वासुदेव पौडेल
पोखरा, १२ फागुन
पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्दै गएको छ । पर्यटकीय नगरी पोखराबाट करिब एक हप्ता समयावधिको पदयात्राबाट अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ ।
पदमार्गमा पर्ने हिमालयबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कु आसपासमा गत माघ ३ गते गएको हिमपहिरोका कारण यो पदमार्ग केही समय अवरुद्ध बनेको थियो । उक्त हिमपहिरोका कारण चार कोरियाली नागरिकसहित तीन नेपाली हराएपछि सरकारी उद्धार टोलीसहित कोरियाली उद्धार टोलीसमेतले हराएका व्यक्तिको खोजी कार्य जारी राखेका छन् ।
नेपालमा पदयात्रा पर्यटनको दोस्रो मुख्य यामका रूपमा लिइने मार्च, अप्रिल र मे महिनालाई लक्षित गरी पहिरो गएको ठाउँमा अवरुद्ध बाटो खुल्ला गरिएसँगै यहाँ पर्यटकको आगमन दिनानुदिन बढ्दै गएको छोम्रोङ पर्यटन समितिका सचिव एवं फिष्टेल गेष्ट हाउस, अन्नपूर्ण आधार शिविरका सञ्चालक दिलीप गुरुङले जानकारी दिनुभयो ।
हिङ्कु क्षेत्रमा हराएका व्यक्तिको प्राविधिकसहितको ११ सदस्यीय टोलीले खोजी कार्यसमेत जारी राखेको बताउँदै उहाँले यसबीचमा पर्यटक जाने क्रम पनि बढिरहेको बताउनुभयो । विगतमा अन्नपूर्ण आधार शिविरमा विशेषगरी विदेशी पर्यटक नै ठूलो सङ्ख्यामा पदयात्राका लागि जाने गरेकामा पछिल्ला वर्षमा भने आन्तरिक पर्यटक जाने क्रम अझै बढेको उहाँको भनाइ छ । नेपालीमा बढ्दै गएको घुमफिर संस्कृतिको विकाससँगै पछिल्ला वर्षमा यस क्षेत्रको पदयात्राका लागि देशका विभिन्न भागबाट आन्तरिक पर्यटक आउने गरेको उहाँले बताउनुभयो ।
हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चर्चित अन्नपूर्ण हिमालको परिधिमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रा मार्गमध्येमा पर्ने टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष दीपक अधिकारीले बताउनुभयो ।
अन्नपूर्ण आधार शिविरमा विशेषगरी युरोप, अमेरिकाका साथै मलेसिया, चीन, कोरियालगायतका देशका नागरिक बढी मात्रामा आउने गरेको उहाँले बताउनुभयो । यस याममा कोरियाली तथा चिनियाँ पर्यटक बढी मात्रामा आउने गरेकामा ती देशमा फैलिएको कोरोना भाइरसका कारण उनीहरूको आमगन भने कम हुने भएको छ ।
देशका धेरै पदयात्रा मार्गमा जथाभावी बाटो खन्ने क्रमले समग्र पदयात्रा पर्यटन नै जोखिममा पर्दै गएको बताउँदै अधिकारीले यसतर्फ राज्यको चासो पुग्न नसकेको बताउनुभयो । “जथाभावी बाटो खन्ने नाममा पदमार्ग छोटिएका छन्”, उहाँले भन्नुभयो, “बाटो खन्ने क्रम नरोकिने र अन्य वैकल्पिक मार्गको खोजीतर्फ पनि चासो नदिँदा समग्र पदयात्रा पर्यटन नै धराशायी बन्दै गएको छ ।”
सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँँगै विश्वमै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताउनुभयो । समुद्री सतहदेखि चार हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले पदयात्रा गरेका थिए ।
अन्नपूर्ण आधार शिविरमा अघिल्लो वर्ष २८ हजार ५३१ विदेशी पर्यटकले पदयात्रा गरेका थिए । विदेशी पर्यटकका नेपाली सहयोगीसमेत गरी गत वर्ष अन्नपूर्ण आधार शिविरमा पुग्नेको सङ्ख्या एक लाखभन्दा बढी रहेको छ ।
जलवायु परिवर्तनका कारण समय समयमा आउने हिमपहिरो हिमाली क्षेत्रको पदयात्रा पर्यटनमा चुनौती बन्दै गएको व्यवसायी बताउँछन् । जलवायु परिवर्तनबाट हुने सम्भावित जोखिमको न्यूनीकरणतर्फ राज्यको चासो पुग्नुपर्ने र त्यही किसिमका पूर्वाधार निर्माण हुनुपर्ने देखिएको छ ।
चार दशक अघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक यहाँका भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता रहेकामा अहिले भने सबै किसिमका सुविधा सम्पन्न होटेलमा बस्न पाइने भएको व्यवसायी दिलीप गुरुङले बताउनुभयो ।
अन्नपूर्ण आधार शिविरमा पहिलो पटक २०३८ सालमा पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न होटल सञ्चालन शुरु गरिएकामा अहिले यस क्षेत्रका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे« आधार शिविर र अन्नपूर्ण आधार शिविरसमेत गरी २६ होटल सञ्चालनमा आएका छन् ।
धार्मिक एवं सांस्कृतिकरूपले महत्वपूर्ण मानिने यहाँस्थित बुद्धशिला, पूजनीय बराह र यहाँबाट देखिने १०८ धारासहितका धार्मिकस्थल यस क्षेत्रको पदयात्रामा जानेले प्रत्यक्ष देख्न तथा अनुभव गर्न पाउँछन् । नेपालमा पदयात्रा पर्यटनको दोस्रो याम शुरु हुन लाग्दा हिङ्कु क्षेत्रमा गएको पहिरोका कारण केही दिन पर्यटकको आमगन रोकिए पनि पछिल्ला दिन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको गुरुङको भनाइ छ ।