बलेवा, १९ फागुन : बागलुङ र पर्वतको सिमाना मालढुङ्गाबाट बेनी बजार जाने बाटो छेवैमा पर्छ पर्वत बेनीको जुगेधारा खेल मैदान । मैदानभन्दा तल कालीगण्डकी नदी, मैदानको ठिक माथि ढुङ्गा–बेनी–जोमसोम सडक खण्ड छ ।
सडकमा गाडी गुड्न छोडेका छैनन्, कालीगण्डकीमा धेरै पानी बगेर गयो । सडक र कालीगण्डकी दुवैको चेपुवामा परेको यो जुगेधारा खेल मैदानले पनि धेरै आरोहअवरोह पार गरेको छ । पर्वत बेनीका युवापुस्ताका लागि कुनै पनि खेल खेल्ने मैदान छैन । नत बालबालिकाले खेल अभ्यास गर्ने फराकिलो ठाउँ । युवा तथा बालबालिकाको हितलाई मध्यनजर गरेरै कालीगण्डकी तिरमा रहेको सार्वजनिक जग्गालाई उपयोग गरेर यहाँ खेल मैदान बनाउन थालिएको हो ।
२०६३ सालदेखि यो मैदान बनाउने काम शुरु भयो । पर्वत बेनीबजारमा व्यवसाय गर्ने व्यवसायी तथा समाजसेवीको सक्रियतामा बगरबाट मैदानको रुप धारण गरेको यो मैदान कहिले नदी कटान, कहिले खानेपानीको पाइपलाइन त कहिले सडकको ढुङ्गामाटो छेक्ने ढाल बन्दै आएको छ ।
बेला बेलामा बाढीको शिकार हुने यो मैदान २०६९ सालमा खानेपानीको शिकार भयो । यही मैदानको बाटो भएर निर्माण भएको पर्वत बेनी लिफ्टिङ खानेपानी आयोजनाले धेरै वर्ष मैदानको विकासमा बाधा पुर्यायो । गत वर्षबाट स्तरोन्नति भइरहेको ढुङ्गा–बेनी सडकको कामले पनि फेरि यही मैदानमा अवरोध गर्यो ।
उ बेला जुगेधारा खेलकूद मैदान निर्माण समिति बनाएर काम भएको थियो । पहिलो चरणको कामका लागि तत्कालीन संविधानसभा सदस्य कल्पना चापागाईंले संसद् विकास कोषबाट ५० हजार बजेट दिएपछि मैदानको विकास गर्न केही सजिलो भएको थियो । ‘बगरलाई मैदानजस्तो बनाएर जसोतसो काम चलेको थियो’, तत्कालीन निर्माण समितिका अध्यक्ष मोहन केसी भन्छन्, ‘चेपुवामा परेर मैदानमा सधैँ समस्या आइलाग्छ ।’
पर्वत बेनीमा व्यवसाय गर्ने, विदेशमा रहेका र समाजसेवीले आर्थिक सहयोग गरेर मैदान बनाएका थिए । ‘हामीलाई खेल्ने ठाउँ खै ? भनी बालबालिका सोध्छन्, हामीसँग जवाफ नै नहुने’, मैदान निर्माणका अभियन्ता नगेन्द्र थापा भन्छन, ‘अब त उपयोगमा सहज होला भन्यो, फेरि अर्का समस्या आइलाग्छ ।’ पछिल्लो समय ढुङ्गा–बेनी सडक स्तरोन्नतिको क्रममा यो मैदानमा ढुङ्गामाटो थुपारिएको थियो । लामो समय निर्माण कम्पनी र सम्बन्धित कार्यालयले ध्यान नदिएपछि खेल मैदान निर्माण तथा व्यवस्थापन समितिले आफ्नै खर्चमा यो मैदान पुनः प्रयोग गर्न योग्य बनाएको छ ।
सडक डिभिजन, सडक निर्माण गरिरहेको कम्पनी र सरोकारवाला गुहार्दासमेत काम नभएपछि ऋण खोजेर मैदान पुनःनिर्माण गरेको थापा बताउँछन् । ‘हामीले ताकेता गरेपछि डिभिजन सडकले कम्पनीको धरौटी रोक्छु भनेको छ, निर्माण कम्पनीले काम गर्नुस् रकम दिन्छु भन्छ’, थापाले भने, ‘केही धन, केही ऋण गरेर मैदान बनाएका छौँ ।’
पुसको २ गतेबाट थालिएको पुनःनिर्माण माघमा सकियो । १५ लाख ५० हजार खर्च भएको छ । पुरानो समितिसँग रहेको एक लाख ७५ हजार, सडकले फालेका ढुङ्गा बिक्री गरेर पाँच लाख ६५ हजार र स्थानीय समाजसेवी लिलाधर अधिकारीले दिएको २५ हजार रुपैयाँबाहेक पुनःनिर्माणमा लागेको खर्च समितिमा रहेका पदाधिकारीको खल्तीबाट भएको छ ।
‘सामाजिक काम ऋणमा गरियो’, थापाले गुनासो गर्दै भन्नुभयो, ‘फिर्ता आउँला नआउँला तर खेल पारखीले मैदान त पाए नि ।’ नदीको छेउमा तटबन्ध गर्ने र माटो सम्याउने हो भने यो मैदान २० रोपनी क्षेत्रफलको हुन्छ । तत्कालका लागि ढुंगामाटो पन्छ्याएर समथर बनाएको जमिनमा स्टेडियम, सार्वजनिक शौचालय, भलिबल कोटलगायतका संरचना बनाउने सोच समितिले बनाएको छ । मोटामेटी हिसाबमा मात्रै यो मैदान व्यवस्थित बनाउन रु छ करोड खर्च हुन्छ ।
सडक बनाउँदा बिग्रिएका संरचना बनाउनु निर्माण कम्पनीको दायित्व हो । यो सडक स्तरोन्नति गरिरहेको त्रिशक्ति तिलक जेभीले खेलमैदान पुनःनिर्माणको खर्च व्यहोर्ने जनाएको छ । कम्पनी सञ्चालक निराजन भण्डारीले भन्नुभयो, ‘चैतसम्म सडकको प्रोजेक्ट सकिन्छ, सडकसँगै जिम्मेवारीमा रहेका संरचनाको काम गर्छौं ।’ निर्माण कम्पनीले भनेकोजस्तै चैतसम्ममा मैदानको समस्या सम्बोधन गरे मात्रै खेलमैदान निर्माण समिति ऋणमुक्त हुनेछ ।
सबैको चेपुवामा परेर कयौँ पटक पुनःनिर्माण गर्नुपर्ने अवस्था भोगेको जुगेधारा खेलमैदानको विकासका लागि स्थानीय पालिकाले पनि चासो देखाउन थालेको छ । जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले खेलमैदानको विकासमा गाउँपालिकाले सम्बोधन गर्ने बताउँछन् । राष्ट्रियसभाका अध्यक्ष गाणेश तिमिल्सिनाले पनि गृह जिल्लाको खेलमैदान भएकाले चासो देखाएको सरोकारवाला बताउँछन् ।