प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल : स्वास्थ्य अवस्था खतरामुक्त

  फागुन २२, २०७६

काठमाडौं, २२ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको छ। ६९ वर्षीय ओलीको त्रिवि शिक्षण अस्पतालमा झन्डै पाँच घण्टा लगाएर सफल प्रत्यारोपण गरिएको हो।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रत्यारोपित मिर्गौलाले काम गर्न सुरु गरिसकेको बताए। प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान दिएकी हुन्। ३२ वर्षीया संग्रौलाको स्वास्थ्य स्थिति सामान्य रहेको निर्देशक डा. खड्गाले जानकारी दिए।

ओलीको ०६४ सालमा पहिलोपटक भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई सोमबार साँझ अस्पताल भर्ना गरिएको थियो। संग्रौलाको बायाँ मिर्गौला झिकेर ओलीलाई बायाँपट्टि प्रत्यारोपण गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने ओली नवौं व्यक्ति हुन्।

स्वास्थ्य अवस्था स्थिर

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर छ। उनलाई शल्यक्रिया गरेको झन्डै एक घण्टापछि अति सघन उपचार कक्ष (आईसीयूमा) मा सारिएको थियो। कार्यकारी निर्देशक खडगाले भने, ‘सबै स्वास्थ्य सूचकांक राम्रो अवस्थामा छन्।’ प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण कक्षमा राखी उपचारलाई निरन्तरता दिइने डा. खड्गाले जानकारी दिए।

उनलाई सातदेखि १० दिनसम्म अस्पतालमै राख्नुपर्ने प्रत्यारोपणमा संलग्न एक चिकित्सकले बताए। उनले भने, ‘कम्तीमा एक साता अस्पतालमै रहनुपर्ने हुन्छ। प्रत्यारोपणपछि शरीरले ग्रहण गरेको नयाँ मिर्गौलाले के कसरी कार्य गर्छ, त्यसमा भर पर्छ।’

अघिल्लोपल्ट प्रत्यारोपित मिर्गौलाले काम गर्न नसकेपछि ओलीले डायलासिस गराउँदै आएका थिए। अहिले प्रत्यारोपणका क्रममा पहिलेका तीनवटा मिर्गौला शरीरमै छोडिएको छ। अब ओलीको शरीरमा ४ वटा मिर्गौला भएका छन्। पहिलोपल्ट प्रत्यारोपण गर्दा दायाँतिर राखिएको थियो भने अहिले बायाँतिर राखिएको छ।

उत्साहित सर्जन

प्रत्यारोपणमा संलग्न सर्जन एवं चिकित्सक उत्साहित देखिएका छन्। बिहान १० बजेतिर प्रधानमन्त्री ओलीलाई अप्रेसन थिएटरभित्र लगिएको थियो। सुरुमा शल्यक्रिया गरेर संग्रौलाको मिर्गौला झिकिएको थियो। त्यसपछि ओलीको शरीरमा प्रत्यारोपण गरिएको थियो।

मिर्गौला प्रत्यारोपण भएलगत्तै पिसाब लागेपछि वरिष्ठ युरोलोजिस्ट एवं प्रत्यारोपण सर्जन प्रा.डा. प्रेम ज्ञवाली प्रसन्न देखिन्थे। उनले भने, ‘बधाई छ, सबैलाई। हामी खुसी र उत्साहित भएका छौं।’

प्रत्यारोपणमा शिक्षण अस्पतालका युरोलोजी विभागका विभागीय प्रमुख तथा वरिष्ठ युरोलोजिस्ट एवं प्रत्यारोपण सर्जन प्रा.डा. उत्तमकुमार शर्माले नेतृत्व गरेका थिए। अन्य चिकित्सकमा विभागका पÒर्वविभागीय प्रमुख डा. प्रेम ज्ञवाली र भारतबाट आएका डा. अनन्त कुमार लगायत थिए। डा. अनन्त ओलीलाई पहिलोपटक प्रत्यारोपण गर्दा संलग्न थिए।

प्रत्यारोपण चिकित्सा टोलीमा नेफ्रोलोजीतर्फ प्रा.डा. दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली सहभागी रहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ एनेस्थेसियोलोजी विभागका विभागीय प्रमुख डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवास आचार्यलगायत सहभागी थिए। मिर्गौला प्रत्यारोपण गर्न झन्डैै पाँच घण्टा लागेको थियो। यस्तै शिरा र धमनी जोड्न ३९ मिनेट लागेको थियो।

जोखिम कति छ ?

प्रधानमन्त्री ओली जोखिममुक्त छैनन्। वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीका अनुसार ओलीको शरीरमा चारवटा मिर्गौला रहेको हुनाले जोखिम बढी भएको हो। प्रत्यारोपण गर्दा नयाँ र पुरानो मिर्गौला शरीरमै रहेकाले बेलाबखत विकार उत्पन्न हुन सक्छ। ‘यस्तो समयमा शरीरको एन्टिबडीले प्रत्यारोपण गरिएको मिर्गौलालाई आक्रमण गर्न सक्ने खतरा हुन्छ’, सायमीले भने। प्रत्यारोपण गरेको व्यक्तिसँग रोगसँग लड्ने क्षमता कम हुन्छ। त्यसैले विभिन्न संक्रमण हुने सम्भावना धेरै हुन्छ।

उनले एक सातासम्म संक्रमणबाट जोगाउनु चुनौती रहेको बताए। उनले भने, ‘यतिधेरै मिहिनेत गरिएको छ। आइसोलेसनमा राखेर औषधि चलाइन्छ।’ शरीरको सम्पुर्ण स्वास्थ्य जाँच गरेर सबै विधाका विशेषज्ञ चिकित्सकले उपयुक्त हुने ठहर गरेपछि प्रत्यारोपण गरिएको डा. सायमीले बताए।

प्रत्यारोपण गर्नुअघि प्रधानमन्त्रीले एक सातापछि क्याबिनेट बैठक बोलाउँछु भनेर आँट देखाएको स्मरण गर्दै डा. सायमीले भने,‘ आत्मबल दह्रो छ। हिम्मत मात्र भएर भएन। शारीरिक अवस्था के कस्तो हुन्छ ? त्यो पनि हेर्नुपर्ने हुन्छ।’ प्रत्यारोपण गरेको व्यक्तिसँग रोगसँग लड्ने क्षमता कम हुन्छ। त्यसैले विभिन्न संक्रमण हुने सम्भावना धेरै हुन्छ।

एक सातासम्म आइसोलेसनमा

ओलीलाई एक सातासम्म उपचारमा संलग्न चिकित्सक बाहेक अरूले भेट गर्न पाउने छैनन्। उनलाई आइसोलेसनमा राखेर उपचार गरिनेछ। ‘संक्रमणबाट जोगाउन चिकित्सकबाहेक आफन्त वा नेता कसैलाई पनि भेट गर्न दिइँदैन’, डा. सायमीले भने।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेका अनुसार प्रधानमन्त्री ओली कोरोना भाइरसको संक्रमणबाट डराउनु नपर्ने बताए। ‘मुटु, कलेजो, फोक्सो स्वस्थ छ भन्ने देखेपछि प्रत्यारोपण गरिएको हो’, उनले भने, ‘मेडिसिनमा शतप्रतिशत ग्यारेन्टी दिन सकिँदैन। शरीरले साथ दिएमा थप १५–२० वर्ष बाँच्न सकिन्छ।’

सरकारी पैसामा विदेश जान रोक्नुपर्ने

वरिष्ठ चिकित्सकहरूले मिर्गौला प्रत्यारोपणमा स्वदेशकै चिकित्सा पुर्वाधार र जनशक्ति सक्षम रहेको प्रमाणित भएको बताएका छन्। उनीहरूले ठूला नेता वा पहुँचवाला व्यक्ति सरकारी पैसामा विदेश जानु नपर्ने बताए।

जटिल खालको शल्यक्रियाका रुपमा लिइने मिर्गौला र कलेजो प्रत्यारोपण स्वदेशमै हुन थालेको छ। ‘सबै किसिमको उपचार स्वदेशमै हुन्छ। सरकारी पैसामा उपचारका लागि विदेश धाउनु पर्दैन’, डा. सायमीले भने। नेपालमा १५ सयभन्दा बढीको मिर्गौला प्रत्यारोपण भइसकेको छ।

‘छोरीको हिम्मत देख्दा खुसी लाग्यो’

प्रधानमन्त्री ओलीलाई दोस्रो पटक मिर्गौला दान दिएर समीक्षा संग्रौला चर्चित भएकी छन्। उनका पति कमल नेपाली सेनामा कार्यरत छन्। उनको माइती झापा हो। घर पाल्पा हो। उनका आमा मुना र बुवा मेदनीले छोरीको निर्णयलाई साहसिक कार्यको संज्ञा दिएका छन्। आमा मुनाले भनिन्, ‘स्वास्थ्य लाभको कामना गर्छौं। छोरीले हिम्मत देखेर खुसी लागेको छ। हामी पशुपतिनाथसँग प्रार्थना गर्छौं, उनलाई एकदम राम्रो होस् !’ बुवा मेदनीले पनि प्रधानमन्त्री ओली र छोरी समीक्षाको स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्री ओलीलाई पहिलोपटक भाइबुहारी नाता पर्ने अञ्जना घिमिरेले मिर्गौला दान दिएकी थिइन्। प्रधानमन्त्री ओलीले भान्जीको मिर्गौलाका कारण दोस्रो जीवन पाएकोमा उनी पनि प्रसन्न देखिन्थिन्। त्रिवि शिक्षण अस्पतालमा भेटिएकी उनले भनिन्, ‘भर्ना हुनुअघि उहाँ (प्रधानमन्त्री) लाई भेटेकी थिएँ। यतिका वर्षसम्म तिम्रै मिर्गौलाले काम गरेको छ भन्नुभयो।’

चिकित्सक गौरवान्वित

चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. जगदीश अग्रवालले संस्थानमै अध्ययन गरेका चिकित्सकले मुलुकको कार्यकारी प्रमुखको सफल प्रत्यारोपण गरेकोमा निकै खुसी लागेको बताए। उनले भने, ‘शैक्षिक पहिलो र सेवा दोस्रो भाग हो। शैक्षिक अवस्था राम्रो भएकाले नै सेवा पनि उत्कृष्ट हुन पुगेको हो। मलाई गर्व महसुस भइरहेको छ।’

९८.९ प्रतिशत सफल

प्रा.डा. प्रेमकृष्ण खड्गा, कार्यकारी निर्देशक, त्रिवि शिक्षण अस्पताल

हामीले हरेक साता बुधबार मिर्गौला प्रत्यारोपण गर्दै आएका छौं। यो हाम्रो रुटिन हो। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण पनि त्यसकै निरन्तरता हो। सफलता दर पनि उच्च छ। दुई पटक मिर्गौला प्रत्यारोपण गरेका सबै केस सफल छन्। अस्पतालमा सात सय हाराहारीमा मिर्गौला प्रत्यारोपण सफल भएको छ। ९८. ९ प्रतिशत सफल दर रहेको हामीले भन्ने गरेका छौं। प्रत्यारोपण सफल भए पनि नयाँ मिर्गौलाले स्वीकार गर्न नसकेकोमा मृत्यु हुने गरेको छ।

नेपाली चिकित्सकको टिमले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि नेपाली चिकित्सक उत्साहित छन्। मिर्गौला प्रत्यारोपणका लागि विदेश जानुपर्दैन भन्ने सन्देश दिएको छ। (कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया