चीनको हुवेइ प्रदेशको हुवान सहरमा देखिएको चिनियाँ नयाँ कोरोना भाइरस संक्रमणले विस्तारै विश्वव्यापी रूप लिंँदैछ । विगत केही दशकका यस्ता अन्य भाइरल संक्रमणको इतिहास हाम्रो मनमस्तिष्कमा अहिले पनि घुमिरहेको बेला नयाँ संक्रमणको समाचारले समाजमा आतंक सिर्जना हुनसक्छ ।
हुन पनि एभियन फ्लु, स्वाइन फ्लु, सार्स, मेर्सजस्ता विश्वव्यापी संक्रमणले विभिन्न समयमा विभिन्न देशमा धेरैको ज्यान लिएकै हुन् । तथापि यो नयाँ भाइरसले जनमानसमा किन यति त्रास निम्त्याएको हो ? त्यो बुझ्नु जरुरी छ ।
कोरोना भाइरस एक प्रकारको हामीलाई लाग्ने साधारण रुघाखोकीदेखि यसअघि देखिएका घातक सार्स र मेर्स रोगहरूसँग जोडिएको छ । यसले फोक्सोमा असर गर्दै अन्य विभिन्न लक्षणसहित मृत्युसम्म गराउन सक्छ । यति भन्दै गर्दा हामीले यो कुरा बिर्सनु हुन्न कि प्रत्येक वर्ष संसारभर अर्को भाइरस परिवार जसलाई हामी इन्फ्लुएन्जा भनेर चिन्छौं, त्यसले पनि मानव ज्यान लिन्छ र धेरैलाई बिरामी गराउँछ । इन्फ्लुएन्जा भाइरस र कोरोना भाइरस दुई फरक परिवार हुन् ।
हालसम्मको तथ्य अनुसार नयाँ कोरोना भाइरस ६ भन्दा बढी देशमा देखापरेको छ । चीनमा मात्रै ८ सयभन्दा बढी बिरामी देखिएका छन् । अन्य देशमा पनि बिरामीको संख्या बढ्ने क्रममा छ । यस्तो रोगका बिरामी ठ्याक्कै यति नै छन् भनेर ठम्याउन गाह्रो हुन्छ । किनभने लक्षण र परीक्षणबाट मात्रै पहिचान हुन्छ । जसका लागि समय चाहिन्छ । त्यसमाथि यो रोग र साधारण अन्य रुघाखोकी–ज्वरोको लक्षण झन्डै–झन्डै उस्तै हुन्छन् । बेलायतको इम्पिरियल कलेजका अनुसन्धान टोलीले केही दिन अघिमात्र सार्वजनिक गरेको वैज्ञानिक आँकलनमा यो रोगले ८ हजारभन्दा बढीलाई संक्रमण गरिसकेको हुनसक्ने लेखिएको छ ।
तथ्य के कस्ता छन् ?
कोरोना भाइरसले यसअघि विभिन्न समयमा ल्याएको महामारी र हाल देखिएको चिनियाँ संक्रमणको प्रारम्भिक तुलना गर्ने हो भने अहिलेको भाइरस संक्रमण कमजोर देखिन्छ । रोग छिटो सरिरहेको त छ, तर रोगले मृत्यु निम्त्याउने क्षमता सार्स र मेर्सभन्दा निकै कम देखिन्छ । विश्व स्वास्थ्य संगठनले हालै जारी गरेको विज्ञप्ति अनुसार रोग लागेका र मृत्यु भएकाको अनुपात ४ प्रतिशत छ (१०० जना संक्रमितमा ४ जनाको मृत्यु हुनसक्छ) ।
यस अघि सार्स र मेर्समा देखिएको अनुपात क्रमश: १५ प्रतिशत र करिब ४० प्रतिशत थियो । यसैगरी इन्फ्लुएन्जा ए, एच ५ एन १ (एभियन फ्लु) मा यो अनुपात करिब ६५ प्रतिशत थियो भने इन्फ्लुयन्जा ए, एच १ एन १ मा १ प्रतिशतभन्दा पनि कम थियो । यस हिसाबले हाल देखिएको नयाँ कोरोना भाइरस कमजोर भन्न मिल्छ । हाल करिब २५ जनाको मृत्यु भएको तर तीमध्ये अधिकांश ७० वर्षभन्दा माथिका र अन्य रोगले संक्रमित भएको तथ्य बाहिर आइसकेको छ । जसले यो नयाँ भाइरसले सामान्य मानिसमा मृत्यु निम्त्याउन नसक्ने कुरा पुष्टि गर्छ । भाइरस छिटो वा ढिलो परिवर्तन भइरहन्छ र अझै कमजोर वा अझै बलियो हुनसक्छ । त्यसैले आउँदा दिनमा यो तथ्यांक परिवर्तन हुनसक्छ । हालको तथ्यांकले हामी आत्तिहाल्नुपर्ने अवस्थाचाहिं देखिन्न ।
केही दिनअघि विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अढ्नम घेब्रेसुसको अध्यक्षतामा यो संक्रमणबारे आधिकारिक धारण सार्वजिनक गर्न आकस्मिक बैठक बसेको थियो । साधारण अवस्थामा महामारी हुने शंका सिर्जना हुने देखिनासाथै यस बैठकले ‘पब्लिक हेल्थ इमर्जेन्सी’ घोषणा गर्छ । यो भनेको जनस्वास्थ्यलाई मध्यनजर गरेर संसारभरका सदस्य देशहरूलाई उच्च सतर्कता अपनाउनुका साथै निगरानी र नियन्त्रणका विभिन्न कार्य अघि सार्न निर्देशन दिने प्रक्रिया हो । तर तत्काललाई उसले यो कदम रोजेन र थप तथ्य र तथ्यांकको लागि समय माग्यो ।
आगामी दिनमा कुन निर्णय हुन्छ, त्यो हेर्न बाँकी छ । तर एउटा कुरा प्रस्ट छ– हाल देखिएको तथ्य अनुसार यो कदम जरुरी देखिएन । हुन पनि यसभन्दा अघिका महानिर्देशक डा. मार्गरेट च्यानले २००९ को एच १ एन १ महामारीमा ज्यादै छिटो इमर्जेन्सी घोषणा गरे जसले विश्व अर्थतन्त्रलाई नकारात्मक असर गर्यो । तर २०१५ मा एबोला महामारी ढिलो घोषणा गरेको र त्यसले धेरैको ज्यान गएको आरोप पनि आएको हो । त्यसैले हालको नयाँ कोरोना भाइरस संक्रमणबारे लिने निर्णयहरूमा विश्व स्वास्थ्य संगठनले विशेष सावधानी लिनु स्वाभाविक मान्न सकिन्छ ।
नेपालले आफूलाई कसरी तयार राख्ने ?
यो रोग नेपाल छिर्ने झन्डै–झन्डै पक्का छ । हामीकहाँ चिनियाँ पर्यटक साथै त्यहाँ पढ्ने नेपाली विद्यार्थी पनि धेरै छन् । उनीहरू हवाइमार्गबाट छिर्ने क्रम जारी थियो, छ र रहिरहनेछ । विमानस्थलमा निगरानी गर्न त्यति सजिलो छैन । जाडो मौसममा रुघाखोकी र ज्वरो लिएर आउने जोकोहीलाई यो नयाँ कोरोना भाइरस रोगी हो भनेर ठम्याउन सकिन्न ।
विमानस्थलको हेल्थ डेस्कले तत्काल गर्नुपर्ने एउटै काम हो– ज्वरो आएका सबैलाई पहिचान गरेर परीक्षणको लागि पठाउने र नतिजा नआएसम्म क्वारेन्टाइनमा राख्ने । हामीकहाँ छिटोछरितो परीक्षण र नतिजा उपलब्ध गराउने संरचना सरकारी स्तरमा छैन । साथै निजी स्तरम उपलब्ध संरचनाको सही उपयोग हुनसकेको छैन । अहिलेको आकस्मिक अवस्थामा सरकारी र निजी संरचना सबै परिचालन गर्ने हो भनेचाहिँं समयमै देशभित्र संक्रमण नियन्त्रण गर्न सकिन्छ ।
यस बाहेक आम नागरिकले हाल आत्तिहाल्नुपर्ने अवस्था छैन । सकेसम्म रोग देखिएका ठाउँ र मानिसबाट पर नै रहनु वेश हुन्छ । यदि यसो गर्न सकिन्न भने एन ९५ मास्क लगाउँदा संक्रमण सर्ने सम्भावना घट्छ । साथै जताततै नांगो हातले नछुने, हात धुने अथवा स्यानिटाइजर चलाउने जस्ता सावधानीका माध्यम अपनाउने गरेमा रोग सर्नबाट बच्न सकिन्छ । यो रोगका लागि खोप अथवा उपचार छैन । अधिकांश अवस्थामा कोरोना भाइरसले लाग्ने रुघाखोकी विरुद्ध मानव शरीरले आफ्नै जैविक प्रतिरोध क्षमताले आफैलाई ठिक पार्न सक्छ र अरु भाइरस संक्रमणजस्तै बालक, वृद्ध तथा अन्य रोग (जस्तै– एचआईभी, डायबिटिज, मृगौला रोग) भएकाहरूले विशेष सावधानी लिनु जरुरी हुन्छ ।
कोराना भाइरस अथवा कुनै पनि जीवाणुसँग जोडिएका रोगका संक्रमणबारे प्रारम्भिक समयमा सञ्चार माध्यमले पनि विचार पुर्याउनु पर्छ । तथ्यहीन अथवा सनसनीपूर्ण शीर्षकले आम नागरिकमा पुग्न जाने त्रासले नकारात्मक असर गर्न सक्छ । त्यसैले सबैले आआफ्नो क्षेत्रबाट संयमित भएर कामकार्य गर्नु जरुरी हुन्छ । स्रोत : कान्तिपुर