कास्की, ८ फागुन : राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले विसं २०७९ मा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी शुरु भइसकेको बताउनुभएको छ ।
खेलकूद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले आगामी वर्षको फागुनमा पोखरामा तय भएको नवौँ राष्ट्रिय खेलकूदका लागि पूर्वाधारको समस्या नरहेकाले कर्णाली प्रदेशका लागि अहिलेबाटै ध्यान केन्द्रित गरी अन्तर्राष्ट्रियस्तरका खेलकूद पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम शुरु गरिएको उल्लेख गर्नुभयो ।
१३औँ दक्षिण एशियाली खेलकूद (साग) भव्यताका साथ सम्पन्न भएकामा गर्व गर्दै पूर्वाधार शून्य भएको ठाउँमा विकासका लागि बोलपत्र आह्वान गरेर निर्माणको शुरुआत गरिएको उहाँले जानकारी गराउनुभयो । “सागको हामीले गर्व गर्नुपर्दछ, तर त्यसको मात्र गुनगान गाएर बस्नु हुँदैन, अर्कोतिर जानुपर्दछ, हामीलाई नवौँको भन्दा पनि १०औँको बढी चिन्ता छ”, उहाँले भन्नुभयो, “पूर्वाधार शून्य रहेको कर्णालीमा अन्तर्राष्ट्रियस्तरको पूर्वाधार बनाएर प्रतियोगिता गर्नु चुनौती छ, चुनौतीभन्दा ठूलो अवसर हो ।”
राष्ट्रिय खेलकूदका लागि पोखरामा निर्माण गर्न बाँकी सुटिङको पूर्वाधार निर्माणका लागि यसै हप्ताभित्र बोलपत्र आह्वान गरिने तथा पौडी पोखरीका लागि आगामी वैशाखभित्रमा सम्पूर्ण प्रक्रिया सम्पन्न गरेर काम शुरु गरिने जानकारी दिनुभयो । राष्ट्रिय खेलकूदका ३५÷३६ खेलमध्ये गण्डकीका १० जिल्लामा एक÷एक खेल सञ्चालन गर्ने र बाँकी सबै खेल पोखरामै खेलाइने सिलवालको भनाइ छ ।
हाल देशभर स्वतस्फूर्त रुपमा खेलकूदका गतिविधि बढ्नु तथा स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा लगानीकर्तामा समेत खेलकूदमा लगानी गरेपछि प्रतिफल आउँदोरहेछ भन्ने महसुस हुन थाल्नु सागको सकारात्मक पक्ष रहेको उहाँको भनाइ छ ।
देशका ७७ वटै जिल्लामा विविध विधाका खेल गतिविधि सञ्चालन हुँदा देशमा खेलको माहोल बढेको र साग खेलकूदपछि समेत काठमाडौँको दशरथ रङ्गशाला तथा पोखरा फुटबल रङ्गशालाको काम निर्माणकै चरणमा रहेको बताउँदै उहाँले सागका बाँकी पूर्वाधार छिट्टै तयार हुने विश्वास दिलाउनुभएको थियो । कार्यक्रममा मञ्चका अध्यक्ष एकराज गिरी तथा महासचिव विजय नेपालले राखेपले खेल पत्रकारको दक्षता, क्षमता विकासका लागि ध्यान दिन आग्रह गर्नुभएको थियो ।