काठमाडौँ, १२ फागुन : काठमाडौँ उपत्यकामा रहेका पुराना पाइपहरू क्रमशः विस्थापित हुने भएका छन् । मेलम्ची खानेपानी आयोजनाका लागि आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेकै पाइपबाट सबै पानी वितरण गर्ने हुँदा पुराना पाइप अब प्रयोगमा नआउने भएको छ ।
हालका लागि पुरानै पाइपबाट पानी वितरण भए पनि आगामी वर्षबाट निर्देशनालयले निर्माण गरेकै पाइपबाट पानी वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो ।
उहाँका अनुसार पुराना पाइप प्रयोगमा नआउँदा अहिले रहेकै स्थानमा छाडिनेछ । सय वर्षभन्दा पुराना पाइप पुनः प्रयोगमा आउन सक्ने सम्भावना कम रहेको छ । उहाँले भन्नुभयो, “ती पाइप निकाल्दा खर्च लाग्ने र सडक भत्कने हुँदा त्यसै छाडिनेछ ।”
मेलम्चीको पहिलो चरणमा मेलम्चीबाट आउने झण्डै १७ करोड र उपत्यकामा हाल केयुकेएलले वितरण गरिरहेको झण्डै चार÷पाँच करोड गरी नयाँ बनेका पाइपबाट दैनिक झण्डै २४ देखि २५ करोड लिटर पानी वितरण हुने प्रमुख कार्यकारी अधिकृत शाक्यले जानकारी दिनुभयो ।
निर्देशनालयले बिच्छ्याएका पाइपमा उपत्यकाकै स्रोतबाट पानी हालेर परीक्षण भइरहेको छ । मेलम्चीकै पानी हालेर परीक्षण भने गर्न बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्देशनालयले मेलम्चीको पानी हालेर पाइपको अवस्था, चुहावट लगायतका बारेमा बुुझिनेछ ।” निर्देशनालयले हाल निर्माण गरिरहेका संरचना सम्पन्न भएपछि केयुकेएललाई नै हस्तान्तरण गर्नेछ । केयुकेएलले हाल वितरण गरिरहेको पानी र मेलम्चीबाट थप हुने पानी वितरणका लागि आवश्यक तयारी अघि बढाइरहेको छ ।