लहान, २६ माघ : समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विकास र समृद्धिका लागि सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।
सप्तरी सदरमुकाम राजविराजमा आज आयोजित सर्वपक्षीय अन्तरक्रियामा अध्यक्ष यादवले संविधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा गएको बताउनु हुँदै अध्यक्ष यादवले सरकार संविधान संशोधन गर्न तयार नभएपछि सरकारवाट बाहिरिएको बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधिहरूले विकासभन्दा उपभोक्ता समिति बनाउनेतर्फ सक्रिय भएकाले उपभोक्ताभन्दा विकासप्रति सबैले समर्पित हुनु आवश्यक रहेको उहाँले औँल्याउँनुभयो ।
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि तत्काल ६५ बिघा जग्गा पर्याप्त रहेकोले उक्त जग्गा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा आएपछि काम अगाडि बढने दाबीसमेत उहाँले गर्नुभयो । भारत सरकारको सहयोगमा निर्माणाधीन छात्रावासको निर्माण कार्य अगाडि बढाउनुपर्ने बताउँदै अध्यक्ष यादवले राजविराजको छात्रावासलाई व्यवस्थित गर्न नरसिंह कलेज निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो ।