काठमाडौँ, १९ पुस : ललितपुर महानगरपालिका तथा गोदावरी र कागेश्वरी मनोहरा नगरपालिका महानगर कप भलिबल प्रतियोगितामा विजयी भएका छन् ।
जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा आज भएको पुरुष भलिबलमा ललितपुरले भक्तपुर नगरपालिकालाई, गोदावरीले धुलिखेल नगरपालिकालाई तथा कागेश्वरी मनोहरा नगरपालिकाले कीर्तिपुर नगरपालिकालाई पराजित गरेको हो ।
ललितपुरले भक्तपुरलाई ३२–३०, २५–२७, २५–१६ र २५–२१ अङ्कले हराएको हो । अर्को खेलमा गोदावरीले धुलिखेल नगरपालिकालाई २५–१२, २५–२२ र २५–२३ अंकले पराजित ग¥यो । तेस्रो खेलमा कागेश्वरी मनोहरा नगरपालिकाले कीर्तिपुर नगरपालिकालाई २५–१०, २५–१० र २५–६ अङ्कले हरायो ।
यस्तै महिलातर्फ बनेपा नगरपालिकाले गुप्तेश्वर नगरपालिकाबाट वाक ओभर पायो भने ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिकाबीचको खेल वर्षाको कारण स्थगित भयो । ललितपुर महानगरपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गरेको उक्त प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ टोली सहभागी छन् ।
दुवै स्पर्धाका विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार, चौथो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरुष र महिलातर्फ सर्वोकृष्ट खेलाडीले रु १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक दिनेश कार्कीले जानकारी दिनुभयो । रासस