जाजरकोट, २८ माघ : जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि आउने बिरामी यतिबेला उपचार नपाएर फर्कने गरेका छन् । उपचार नपाउँदा बिरामी हजारौँ खर्चेर जिल्ला बाहिर जान बाध्य छन् । अस्पतालमा कार्यरत डा निशा बुढामगर नहुँदा चार महिनादेखि दन्तसेवा ठप्प छ । बुढाबाहेक दन्तसेवामा अरु स्वास्थ्यकर्मी छैनन् । उहाँ सुत्केरी बिदामा बसेपछि सेवा नै ठप्प हुन पुगेको हो ।
सामान्य खालका शल्यक्रिया गर्ने, शल्यक्रियासहितको प्रसूति सेवा दिने भनेर गत वर्ष अस्पताल आउनुभएका एमडीजिपी डा महेश सिलवाल केही समयअघि जिल्ला छाडेर गएपछि शल्यक्रियाका सबै सेवा बन्द भएका छन् । स्वास्थ्य मन्त्रालयको छात्रवृत्ति कोटामा दुई वर्षका लागि करारमा नियुक्त भएर आउनुभएका डा सिलवाल एक वर्ष बिताएर फर्किनुभएका हो । अस्पतालमा आवश्यक पूर्वाधार नभएको, बेहोस बनाउने एनेस्थेसिया स्वास्थ्यकर्मी नभएपछि दिक्क भएर आफू फर्किएको उहाँले बताउनुभयो ।
सात विशेषज्ञ चिकित्सकसहित ६५ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा १८ स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । छात्रवृत्ति करार सेवामा कार्यरत मेडिकल अधिकृतले दुई वर्षअघिको अतिरिक्त सेवाको भत्ता नपाएपछि काम गर्न जाँगर मारेका छन् । छात्रवृत्ति करार सेवामा चार जना चिकित्सक कार्यरत छन् ।
लामो समयदेखि उहाँले काम गरेको अतिरिक्त भत्ता नपाएपछि भिडियो एक्सरे सेवा बन्द गरिदिएका छन् । ल्याव सेवामा पनि स्वास्थ्यकर्मी नहुँदा बन्द छ । अस्पताल विकास समितिबाट पाउनुपर्ने अतिरिक्त समय काम गरेको भत्ता नपाउँदासम्म विरोधस्वरुप आफूहरूले भिडियो एक्सरे सेवा नदिने निर्णय गरेको डा भूपेन्द्रप्रकाश मल्लले बताउनुभयो । यसरी विस्तारै धेरै सेवा बन्द हुँदै गएपछि सेवाग्राही स्थानीयवासी मर्कामा परेका छन् ।
अस्पतालमा कार्यरत अति न्यून सङ्ख्याका स्वास्थ्यकर्मी पनि उपकरण पूर्वाधार र विशेषज्ञ ज्ञानको अभावले सामान्य जाँच गरेर औषधि दिने र सिफारिस गर्नेबाहेक अन्य सेवा प्रवाह गर्न सकिरहेका छैनन् । स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले अस्पतालको सेवा अस्तव्यस्त भएको स्वीकार गर्नुभयो । “विशेषज्ञ चिकित्सकको पदपूर्ति हुँदैन । अन्य स्वास्थ्यकर्मी पनि रित्तिँदै गएका छन् । नयाँ पदपूर्ति हुँदैन, कसरी सेवा प्रभावकारी बनाउने”, उहाँले भन्नुभयो, “करीब रु पाँच लाख चिकित्सकहरूले अतिरिक्त काम गरेकै दिन बाँकी छ । उहाँहरूले भिडियो एक्सरे सेवा बन्द गरेर असन्तुष्टि जनाउनुभएको छ । कसरी समाधान गर्ने ?”
चार वर्षअघि १५ श्ययाबाट ५० श्यया बनाइएको जाजरकोट अस्पतालमा स्वास्थ्य सेवा व्यवस्थापक, बालरोग, स्त्रीरोग, बेहोस बनाउने, जनरल फिजिसियन, अर्थोपेडिक सर्जन र पेडियाट्रिसियन गरी सात विशेषज्ञ, तीन मेडिकल अधिकृत र आयुर्वेद चिकित्सकको दरबन्दी रिक्त छ ।
त्यस्तै फिजियोथेरापी सहायक, मेडिकल ल्याव टेक्नोलोजिस्ट, रेडियोग्राफी टेक्नोलोजिस्ट र स्वास्थ्य सहायक तीनै जना रिक्त रहेका छन् । स्टाफ नर्स आठमध्ये सात रिक्त छन् । पब्लिक हेल्थ नर्स, ल्याव टेक्निसियन, फार्मेसी सहायक, एनेस्थेसिया सहायक, ल्याव असिस्टेन्ट, र अहेव तीन जनाको दरबन्दीमा तीनै जना रिक्त रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख जैसीले बताउनुभयो ।
उहाँले पदपूर्तिका लागि सम्बन्धित निकायमा पहल गरे पनि सुनुवाइ हुन नसकेको गुनासो गर्नुभयो । अस्पतालमा भरपर्दो सेवाप्रवाह हुन नसकेपछि एक महिनाको अवधिमा एक जना पनि बिरामी भर्ना गरिएको छैन । फार्मेसीमा कतिपय अत्यावश्यक औषधिसमेत छैन ।