटमा मच्छिन्द्रका रेजिङ सुब्बाको प्रहार आकाशियो । ४३औँ मिनेटमा मच्छिन्द्रका विमलले गोलको अवसर गुमाए ।
प्रतियोगितमा डिफेन्डर माइभ्यालीका छिरिङ गुरुङ उत्कृष्ट बने । किपर आयोजकका देव लिम्बू मिडफिल्डर मच्छिन्द्रका योगेश गुरुङ, उत्कृष्ट फरवार्ड मच्छिन्द्रका निया एन्डेस बने । उत्कृष्ट सबैले समान रु २५ हजार प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक टोलीका शरण बस्नेत घोषित भए । उनले नगद रु एक लाख १५ हजार प्राप्त गरे ।
उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका प्रवेश कटुबाल बने । उनले नगद रु २५ हजार प्राप्त गरे । विजेतालाई पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, एन्फा अध्यक्ष कर्मा छिरिङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । शहीद स्मारक ए डिभिजन लिगपछि झापामा सताक्षी गोल्डकप जितेको मच्छिन्द्रले माईभ्यालीसहित सिजनका तीन उपाधि जितेको छ ।