सुर्खेत, फागुन २३ : कर्णाली उत्सवमा एउटा रोचक सत्र थियो, ‘कर्णालीका एघार जिल्ला’ । पत्रकार टीकाराम यात्रीले सञ्चालन गरेको सत्रमा राउटे महामुखिया महिनबहादुर शाही, त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्रमुख डा डम्बर चेम्जोङ, ‘राउटे भान्जी’का नामले परिचित सत्यदेवी अधिकारी र दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वली ।
कर्णाली प्रदेशमा १० जिल्ला छन् । तर, कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे समुदायको खास विशेष जिल्ला छैन । राउटेहरुले अहिलेसम्म नागरिकता लिएका छैनन् । स्थायी बसोबास र आधुनिक जीवनशैलीदेखि टाढै छन् । उत्सव आयोजकले कर्णालीको पहिचानका रुपमा रहेको राउटे समुदाय र संस्कृतिको जर्गेनाका लागि बहस गर्ने उद्देश्यले ‘कर्णालीका एघार जिल्ला’ नामक सत्र छनोट गरेको हो ।
बहसमा गुराँस गाउँपालिकाका अध्यक्ष वलीले राउटेलाई बसाइँ सर्दा पनि बोकेर लैजान मिल्ने खालका ‘प्रिफ्याब’ मोडलका घर बनाउन तयार रहेको बताएलगत्तै पत्रकार यात्रीले महामुखिया महिनबहादुरलाई सोध्नुभयो, बस्नुहुन्छ गाउँको सरकारले बनाइदिएको घरमा ? महामुखियाले ठाडै इन्कार गर्दै भने, ‘जङ्गलै प्यारो लाग्छ त क्या गरौँ ।’ उनले आफूहरु ‘जङ्गलको राजा’ भएकाले जङ्गलमै बस्ने अडान दोहो¥याउनुभयो । अध्यक्ष वलीलाई उल्टै प्रश्न गरे , ‘हामी तपाईँहरुलाई गाउँ–शहरका राजा मान्न तयार छौँ भन्या हाम्लाई जङ्गलका राजा मानिदिन के को अप्ठ्यारो ?’
मानवशास्त्री चेम्जोङले राज्य र राज्यभित्रको खस आदिवासी समुदायको द्वन्द्वात्मक सम्बन्ध, एक–अर्कालाई बुझ्ने तर आफ्नै विशेषतामा अडिग रहने विचित्रको स्वभाव राउटे समुदायको रहेको बताए । ‘फरक जीवनशैली, फरक भाषा बोल्नेबाट हामीले के सिक्ने ? विविध समस्या हल गर्न फरक समुदायबाट बुझ्न, फरकपनलाई आत्मसात गर्नैपर्छ’, उनले भने, ‘अबको राज्य व्यवस्थाले राउटेले कुन जीवनशैली रुचाउँछन्, त्यसैअनुसार प्रशासनिक व्यवस्थापन गर्नुपर्छ, शासकले आफ्नो सहजताका लागि होइन, राउटेजस्ता आदिवासीको सहजताका लागि प्रशासनिक व्यवस्थापन गर्नुपर्छ ।’
त्यस्तै, ‘राउटेकी भान्जी’ का उपनामले परिचित अधिकारीले राउटेलाई सामाजिकीकरण गर्न आवश्यक भइसकेको धारणा व्यक्त गरे । दैलेखको गुराँस गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको यो समुदाय त्यहाँ हिउँ परेपछि हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ र बराहताल गाउँपालिका–९ को जङ्गलमा बसाइँ सरेको छ ।