जुत्ता–चप्पल मेलामा उपभोक्ताको भीड

  फागुन १४, २०७६

काठमाडौं, फागुन १४ : राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेलामा सर्वसाधारणको बाक्लो भीड लागेको छ । मेलामा चर्चित स्वदेशी ब्रान्डहरू बिएफ डियर हिल, रन, शिखर, ल्यान्डवाक र सुल्यान्डका जुत्ता–चप्पलउपलब्ध छन् ।

सस्तो मूल्यमा गुणस्तरीय जुत्ता–चप्पल पाइने भएपछि मेलामा आउने उपभोक्ता कोही रित्तो हात नफर्केको शिखर सुजकी सञ्चालिका संगीता कडरियाले बताइन् । ‘हामीले अरू बेला हजार रुपैयाँमा बेच्ने चप्पल मेलामा पाँच सयमै दिइरहेका छौं,’ उनले भनिन् । जुत्ता–चप्पल मेलामासय रुपैयाँदेखिका चप्पल र पाँच सय रुपैयाँदेखिका जुत्ता उपलब्ध रहेको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । ‘मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटमा जुत्ता–चप्पल उपलब्ध गराइरहेका छौं,’ उनले भने ।

मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्रान्डका जुत्ता–चप्पल एउटै छानामुनि रोजीरोजी किन्ने अवसर उपभोक्ताले पाएका छन् । त्यहाँ महिला र पुरुष दुवैका लागि हुने हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । पार्टी, स्पोर्ट्स, क्याजुअल, स्कुल, अफिस, लेडिज चप्पल, गमबुट, सिजनल बुटलगायत सबैखाले जुत्ता–चप्पल मेलामा भेटिन्छन् ।

मेलामा महिलाका लागि विशेष प्रकारका चप्पल सुल्यान्डले राखेको छ । ‘हामी महिलाको चप्पल उत्पादनमा अग्रणी छौं,’ सुल्यान्डका सञ्चालक सुरज बन्जाडेले भने, ‘मेलामा हामीले महिला लक्षित दर्जनौं मोडलका चप्पल सार्वजनिक गरेका छौं ।’ सबै उमेर समूहका महिलाले मेलामा धमाधम रोजाइको चप्पल किनिरहेको उनको भनाइ छ ।

मेलामा स्कुले विद्यार्थीको जुत्ता र विवाहको सिजनका लागि पार्टी सुजको पनि धेरै भेराइटी उपलब्ध छ । ‘हामीले स्कुले विद्यार्थीलक्षित सस्तो जुत्ता मेलामा राखेका छौं,’ ल्यान्डवाक सुजका सौरभ श्रेष्ठले भने, ‘विवाह सिजन लक्षित धेरै मोडलका पार्टी सुज पनि मेलामा छन् ।’ सबै प्रकारका जुत्ता–चप्पल पाइने मेला फागुनभर चल्नेछ ।

तपाईको प्रतिक्रिया