सुर्खेत, १९ पुस : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसंग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका नवनियुक्त शिक्षाध्यक्ष एवं अस्पतालका निर्देशक भेट गर्नुभई प्रतिष्ठानका गतिविधिका बारेमा जानकारी गराउनुभएको छ ।
उहाँलाई प्रतिष्ठानका शिक्षाअध्यक्ष प्रा डा.निरेश थापा र अस्पताल निर्देशक प्रा डा.मंगल रावलले आज भेट गरी प्रतिष्ठानलाई थप सहयोग गर्न विशेष आग्रह गर्नुभयो ।
सो अवसरमा मुख्यमन्त्री शाहीले यहाँको वास्तविकतामा रहेर प्रतिष्ठानले काम गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठानलाई राजनीतिबाट मुक्त गर्नुपर्छ । यहाँका १० वटै जिल्लामा स्वास्थ्य जनशक्तिको अभाव छ । प्रतिष्ठानले प्रदेशभरि सेवा विस्तारगरी त्यसलाई प्रभावकारी बनाउँदै लैजानुपर्दछ ।” प्रदेश सरकारले प्रतिष्ठानको विकासमा समन्वय, सहजीकरण र आवश्यकतामा सम्पूर्ण सहयोग गर्ने जानकारी समेत दिनुभयो ।
शिक्षाध्यक्ष डा.थापाले प्रतिष्ठानको शैक्षिक क्षेत्रको विकासका लागि योजनावद्ध रुपमा अघि बढ्ने बताउनुभयो । प्रतिष्ठानको पुस १४ सातौं सिनेट बैठकले शैक्षिक कार्यक्रमहरु एमबीबिएस, एमडीजिपी जनरल प्राक्टिक्स, एमएस अर्थोपेडिक्स, एमडि ईन एनेस्थियोलोजी, एमडी एण्ड पेड्रियाडिक्स, एमडी गाइनोकोलोजी, एमएसी इपिडिमियोलोजी, ब्याचलर इन न्यूट्रिसन र फार्मेसी सञ्चालन गर्ने निर्णय गरेको थियो ।
अस्पताल निर्देशक डा रावलले प्रतिष्ठानको विकासबाट कर्णालीको विद्यमान स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउने बताउनुभयो । (रासस)