काठमाडौँ, ६ फागुन : प्याराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङले सर्वाेकृष्ट खेलाडीको पुरस्कार जितेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीए)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा १४औँ संस्करणको उक्त पुरस्कार प्रदान गरेको हो ।
विमलले इण्डोनेसियाको जकार्तामा सम्पन्न एशियाली खेलकूदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउनुभएको थियो । महिलातर्फ सर्वोकृष्ट खेलाडी घोषित निमाले एशियाली खेलकूदमा तेक्वान्दोमा उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । दुवैले जनही एक लाख पुरस्कार प्राप्त गर्नुभयो ।
यसैगरी वर्ष २०७५ को उदयीमान खेलाडीको पुरस्कार पुरुषतर्फ एथ्लेटिक्सका अजितकुमार यादव र महिलातर्फ भलिबलकी सरस्वती चौधरीले प्राप्त गर्नुभयो । दुवैले जनही ५० हजार पुरस्कार पाउनुभयो । गजराज आदर्श खेलाडी पुरस्कारबाट बक्सिङ प्रशिक्षक मदनकुमार गुरुङ सम्मानित हुनुभयो ।
उहाँले ३५ हजार प्राप्त गर्नुभयो । सङ्घले २८ खेलका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत ग¥यो । पुरस्कृत हुनेमा फुटबलका भरत खवास, पौडीका सुभम श्रेष्ठ, भलिबलकी सरस्वती चौधरी, टेबल टेनिसकी नविता श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, बक्सिङकी पुनम रावल, प्याराग्लाइडिङका विमल अधिकारी र भारत्तोलनकी सन्जु चौधरी हुनुहुन्छ ।
यस्तै पुरस्कृत हुने अन्य खेलाडीमा लन टेनिसकी प्रेरणा कोइराला, कबड्डीकी मेनुकाकुमारी राजवंशी, फेन्सिङका ओमकार सिंह, स्क्वासका अमृत थापामगर, सेपाताक्रोका रोशन तामाङ, स्पोर्टस् क्लाइम्बिङका पेम्बा शेर्पा, पेन्कक सिलातका गोविन्द चौधरी, कुराशका उपेन्द्र थापा, रोलर स्पोर्टस्का मिलन शाह ठकुरी, बाँस्केटबलका मनिषराज उपाध्याय र तेक्वान्दोकी निमा गुरुङ हुनुहुन्छ ।
ब्याडमिन्टनका दिपेश धामी, ट्रायथलनका वसन्त थारु, करातेका विजय श्रेष्ठ, जुडोका इन्द्रबहादुर श्रेष्ठ, उसुकी जुनी राई, आर्चरीका तिलक पुन मगर, एथ्लेटिक्सका अजितकुमार यादव, गल्फका टङ्कबहादुर कार्की र कुस्तीका रमेश गौतमसमेत पुरस्कृत हुनुभयो । उहाँहरुले जनही १० हजार प्राप्त गर्नुभयो ।
खेलकूद पत्रकार पुरस्कारबाट गोरखापत्रका राजेन्द्र चित्रकार पुरस्कृत हुनुभयो । उहाँले २५ हजार प्राप्त गर्नुभयो । स्पेशल अवार्डबाट द काठमाडौँ पोष्टका प्रज्ज्वल ओली पुरस्कृत हुनुभयो । नेपालले १८औँ एशियाली खेलकूदमा सहभागी खेलमा गरेको प्रदर्शनलाई आधार मान्दै सम्बन्धित सङ्घको सिफारिसमा उत्कृष्ट खेलाडी घोषित गरिएको हो ।
एशियाली खेलकूदमा नेपालले २८ खेलमा भाग लिएको थियो । पहिलो पटक समावेश गरिएको पारा खेलकूदको पुरस्कार बोसिया खेलकी महिमा कोइरालाले प्राप्त गर्नुभयो । उहाँहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्व अध्यक्ष दीपक विष्टलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
थाइल्याण्डका लागि खेलाडी छनोट गरिँदै
आगामी चैत १९ देखि २८ गतेसम्म थाइल्याण्डमा आयोजना हुने थाइल्याण्ड खुला अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसीपका लागि खेलाडी छनोट शुरु भएको छ । छनोट गर्न आजदेखि पुरुषतर्फ छ तथा महिलातर्फ चार तौल समूहमा छनोट गर्न खेलाडीबीच प्रतिस्पर्धा थालिएको छ ।
नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेका अनुसार पुरुष ५७ किलो तौल समूहमा ललितपुरका बुद्धग्याल्पो लामा सेमिफाइनल पुग्नुभएको छ । उहाँले दाङका अनिलकुमार पुनलाई पराजित गर्नुभयो । पुरुषतर्फकै ६३ किलो तौल समूहमा अभिनय राई र दानबहादुर दर्लामी पनि सेमिफाइनल प्रवेश गर्नुभयो । राईले दाङका निसम जिएम तथा दर्लामीले जनकपुरका अमरनाथ साहलाई हराउनुभयो । सोही तौल समूहमा काठमाडौँका सनिल शाहीले कास्कीका पवन गुरुङलाई पराजित गर्नुभयो ।
यसैगरी पुरुष ८१ किलोतर्फ त्रिभुवन आर्मीका गणेश प्रधान र दाङका केशर खत्री सेमिफाइनल प्रवेश गर्नुभयो । महिला ५१ किलोतौल समूहमा आर्मीकी ललिता महर्जनले काभ्रेपलाञ्चोककी सपना गुरुङलाई हराउँदै फाइनल प्रवेश गर्नुभयो । छनोट सम्पन्न भएपछि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने नेपाल बक्सिङ सङ्घले जनाएको छ ।