औद्योगिक क्षेत्र समृद्धिको सम्वाहक : उद्योग मन्त्री

  माघ २४, २०७६

भीमदत्तनगर, २४ माघ : उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा स्थापना हुन लागेको औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह यस प्रदेशको समृद्धिको सम्वाहक हुने बताउनुभएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित स्थापना हुने दैजी औद्योगिक क्षेत्र निर्माणस्थलको आज अनुगमनका क्रममा आयोजित कार्यक्रममा मन्त्री भट्टले औद्योगिक क्षेत्र स्थापनामा अब ढिलाइ नहुने बताउनुभयो ।

उद्योग मन्त्रालयका उच्चपदस्थ कर्मचारीको टोलीसहित औद्योगिक क्षेत्र निर्माणस्थल पुग्नुभएका मन्त्री भट्टले औद्योगिक क्षेत्रको विस्तारमा मन्त्रालय अग्रसर रहेको बताउनुभयो । “एक प्रदेशमा एक औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य सरकारले लिएको छ”, उहाँले भन्नुभयो, “यसको स्थापनामा अब सरकार ढिलाइ गर्दैन ।” उहाँले दैजी औद्योगिक क्षेत्र स्थापनाको काम प्रदेश र स्थानीय सरकारबाट सम्भव नभएकोले सङ्घीय सरकारले नै निर्माण गरी हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।

त्यसैगरी प्रतिनिधिसभा सदस्य नरबहादुर धाँमीले निर्वाचनका बेला जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्न औद्योगिक क्षेत्र स्थापना तत्काल अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । बेदकोट नगरपालिका–२ र ३ को राष्ट्रिय वनको करिब २६९.९३ हेक्टरमा औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी रहेको छ । दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा अढाइ दशक अघि भएको थियो ।

तपाईको प्रतिक्रिया