काठमाडौँ, १४ फागुन : नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्नुभएको छ । यहाँ आयोजित कार्यक्रममा उहाँले सो घोषणा गर्नुभएको हो । ‘समृद्धिको आधार, राज्य निजी क्षेत्रको साझेदारी’ भन्ने मूल नाराका साथ आगामी चैतको २८ र २९ गते हुने महासङ्घको ५४औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।
उहाँले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको दरिलो खम्बाका रुपमा रहेकोले यसले आर्थिक विकासमा ठूलो सहयोग पु¥याउने बताउनुभयो । उहाँले आफू निर्वाचित भए व्यवसायीका समस्या समाधान गर्न अग्रसर हुने बताउनुभयो ।
मुलुकमा राजनीतिक स्थिरता रहेकाले निजी क्षेत्र सरकारसँग हातेमालो गरी मुलुकको समृद्धिका लागि तयार रहेको उपाध्यक्ष ढकालले बताउनुभयो । “राज्यले निजी क्षेत्रसँग जति सहकार्य गर्न सक्यो, त्यति नै समृद्ध हुन्छ”, उहाँले भन्नुभयो, “राज्यले निजी क्षेत्रलाई साझेदारीका रुपमा हेर्नुपर्दछ, मुलुक राज्य र निजी क्षेत्रले बनाउने हो ।”
उहाँले मुलुकभित्रका उद्योग व्यवसायको लगानी सुनिश्चित गरी बाहिरी मुलुकबाट लगानी भित्र्याउनुपर्नेमा जोड दिनुभयो । उपाध्यक्ष ढकालले महासङ्घलाई ठूला व्यवसायीमा मात्र नभएर साना, मझौला व्यवसायीको समेत संस्था बनाउनुपर्ने बताउनुभयो ।
महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अर्को कार्यकालमा अध्यक्ष हुने व्यवस्था छ । अब हुने साधारणसभाबाट अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनुहुनेछ । यसअघि वरिष्ठ उपाध्यक्षका लागि अर्का उपाध्यक्ष किशोरकुमार प्रधानले समेत उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । ढकालको उम्मेदवारीमा महासङ्घका पूर्वअध्यक्ष चण्डी ढकाल, सुरज वैद्यलगायतको सहभागिता थियो । ढकालको बैंकिङ, केबुलकार र पर्यटन क्षेत्रमा लगानी रहेको छ ।