सरकार तपाईहरुसँगै छ, कुनै चिन्ता नलिइ ढुक्क हुनुहोस : स्वास्थ्य मन्त्री

  फागुन ०७, २०७६

भक्तपुर, ६ फागुन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिनुभएको छ ।

सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुबाट उहाँले त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको हो ।

क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फतभित्र रहेका नेपालीहरुसँग उहाँले सिसी क्यामराको माध्यमबाट भिडियो हेर्दै कुराकानी गर्नुभएको हो ।

सो अवसरमा मन्त्री ढकालले क्वारेन्टाइनमा रहेका नेपालीसँग कुराकानी गर्दै सरकार तपाईसँगै रहेको र सबै सहयोग गर्न तयार रहेकाले नआत्तिन आग्रह गर्दै आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । कन्ट्रोल कक्षबाट उहाँले भित्र रहेका नेपालीसँग यहाँको सेवा, सुविधा र समस्याकाबारेमा जानकारी लिनुभएको थियो ।

जवाफमा भित्र रहेका नेपालीले सरकारले पु¥याएको सहयोगको बारेमा धन्यवाद व्यक्त गर्दै आफूहरु पूर्णरुपमा स्वस्थ्य र सरकारले गरेको व्यवस्थाप्रति निकै खुशी रहेको प्रतिक्रिया दिनुभएको थियो ।

मन्त्री ढकालले माइकमार्फत सम्बोधन गर्दै ढुक्क भएर रहन र कुनै चिन्ता नलिन आग्रह गर्नुका साथै सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।

सरकारले उद्धार गरिएका नेपाली क्वारेन्टाइनमा बस्दा सन्तुष्ट रहेको प्रतिक्रिया पाएको बताउँदै उहाँले क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीद्वारा उनीहरुको अवस्थाबारे थप जानकारी लिनुभएको थियो ।

क्वारेन्टाइनस्थलमा खटिनु भएका नेपाली सेनाका सेनानी डा नवीन फुयाँलले चीनबाट फर्किएका नेपालीहरु शारीरिक, मानसिक सामाजिक रुपमा पनि स्वस्थ्य रहेको आफूले पाएको मन्त्री ढकाललाई जानकारी गराउनुभएको थियो । कोरोना भाइरसको त्रासमा चीनमा कठिन दिन बिताएका नेपालीहरु आफ्नै देशमा फर्किएर क्वारेन्टाइन सरकारले व्यवस्था गरेको सुविधामा खुशी रहेको र उनीहरुको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।

सरकारले उद्धार गरेर ल्याएका १७५ मध्ये ४० जना महिला र दुई बालबालिका क्वारेन्टाइनमा रहेका छन् । आइतबार आएलगत्तै उनीहरुको स्वास्थ्य परीक्षण ¥याल परीक्षणका लागि सङ्कलन गरिएको थियो भने अहिले पनि नियमित रुपमा दिनको दुईपटक उनीहरुलाई दिएको थर्मोमिटरमार्फत आफैले ज्वरो नाप्ने र त्यसको रिपोर्ट लेखेर जानकारी दिने गरेका छन् । क्वारेन्टाइनमा मेडिकल डाक्टरसहित सात जना स्वास्थ्यकर्मीको टोलीले खटिएर काम गरिरहेको छ । जसमा एकजना मानसिक रोगका डाक्टरसमेत छन् ।

ज्वरो आएमा तत्कालै जानकारी गराउन आग्रह गरिएको र त्यस्तो अवस्था आएमा तत्कालै तयारी अवस्थमा रहेको एम्बुलेन्समा राखेर आइसोलेसन वार्डमा पु¥याउने तयारी पनि भएको छ । तर त्यस्तो अवस्था आएको छैन । मन्त्री ढकाललाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेनाको बीरदल गणका गणपति कर्नेल शिव पौडेलले यहाँको अवस्थाकाबारेमा जानकारी गराउनुभएको थियो ।

क्वारेण्टाइन व्यवस्थापनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी गरी २५० जनाको टोली खटिएको बताइएको छ । मन्त्री ढकालसहितको टोलीलाई जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलगायत स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया