नयाँ दिल्ली, १३ फागुन : भारतको केन्द्रीय राजधानीमा भएको झडपमा परी सात जनाको मृत्यु भएको छ । नागरिकतासम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएकाका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार राजधानीका धेरै ठाउँमा प्रदर्शन र झडपका घटना भएका छन् । दिल्ली प्रहरीले घटनामा परी सात जनाको मृत्यु भएको र त्यसमध्ये एक जना प्रहरी र अरु छ जना सर्वसाधारण नागरिक रहेको बताएको छ ।
केन्द्रीय गृहमन्त्री अमित शाहले झडपको घटना भएपछि सोमबार राति सुरक्षा उच्च अधिकारीसँग छलफल गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद नयाँ नागरिकता कानुनको विषयलाई लिएर विरोध प्रदर्शन भएको हो ।
उत्तरपूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य क्षेत्रमा आइतबारदेखि प्रदर्शन र हिंसा सुरु भएको समाचारमा जनाइएको छ । प्रदर्शन मङ्गलबार पनि जारी छ ।
ढुङ्गामुढा गरिरहेको भीडलाई पन्छाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज पनि गरेको थियो ।