बाउबाजेको पालको ऋणले थिच्याे, गाउँ नै छाड्न बाध्य

  फागुन २३, २०७६

खलङ्गा, फागुन २३ : बाजेको पालादेखि साहुको ऋण बोक्दै आउनुभएका जाजरकोट भेरी नगरपालिका वडा नं ११ कट्टिगाउँका दलित समुदाय ऋण तिर्न नसेर गाउँ छोडेर बिस्थापित भएका छन् । बाबु, बाजेको पालादेखि साहुबाट लिएको ऋणको व्याज तिर्नपनि जीवन भरको को कमाइले पुग्न नसक्ने भएपछि दलित समुदाय गाउँ छोड्न बाध्य भएको हो ।

वडा सदस्य नन्दबहादुर बिकले साहुको ऋण तिर्न नसकेर आफ्नो घरजग्गा साहुलाई दिएर धर्मबहादुर वर पाँच जनाको परिवारसहित भारततिर जानुभएको बताउनुभयो । उहाँका अनुसार दुई बर्ष पहिला कट्टीगाउँ छोडेका धर्मबहादुर अहिले भारतको कुन ठाउँमा हुनुहुन्छ ? कुनै पत्ता लाग्न सकेको छैन ।

वर जस्तै गोब्लो लुहारले पनि एक बर्ष पहिला घरजग्गा साहुलाई दिएर गाउँ छोडी सक्नुभएको छ । ६ जनाको परिवारसहित कट्टीगाउँ छोड्नुभएका लुहारले बर्दिया कोठियाघाटको ऐलानी जग्गा खनेर बसोबास गरिरहेको उहाँका छिमेकीले जानकारी दिनुभयो ।

यस्तै वीरभान वरको परिवार पनि ६ महिना पहिला गाउँ छोडेको छ । ऋण तिर्न नसकेपछि घरजग्गा साहुलाई दिएर चार जना परिवार कट्टीगाउँ छोडेर भारत जानुभए पनि अहिलेसम्म उहाँहरुको अवस्थावारे केही पत्ता लाग्न सकेको छैन ।

सोही ठाउँका मागे सुनार पनि ऋण तिर्न नसकेकै कारण घरजग्गा साहुकै नाममा नामसारी गरेर परिवारसहित भारत पस्नुभएको छ । चार महिना पहिले चार जनाको परिवारले गाउँ छोडेको थियो । उहाँको अवस्था पनि अज्ञात छ ।

साहुको ऋण तिर्न नसकेर गाउँअ छोड्न बाध्य भएका यी त प्रतिनिधि उदाहरण मात्र हुन् । कट्टीगाउँका १२० घरधुरीका दलित समुदाय मध्ये धेरैजसोले साहुबाट ऋण लिएका छन् । वडा सदस्य नन्दबहादुर विकका अनुसार साहुबाट पाँचलाख देखि आठ लाखसम्म ऋण नलिने कोही छैनन् ।

दलित अगुवा तथा भेरी नगरपालिकाका नगरकार्यपालिका सदस्य पार्वती विकले यहाँका दलित समुदाय बत्तीमुनिको अँध्यारो भएको र त्यस समुदायका लागि राज्यले विशेष कार्यक्रम संचालन गरी आयआर्जनको माध्यमबाट आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । उहाँले विगतमा त्यस्तो अवस्था भए पनि आगामी दिनमा भारत पलायन हुन नदिन विभिन्न रोजगार मूलक कार्यक्रम स्थानीय तहले ल्याउने जानकारी दिनुभयो ।

हालसम्म कट्टीगाउँबाट सरकारी जागिर खानेहरू मध्येका दिपक बिकमात्र एक जना हुनुहुन्छ । २०६० सालमा नेपाली सेनाको जवानमा भर्ती हुनुभएका दीपकले जागिर खाएपछि भेरी नगरपालिका–१३ कुदुमा घरजग्गा किनेर बसाई सराई गरिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया