रामपुर, १२ पुस : पाल्पाको रामपुरमा निर्माणाधीन रामपुर अस्पताल २०७७ वैशाखसम्म निर्माण हुने योजनाका साथ काम भइरहेको छ । कालीगण्डकी उपत्यकाका दुई प्रदेशका नागरिकलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल निर्माणको कामलाई तीव्र पारिएको छ ।
विसं २०७२ कात्तिक १६ गते ठेक्का सम्झौता भएपछि मङ्सिर महिनादेखि काम थालिएको अस्पतालको अहिले सम्म तीन तला ढलानको काम भएको छ । १९ करोड ६५ लाख ५९ हजार ४९७ को लागतमा निर्माण सम्पन्न गरिने लक्ष्य रहेको अस्पतालमा १५ जना क्षमताको लिफ्टसमेत व्यवस्था हुने इञ्जिनीयर जीतेन्द्र चौधरीले जानकारी दिए ।
अहिले १५ शय्याबाट सेवा दिँदै आएको अस्पतालमा तोकिए जति चिकित्सक नहुनु, पर्याप्त स्वास्थ्यकर्मी अभावका कारण सहज सेवा प्रवाह हुन नसकेकाले अब गुणस्तरीय सेवा पाउने आशा धेरैले गरेका छन् ।