कमलदह नजिकै मृग फेला

  फागुन १९, २०७६

रुकुमपूर्व, १९ फागुन : रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ कमलदह नजिकै मृग (रतुवा) फेला परेको छ ।

डिभिजन वनकार्यालय रुकुम (पूर्व)का डिभिजनल वन अधिकृत बेसिन्द्रराज सुवेदीले दहमा पानी खाएर फर्कदै गरेको (दारे) भाले मृग दहतीर घुम्न निस्किएको वेलामा आइतबार फेला पारेको हो । नेपाली सेनाको सहयोगमा मृगलाई नियन्त्रण लिएको डिभिजनल वन अधिकृत सुवेदीले बताउनुभयो ।

मानिसलाई देखेर अताल्लिएर भाग्न खोजेपछि तारको जालीमा ठोक्किएर मृगको मुखमा चोट लागेको सहायक वन अधिकृत सुजन राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मृगको उपचार भइरहेको र वन कार्यालयमा सुरक्षित राखिएको छ । मृगलाई आज वनमा लगेर छोडिने पनि उहाँले जानकारी दिनुभयो ।

पछिल्लो चरणमा मृग बजारतिर झरिरहेका छन् । गएको महिना पनि वन कार्यालय बसेको घरकै रेलिङमा अल्झिएको अवस्थामा मृग फेला परेको थियो । जङ्गलमा मान्छेको चहलपहल, खानाको अभाव, पानीका मुहान सुक्दै जानुका कारण जङ्गली जनावर बस्तितिर झर्न थालेका हुन् ।

तपाईको प्रतिक्रिया