बागलुङ, ३० मंसिर : ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले निसीखोला गाउँपालिका–१ देवीस्थानका छविलाल कुँवरको आगलागीले क्षति भएको घर पुनःनिर्माणमा आर्थिक सहयोग गर्नुभएको छ ।
उनले घर पुनःनिर्माणका लागि नगद एक लाख, ५० बोरा सिमेन्ट, जस्तापातासहित निर्माण सामग्री सहयोग गर्नुभएको हो । चार कोठासहितको एकतले घर र शौचालय बनेको अग्निपीडित कुँवरले जानकारी दिए । ‘केही दिनमा नयाँ घरमा सर्ने तयारी गर्दैछु ।’ उनले खुशी हुँदै भने ।
आगलागीले घर जलेपछि उनको परिवार आफन्तकोमा आश्रय लिएर बस्दै आएका थिए । विपद्मा परेका व्यक्ति, परिवारको पुनःस्थापनामा सबैले सहयोग गर्नुपर्नुपर्छ नगरप्रमुख नेपालीले भने ‘दुःख, अप्ठेरोमा परेकालाई व्यक्तिगत रुपमा सहयोग गर्दै आएको छु, आफू पनि दुःखमै हुर्केकाले सहयोगको भावना जागिहाल्छ ।’
नगरपालिकाले आगलागी, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपबाट पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ । केही महिना अगाडि गलकोट नगरपालिका–९ मल्मका ७८ वर्षीय चन्द्रबहादुर र उनीकी ८० वर्षीया श्रीमती सरस्वती राम्जालीका लागि नगरपालिकाले घर निर्माण गरिदिएको थियो ।