काठमाडौँ, ३० मंसिर : मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा २२ उद्योगको उत्पादनमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ भन्दा बढी स्थानमा सञ्चालित उद्योगको अनुगमन गरेलगत्तै ती उद्योगहरूको उत्पादनमा रोक लगाइएको हो ।
विभागका महानिर्देशक डा मतिना वैद्यले विभागसँग भएको सम्झौता र अनुमतिलाई अवज्ञा गर्दै खान अयोग्य र अस्वस्थ खाद्यान्न तथा पिउने पानी उत्पादन गरी बिक्री वितरण गरेकाले उद्योग बन्द गरिएको जानकारी दिए ।
उनले बन्द गरिएका उद्योगको नाम दिन अस्वीकार गर्दै बन्द उद्योगको अभियोग प्रमाणित भएमा खाद्य ऐन, २०२३ अनुसार कानुनी कारबाही गरिने बताए ।
नेपालको खाद्य ऐन तथा नियमावलीले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने खाद्यान्न तथा पिउने पानी उत्पादन गरेको प्रमाणित भएमा ५० हजार जरिवाना र पाँच वर्षसम्मको जेल सजाय निर्धारण गरेको छ ।
विभागले चालू आर्थिक वर्षको चौमासिक प्रतिवेदन सार्वजनिक गर्दै यस वर्ष १७९ उद्योगलाई नयाँ अनुज्ञापत्र, ५३० को नवीकरण, ५३५ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरेको छ भने सात हजार ७७२ लाई आयात अनुमति प्रदान गरेको र ४९ खाद्य पदार्थका अनुमति अस्वीकृत गरेको जनाएको छ ।