आर्थिक क्रान्ति मुलुकको आवश्यकता : भट्टराई

  फागुन २४, २०७६

काठमाडौँ, फागुन २४ : समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक क्रान्ति मुलुकको आवश्यकता रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासंघको प्रथम घोषणासभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पूँजीको पहुँच साना र मध्यम व्यवसायीसम्म लगेमात्र देशको विकास हुने बताउनुभएको हो ।

“पुँजीवादको विकास नगरी समाजवाद आउँदैन, उत्पादनशील क्षेत्रमा लगानी गरेर समाजको विकास गर्नु जरुरी छ”, पूर्व प्रधानमन्त्री भट्टराइर्ले भन्नुभयो । वर्तमान सरकार कछुवाको गतिमा अगाडि बढेको र आर्थिक क्षेत्रको विकासमा दुई वर्ष खेर फालेको उहाँले आरोप लगाउनुभयो ।

पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विश्वको सम्भावनायुक्त देश भएकाले यहाँ भएका प्राकृतिक सम्पदाको सही सदुपयोग गरी देश विकास गर्नुपर्ने बताउनुभयो । भ्रष्टचारमुक्त र सुशासनयुक्त मुलुक निर्माणमा समाजवादी पार्टी लागेको उहाँको भनाइ थियो । पार्टी बौद्धिक पेशागत संघका इन्चार्ज नगेन्द्र प्रधान, नेवाः परिषद्का इन्चार्ज पञ्चलाल महर्जनले मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएको उल्लेख गर्नुभयो ।

महासंघका अध्यक्ष कमला गुरुङले युवालाई स्वदेशमा रोजगारी प्रदान गर्ने माध्याम सरकारले निर्माण गर्नुपर्ने बताउनुभयो । महासंघका उपाध्यक्ष अन्जनकुमार शाक्यले व्यवसायीको हकहितका लागि विभिन्न नौ विषयगत समिति गठन गरिएको जानकारी दिनुभयो । पार्टी केन्द्रीय सदस्य आङदेन्जी शेर्पाले विभिन्न विषयगत समितिका अध्यक्ष तथा सदस्यलाई शपथग्रहण गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया