सञ्चिता घिमिरे/शर्मिला पाठक
काठमाडौं, १५ फागुन
जनशक्तिसँगै उपकरणको प्रयोग गरी सवारी परीक्षण गर्ने उद्देश्यले सरकारले सवारी परीक्षण केन्द्र शुरुआत गरे पनि स्थापना भएदेखि नै यो सञ्चालनमा आउन सकेको छैन । सडक दुर्घटनाको प्रमुख कारणका रुपमा सवारी साधनको अवस्थालाई लिने गरिएकाले त्यो कम गराउन केन्द्रको स्थापना भएको हो । सवारीसाधनको सबै भागको आवश्यक जाँच गरी कुनै समस्या देखिएकामा त्यो पहिचान गर्ने काम केन्द्रले गर्छ । तर केन्द्रमा रहेको उपकरण बिग्रिएकाले अहिले प्रयोगमा आउन सकिरहेको छैन ।
लामो समयदेखि बिग्रिएर थन्किएको उपकरण मर्मत गर्न नसकिँदा त्यसलाई पुनःप्रयोगमा ल्याउन नसकिएको हो । सरकारले विसं २०६८ मा स्थापना गरेको केन्द्र लामो समयसम्म आवश्यक कानूनको अभावलगायतका कारणले सञ्चालन हुन सकेको थिएन । विसं २०७२ देखि उपकरण सञ्चालनको प्रयास गरिए पनि त्यति बेलासम्म बिग्रिएकाले त्यो पूर्णरुपले प्रयोगमा आउन नसकेको हो ।
उपकरण (प्लान्ट) ले काम नगरेकाले केन्द्रमा मानिसले नै गर्नसक्ने जाँच मात्रै भइरहेको इञ्जिनीयर सञ्जय थिङले बताउनुभयो । उहाँका अनुसार अहिले यहाँबाट साना सवारीसाधनको जाँच भइरहेको छ । ट्याक्सी, माइक्रो, ट्याम्पोलगायतका साना सार्वजनिक सवारीसाधनको मानिसबाटै (म्यानुअल) जाँच भइरहेको छ । उहाँले भन्नुभयो, “प्यान्टलाई हामीले प्रयोगमा ल्याउन सकिरहेका छैनौँ ।”
काठमाडौं महानगरपालिकाले सवारीसाधनको जाँचपास गराएर हरियो स्टिकर टाँसेपछि मात्रै चल्न दिने नियम बनाएको छ । त्यसैले पनि सवारीसाधन छ÷छ महिनामा आउने गरेका छन् । एकपटकमा आएर पास नभएका सवारीसाधनले आवश्यक मर्मत गरेर पुनःजाँचका लागि आउने गरेको उहाँले बताउनुभयो । केही समय पहिलेसम्म लामो दूरीका बसको पनि जाँच हुने गरेकामा हाल त्यो रोकिएको इञ्जिनीयर थिङले बताउनुभयो । ठूला बस जानका लागि सो स्थानमा जाम हुने भएकाले हालका लागि रोकिएको छ । निकट भविष्यमा चक्रपथ बाहिर पनि केन्द्र स्थापना गरेर ठूला सवारीसाधनको समेत जाँच गर्ने केन्द्रको योजना छ ।
हालका लागि १४ मात्रै दरबन्दी भए पनि भविष्यमा सो दरबन्दी अपर्याप्त हुनसक्ने इञ्जिनीयर थिङले बताउनुभयो । केन्द्रमा हाल प्रमुखसहित तीन जना मेकानिकल इञ्जिनीयरको दरबन्दी छ । सीमित प्रकारका र उपत्यकामा चल्ने साना सवारीसाधन मात्रै हुँदा पर्याप्त भए पनि आगामी दिनमा सबै सवारीसाधन जाँच हुँदा सो दरबन्दीसमेत अपर्याप्त हुनसक्ने उहाँले बताउनुभयो ।
केन्द्रमा दैनिक ९० देखि एक सयसम्म सवारीसाधनको जाँचपास हुने गरेको इञ्जिनीयर थिङले बताउनुभयो । अहिले मान्छेले नै हेर्दाभन्दा उपकरण समेत प्रयोगमा आउने हो भने दैनिक कम सवारीसाधनको जाँच गर्न सकिन्छ । एउटा सवारीसाधनको जाँच गर्न २० देखि २५ मिनेट लाग्ने हुँदा कार्यालय समयमा एउटा प्यान्टबाट दैनिक २०÷२५ वटासम्म सवारीसाधनको जाँच गर्न सकिने उहाँको भनाइ छ । सवारीसाधनको जाँचअन्तर्गत सवारीसाधनको बत्तीको अवस्था, टायर, डेन्टपेन्ट र नम्बर प्लेट हेर्ने काम अहिले भइरहेको उहाँले बताउनुभयो ।
उपकरणबाट भने ‘ब्रेकिङ फोर्स’, ‘च्यासिस’, ‘हेडलाइट’ को उज्यालो पर्याप्त भए÷नभएको र ‘हर्न’ को आवाज पर्याप्त भए÷नभएको कुरा हेर्नुपर्ने भए पनि त्यो हेर्न नसकिएको उहाँले बताउनुभयो । सो प्लान्टमा ठूला सवारीसाधन र साना सवारीसाधन जाँचका लागि छुट्टाछुट्टै लेन रहेको छ । प्लान्ट मर्मत भएर सञ्चालनमा आउनसके एउटा लेनबाट सवारीसाधन प्रवेश गरेपछि यो कुरा ठीक छ÷छैन भन्ने डिस्प्लेमा नै देख्न सकिन्छ । साना सवारीसाधनलाई उचालेर माथिल्लो तहमा पु¥याएर त्यसको सबै भाग हेर्न सक्छन् । त्यस्तै, ठूला सवारीसाधन प्राविधिक नै तल्लो भागमा गएर हेर्न मिल्ने व्यवस्था प्लान्टमा छ ।
केन्द्रमा प्रमुखका रुपमा अघिल्लो महिनादेखि कार्यरत इञ्जिनीयर मणिराम भुसालले आफू आएदेखि नै उपकरणको मर्मतका लागि पहल गरिरहेको बताउनुभयो । आफूले चिनियाँ निर्माण कम्पनीलाई मेलमार्फत सम्पर्कको प्रयास गरिरहेको उहाँले बताउनुभयो । सरकारले करोडौँ लगानीमा खरिद गरेको सो उपकरण मर्मत गरेर प्रयोगमा ल्याउनु नै फाइदा हुने उहाँको भनाइ छ । देशभरमा धेरै दुर्घटना सवारीसाधनकै कारण हुने भएकाले पनि त्यसको जाँच राम्ररी गरी सुधार गर्नसके दुर्घटना न्यूनीकरण गर्न सकिने उहाँको विश्वास छ । उहाँले भन्नुभयो, “सम्भव भएसम्म त्यही कम्पनीका प्रतिनिधि बोलाएर मर्मत गराउने र उसैलाई सञ्चालनको तालिम दिन लगाउने सोचाइ रहेको छ ।”
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले ‘प्लान्ट’ मर्मतका लागि समिति बनाइएको बताउनुभयो । सो उपकरण मर्मत नै गरेर सञ्चालन गर्ने कि नयाँ खरिद गर्नुपर्छ भनी समितिले टुङ्गो लगाउने उहाँको भनाइ छ । चिनियाँ कम्पनीसँग सम्पर्कको निरन्तर प्रयास भइरहेको छ । उहाँले भन्नुभयो, “समितिले नै अब के गर्ने भनी टुङ्गो लगाउनेछ ।” सरकारको सबै प्रदेशमा एक÷एक गरी सात सवारी परीक्षण केन्द्र स्थापनाको योजना रहेको छ ।