उत्पादन बढाउन आलुको बीउ र टनेल वितरण

  फागुन ०६, २०७६

कास्की, ६ फागुन : जिल्लाको माछापुच्छ गाउँपालिका–८ ले आलु र गोलभेँडामा आत्मनिर्भर बन्ने लक्ष्यसहित कृषकलाई अनुदानमा बीउ र टनेल वितरण गरेको छ । तरकारी आयातलाई अन्त्य गरी उत्पादनमा जोड दिने नीति वडाले लिएको छ ।

शुरुआतमा यी दुई तरकारीमा आत्मर्निभर बन्न कृषकलाई प्रेरित गर्ने योजनासहित चालू वर्षमा वडाले एक हजार २०० केजी आलुको बीउ कृषकलाई वितरण गरेको वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो । वडाका छवटा कृषि समूहलाई प्रतिसमूह २०० केजीका दरले बीउ तथा एक केजीका दरले अग्र्यानिक मल र सबै टोललाई समेटेर कृषकलाई ३० वटा टनेल वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

अनुदानमा वितरण गरिएको बीउ तथा कृषकले आफैँले लगानी गरेर लगाउने आलु खेतीबाट आत्मनिर्भर बन्न सकिने लक्ष्य रहेको बताइन्छ । चालू वर्षमा कृषि विकासका लागि विनियोजित रु पाँच लाख बजेट आलु र गोलभेँडाको उत्पादन वृद्धि गर्ने योजनामा खर्च गरिएको वडाले जनाएको छ । चर्चित मर्दी हिमाल पदयात्रा मार्गमा समेत पर्ने वडामा घरवास ‘होमस्टे’ तथा होटल रेष्टुरेन्टहरु समेत खुल्नेक्रम बढेको र पर्यटकीय गतिविधि वृद्धिसँगै कृषि उत्पादनबाट आयआर्जनको सम्भावना बढेकाले शुरुआतमा आत्मर्निभर बन्ने र त्यसपछि व्यावसायिक उत्पादनमा जोड दिने नीति लिइएको छ ।

“हामीकहाँ सबैभन्दा बढी आयात गर्ने खाद्यवस्तु नै आलु र गोलभेँडा हो, उत्पादनका लागि हावापानी, जमीन तथा सिँचाइको सुविधा छ, उत्पादन नगरेकै कारणले आयात गर्नुपर्ने अवस्थालाई अन्त्य गरी सबै कृषकलाई उत्पादन गर्न उत्प्रेरित गर्दै आत्मनिर्भर बन्ने योजना बनाएका छौँ”, वडाध्यक्ष दवाडीले भन्नुभयो । पहिलो वर्षको अनुभव र सिकाइबाट आगामी वर्षको योजना निर्माणमा सघाउ पुग्ने भएकाले कम मिहिनेतमा आम्दानी हुने गतिविधिमा स्थानीयवासीलाई परिचालन गर्ने लक्ष्य राखिएको छ ।

कृषि सञ्जालका सचिव जीवनाथ लामिछानेले वडाले शुरु गरेको कार्यक्रमबाट कृषक उत्साहित भएको जानकारी दिनुभयो । गाउँपालिकाको नौ वडा रहेकामा यस वडाको कूल २० दशमलव २३ वर्गकिमी क्षेत्रफल तथा ७०० घरधुरी छन् । कूल जनसङ्ख्या दुई हजार ६९१ रहेकामा अधिकांशको आयआर्जनको प्रमुख स्रोत कृषि हो । यहाँका सिमलबेँसी, लाङ्दीफाँट ल्वाङ, घलेल तथा कोलेलीमा धान, मकै, गहुँलगायत खाद्यबाली तथा तरकारी र अलैँचीलगायत नगदे बालीको उत्पादन हुँदै आएको छ ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

चितवन, ६ फागुन भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फूलबारीबाट मङ्गलपुरतर्फ जाँदै गरेको बा१क ६२५५ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको ना५७प १९ नंको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो । ठक्करबाट घाइते दुवाडीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया