काठमाडौँ, १२ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीको ‘कोरोना भाइरस (कोबिड १९)’को सङ्क्रमणबाट सुरक्षामा उच्च सर्तकताका लागि नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका अन्य नेपाली सङ्घसंस्थालाई आपसी आवश्यक समन्वय गर्न अपिल गर्नुभएको छ ।
उहाँले आज नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई एक पत्र पठाई सम्पूर्ण नेपालीको सुरक्षामा उच्च सर्तकताका साथ आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकताबद्ध ढङ्गले समन्वय गर्न अपिल गर्नुभएको हो । कोरोना भाइरस (कोबिड १९)को सङ्क्रमणले अहिले विश्वका कयौँ मुलुक प्रभावित रहेका छन् ।
केही दिनयता दक्षिण कोरियासमेतमा कोरोना भाइरसबाट सयौँ सङ्क्रमित भएका र केहिको मृत्युसमेत भइसकेको विवरण सञ्चारमाध्यममार्फत थाहा पाउँदा त्यहाँ रहेका समस्त नेपालीको सुरक्षा संंवेदनशीलताप्रति आफ्नो चासो बढेको उहाँले उल्लेख गर्नुभएको छ ।
“नेपाल सरकार र नेपाली दूतावासमार्फत हुनसक्ने आवश्यक सजगता बारे हामी घच्घच्याइ रहेका छौँ, विशेष गरी सङ्क्रमण फैलिएको थेगु शहरमा रहेका नेपालीलाई तत्कालै युद्धस्तरमा सतर्क गराउन तथा कोरियाको अन्य शहरमा पनि विभिन्न पेशा र व्यवसायमा संलग्न, अध्ययनरत विद्यार्थी एवम् श्रममा संलग्न सम्पूर्ण नेपाली बीच आवश्यक सम्पर्क, सूचना सम्प्रेषण र सतर्कताका लागि अपिल गर्दछु” सभापति देउवाले पत्रमा उल्लेख गर्नुभएको छ ।
यस क्षणमा नेपाली जनसम्पर्क समितिको भूमिका अझ बढी प्रभावकारी रहनु पर्ने अपेक्षा राख्दै उहाँले कोरियामा रहेका दर्जनौँ नेपाली सङ्घसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकतापूर्वक कार्य गर्न आग्रह गर्नुभएको छ ।