दैलेख, १६ फागुन : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारलाई जनताले दुई तिहाइ बहुमत दिएपनि जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।
पार्टीको प्रथम जिल्ला सम्मेलनको आज उद्घाटन कार्यक्रममा उहाँले सरकार प्रेसमाथि अङ्कुश लगाउने, मानव अधिकारमाथि हस्तक्षेप गर्नेजस्ता लोकतन्त्र विपरीतको चरित्र देखाउन थालेको उल्लेख गर्नुभयो ।
उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै ललिता निवास जग्गाकाण्डमा प्रतिशोधका आधारमा काँग्रेसका नेता विजयकुमार गच्छदारलाई फसाउन खोजिएको बताउनुभयो ।
जिल्ला सभापति कृष्णकुमार विसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्व राज्यमन्त्री गणेशबहादुर खड्काले वडा तहमा पार्टीका विचार र सिद्धान्तलाई लैजाने बताउनुभयो । सम्मेलनमा पार्टीका वडादेखि जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियो ।