काठमाडौं, १३ फागुन : नेपाली कांग्रेसका नेता तथा कार्यकतालाई पार्टीको १४औं महाधिवेशनले छोपेको छ। पुस १३ गतेको केन्द्रीय समिति बैठकले १४औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्नेगरी कार्यतालिका सार्वजनिक गरेपछि केन्द्रदेखि गाउँसम्मका नेताकार्यकर्ताको ध्यान त्यसतर्फ केन्द्रित भएको हो। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको दुई वर्षमा पनि संगठन सुदृढीकरणभन्दा आन्तरिक राजनीतिमै कांग्रेसका नेताहरूको ध्यान केन्द्रित बन्न पुगेको छ। त्यसमा पनि महाधिवेशनको मितिसँगै तल्लो तहका अधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि सबै तहका नेताहरूको ध्यान नेतृत्वमा पुग्न केन्द्रित भएको छ। गुट–उपगुटमा विभक्त कांग्रेसमा केन्द्रदेखि गाउँसम्म ध्रुवीकरण सुरु भएको छ।
नीतिभन्दा नेता केन्द्रित कांग्रेसको १४औं महाधिवेशनबाट पार्टीको नेतृत्वमा आमूल परिवर्तन गर्नुपर्ने आवाज तीव्र बन्दै गएको छ भने दोस्रो पुस्ताले पनि नेतृत्वका लागि आफूलाई फरक ढंगले प्रस्तुत गर्न नसकेको गुनासो पनि उत्तिकै छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँगको प्रतिस्पर्धा दाइ पुस्ता (शेरबहादुर देउवा र रामचन्द्र पौडेल) बाट सम्भव नभएको भन्दै मीनेन्द्र रिजाल, गगनकुमार थापासहितले अघिल्लो पुस्ताले सम्मानजनक तर स्वेच्छिक अवकाश लिनुपर्ने बताउँदै आएका छन्। १३औं महाधिवेशनमा नेतृत्वका लागि आमनेसामने भएका देउवा र पौडेलले आगामी महाधिवेशनबाट विश्राम लेलान् त ? कांग्रेसका धेरै नेताहरूको बुझाइ त्यस्तो छैन। बरु अस्वाभाविक परिस्थितिबाहेक आगामी महाधिवेशनमा पनि नेतृत्वका लागि उनीहरू दुईबीच नै मुख्य प्रतिस्पर्धा हुन सक्ने विश्लेषण छ। आगामी महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा नउत्रन निकटहरूले सुझाए पनि नेतृत्वमा टिकिराख्न र नेतृत्वमा पुग्न देउवा र पौडेल दुवैले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो सक्रियता बढाएको नेताहरू बताउँछन्।
केन्द्रीय सदस्य मीन विश्वकर्माले वर्तमान सभापतिसमेत रहेका देउवाले १४औं महाधिवेशनमा पनि नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने बताए। देउवा सभापतिको उम्मेदवार बन्ने दाबी गर्दै उनले भने, ‘देउवा भर्सेज को भन्ने टुंगो लाग्न बाँकी छ।’ संस्थापन इतर समूहले देउवालाई सामूहिकता देखाएर तर्साउने गरे पनि नेतृत्वका लागि आआफ्नो तयारीमा जुटिरहेजस्तो देखिएको भन्दै उनले थपे, ‘उहाँहरू व्यक्तिगत वा सामूहिक फाइट गर्ने भन्नेमा टुंगोमा पुग्नुभएको छैन।’
अहिलेको चुनौतीको सामना गर्न टेस्टेड नेताहरूबाट सम्भव छैन भन्ने आवाज पार्टीभित्र बलियो रूपमा उठे पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेलको विकल्प नदेखिएको विकको विश्लेषण छ। दुई नेताबाट नयाँ केही हुने नदेखिएको बताउँदै उनले थपे, ‘तर नयाँ पनि कोही पार्टी र मुलुक सञ्चालन गर्ने भिजन, मिसनसहित नआएकाले १४औं महाधिवेशनबाट पनि नेतृत्व परम्परागत तरिकाले नै अघि बढ्नेछ।’
वंशजलाई आधार बनाएर तथा आन्तरिक झगडाको फाइदा उठाएर मात्र पार्टी नेतृत्वमा पुग्न खोजिएको उनको बुझाइ छ। पार्टी विधानले सभापतिसहित १३ जना पदाधिकारी रहने व्यवस्था गरेको अवस्थामा १४औं महाधिवेशनबाट पार्टी नेतृत्व मिश्रित किसिमको आउने उनको बुझाइ छ। ‘विधानको व्यवस्थाले सभापतिले मात्र पार्टी हाँक्ने अवस्था छैन, पार्टी सामूहिक नेतृत्वमा अघि बढ्छ,’ उनले भने, ‘त्यसैले पुस्तागत अन्तराल होइन, मिश्रण गरेर जानुपर्छ।’
केन्द्रीय सदस्य एनपी साउद भने १४औं महाधिवेशन १३औं को फोटोकपीजस्तो मात्र नहुने सुनाउँछन्। धेरै नेताले पार्टी नेतृत्वका लागि आकांक्षा जाहेर गरिरहेको अवस्थामा क्षेत्रीय अधिवेशनपछि मात्र नेतृत्वको सम्भावित तस्बिर आउने साउदको बुझाइ छ। ‘नेतृत्वका लागि बहुध्रुवीय र गुटगत आधारमा दुईपक्षीय जस्तो पनि देखिन्छ,’ उनले भने, ‘पुराना नेताहरूले पनि अैपचारिक रूपमा केही भनेका छैनन्, अरूले पनि इच्छामात्र राखेका हुन्। यही नै हो भन्ने होइन।’ पार्टीका पुराना नेतापुत्रहरू पनि नेतृत्वको प्रतिस्पर्धामा रहेको बताउँदै उनले थपे, ‘मुख्य नेताहरू (देउवा र पौडेल) बाट पार्टी नेतृत्व तल स-यो भने पनि कहाँ पुग्छ, अहिलेसम्म अन्योल छ।’
केन्द्रीय सदस्य गुरुराज घिमिरे नेता तथा कार्यकर्ता अब पार्टी पुराना नेताबाट चल्दैन भन्नेमा पुगेको बताउँछन्। जिल्लाका कार्यक्रमहरूमा पुग्दा आफूहरूले त्यही पाइरहेको सुनाउँदै घिमिरेले थपे, ‘व्यक्ति होइन, अब पुस्ता नै परिवर्तन गर्नुपर्छ भन्ने आवाज तलैदेखि बलियो रूपमा आएको छ।’ प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीको पराजयपछि पनि अघिल्लो पुस्तामा काम गर्ने तरिकामा नफेरिएको सुनाउँदै उनले भने, ‘उहाँहरूले आफूलाई परिवर्तन गरेर अघि बढाउन सक्नुभएन। पार्टीलाई परम्परागत ढंगबाट नै अघि बढाउनुभयो। अब यसरी चल्दैन।’
देउवा र पौडेलको विकल्प को त ? केन्द्रीय सदस्य घिमिरे शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला, रामशरण महत, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीको नाम लिन्छन्। ‘नयाँमा जाँदा ६० देखि ७० वर्ष उमेर समूहका नेताबीच शीर्ष नेतृत्वका लागि प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘त्यसभन्दा तलका पदाधिकारीमा समेटिने अवस्था आउँछ।’
केन्द्रीय सदस्य घिमिरे पार्टीका नेतापुत्रहरू १४औं महाधिवेशनबाट नेतृत्वमा पुग्ने संकेत गर्छन्। लिगेसी बोकेका नेताहरूसँग अतिरिक्त भोट र विश्वास नेता तथा कार्यकर्ताको हुने उनले सुनाए। बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिप्रति कांग्रेस नेता तथा कार्यकर्ताको गहिरो आस्था र विश्वास छ। पार्टी उपसभापति निधि महेन्द्रनारायणका पुत्र हुन् भने महामन्त्री शशांक बिपीपुत्र हुन्। पूर्वमहामन्त्री प्रकाशमान सिंह गणेशमान सिंहका पुत्र हुन। सिंगो परिवार राजनीतिमा होमिँदा कोइराला परिवार सम्हालेका केशव तथा पार्टी नेत्री नोनाका पुत्र हुन् शेखर। उनीहरू चारैजना १४औं महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्ने कसरतमा छन्। ‘शशांक र शेखर दुवैलाई कोइराला परिवारको लिगेसी जान्छ। प्रकाशमान र विमलेन्द्रको आआफ्नै छ,’ घिमिरेले भने, ‘उहाँहरूका लागि त्यो अतिरिक्त सुविधामात्र हो।’
पार्टी नेतृत्वमा पुग्न नेता तथा कार्यकर्ताले भरोसा र विश्वास पनि गर्नुपर्ने सुनाउँदै उनले थपे, ‘सक्रियता, छवि, कार्यशैलीजस्ता कुरामा पनि भर पर्छ।’ पार्टीका नेता तथा कार्यकर्ताले मात्र नभएर आमजनताप्रतिको विश्वासले पनि नेतृत्व चयनमा असर पार्ने उनको बुझाइ छ।
अहिलेको अवस्थाबाट मुलुक र पार्टीलाई पार लगाउन औसत व्यक्तिबाट सम्भव नरहेको उनले बताए। छिमेकी मुलुक भारतमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीका कारण पार्टी नै विजय भएको स्मरण गर्दै घिमिरेले भने, ‘ब्रान्डले जनमत आकर्षण गर्छ। तर कांग्रेसमा त्यस्तो ब्रान्ड छैन। जसले राम्रो कार्यक्रम ल्याउँछ उही नेता बन्छ।’
पार्टी नेतृत्वका लागि नेतापुत्रहरू विमलेन्द्र, शशांक, प्रकाशमान र शेखर सक्रिय छन्। सभापति देउवालाई आगामी महाधिवेशनमा उम्मेदवार नबन्न निकटकाले दबाब बढाइरहेका बेला पार्टी उपसभापतिसमेत रहेका विमलेन्द्रले पनि सभापतिका लागि सक्रियता बढाउँदै लगेका छन्। तर देउवा आफैं अघि सरे विमलेन्द्र आगामी महाधिवेशनमा केन्द्रीय सदस्यको मात्र उम्मेदवार बन्ने निकटकालाई बताउँदै आएका छन्। नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका विमलेन्द्रलाई देउवाको विकल्पका रूपमा उक्त समूहले हेर्ने गरेको छ।
त्यस्तै पार्टी महामन्त्रीको जिम्मेवारीमा रहेका शशांकले पनि नेतृत्वका लागि अग्रसरता देखाएका छन्। संस्थापनइतर समूहको केन्द्रमा आफूलाई राख्ने प्रयासमा रहेका बिपीपुत्र शशांक पछिल्ला दिनमा सभापति देउवाविरुद्ध आक्रामक देखिएका छन्। नेता तथा कार्यकर्तासँगको भेटघाटका साथै जिल्ला दौडाहालाई पनि तीव्र बनाएका शशांक स्वास्थ्य पेसा हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। कोइराला परिवारको लिगेसीसहित पार्टी नेतृत्वमा पुग्ने उनको रणनीति देखिन्छ। उनका दाजु तथा पार्टी नेता शेखर कोइराला पनि पार्टी नेतृत्वका लागि सक्रिय छन्। पछिल्ला दिनमा नेता तथा कार्यकर्ताकै बीचमा उनले समय बिताइरहेका छन्। १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गर्दै आएका शेखर शशांक र आफूबीचमा समस्या नहुने बताउँछन्। आफ्नो उमेरका कारण १५औं महाधिवेशनमा सभापतिको प्रत्याशी बन्ने सम्भावना नरहेको उनले बताउने गरेका छन्। यसपटक सभापतिबाहेकका पदमा आफू उम्मेदवार नबन्ने पनि उनले स्पष्ट पारको छन्। त्यसो त पार्टी महामन्त्रीसमेत रहेका शशांकलाई मनाउनु उनका लागि चुनौतीपूर्ण छ। तर निकटकाहरू शशांकलाई १५औं महाधिवेशनको सभापतिको उम्मेदवार र पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पाउँदै प्रधानमन्त्रीकारूपमा प्रस्तुतगर्ने गरी सहमति हुनसक्ने सुनाउँछन्। पेसाले चिकित्सक शेखर माओवादीलाई शान्तिप्रक्रियामा ल्याउनेदेखि गिरिजाप्रसाद कोइरालाको विश्वासपात्रका रूपमा काम गर्दै पार्टी राजनीतिमा सक्रिय छन्।
त्यस्तै पूर्वमहामन्त्री सिंहले पनि पार्टी नेतृत्वका लागि आकांक्षा व्यक्त गर्दै आएका छन्। पार्टी नेता रामचन्द्र पौडेलको १४औं महाधिवेशनमा कस्तो भूमिका हुन्छ भनेर नियालिरहेका सिंह उनको विकल्पमा आफैंलाई अघि सार्ने तयारीमा छन्। सभापति देउवासँग संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा गरेका सिंह आफ्नो प्रस्तावक नबसेको भन्दै महामन्त्री शशांकसँग असन्तुष्ट छन्। पौडेल सभापतिको उम्मेदवार नभए आफैं मैदानमा उत्रिने तयारीमा रहेका सिंह पार्टीको पोखरा महाधिवेशनअघि काठमाडौंसहितका जिल्ला समिति विघटनपछि केन्द्रीय राजनीतिमा चर्चामा आएका हुन्।
पूर्वसहमहामन्त्री रामशरण महत पनि नेतृत्वका आकांक्षी छन्। तर उनी आफैं हुनुपर्छ भन्ने पक्षमा नभएको एक केन्द्रीय सदस्यले सुनाए। ‘१३औं महाधिवेशनमा पनि सभापतिको प्रतिस्पर्धामा उत्रिएका सिटौलाजी (कृष्णप्रसाद सिटौला) आगामी महाधिवेशनमा प्रतिस्पर्धाका लागि प्रतिस्पर्धा गर्ने पक्षमा हुनुहुन्न,’ उनले भने, ‘देउवा र पौडेल नेतृत्वको प्रतिस्पर्धामा नहुने हो भने चार (विमलेन्द्र, शशांक, प्रकाशमान र शेखर) मध्ये जो नेतृत्वमा पुगे पनि नेतापुत्र नै पार्टीको नेतृत्वमा पुग्ने हुन्। त्यो सम्भावना बलियो हुँदै गएको छ।’
नागरिक दैनिकमा प्रकाशित